१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
गोविन्द पौडेल
२o८१ बैशाख २२ शनिबार o९:१९:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

जलवायु परिवर्तनको महासंकट

Read Time : > 4 मिनेट
गोविन्द पौडेल
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:१९:oo

जलवायु परिवर्तनको महासंकटसँग जुझ्न हामीले वातावरणमैत्री मोडेलको विकास गर्न ढिलो गर्नुहुँदैन

विश्वमा औद्योगिकीकरणयताको यी २५० वर्षमा पृथ्वीको तापक्रम १ डिग्री सेल्सियसभन्दा माथिले वृद्धि भइसकेको छ । अमेरिकी वैज्ञानिक अनुसन्धान संस्था ‘नासा’का अनुसार २०१६ को रेकर्ड तोड्दै सन् २०२० सबैभन्दा तातो वर्ष कायम भयो । वैज्ञानिकहरू पछिल्ला सात वर्ष इतिहासकै ताता वर्ष भएको भनेर चिन्ता जाहेर गरिरहेका छन् । 

कोरोना भाइरसका कारण विश्वव्यापी रूपमा गरिएको लकडाउनले करिब ७ प्रतिशत कार्बन उत्सर्जनमा कमी ल्याएको आकलन छ । तर, तापक्रम घटाउन यो पर्याप्त भएन । पछिल्लो समय अस्ट्रेलिया, साइबेरिया र अमेरिकाका जंगलमा लागेका भयानक डढेलोको धुवाँले पृथ्वीभरि चक्कर लगाएको थियो । 

सन् १९६९ यता समुद्र सतहको माथिल्लो १०० मिटरको पानीको तापक्रम ०.६ डिग्री सेल्सियसले बढेको छ । र, हरेक वर्ष बढ्ने क्रम जारी छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको निकाय ‘आइपिसिसी’ले अहिलेकै गतिमा कार्बन उत्सर्जन भइरहेमा पृथ्वी सन् २०३०–२०५२ को बीचमा थप १.५ डिग्री सेल्सियस तात्ने चेतावनी दिएको छ । 

जलवायु परिवर्तनले हजारौँ जीवलाई लोप बनाएको छ, हजारौँ जीव बदलिएको वातावरणमा बाँच्न संघर्ष गर्दै छन् । चाल्र्स डार्बिनको भाषामा ‘यस्ता जीवहरू नयाँ वातावरणमा ‘फिट’ हुन सके बाँच्नेछन्, अन्यथा मर्नेछन् ।’ जलवायु तथा बदलिँदो वतावरणका कारण विश्वव्यापी रूपमा १० लाखभन्दा बढी जीवहरू लोप हुने अवस्थामा रहेको आकलन छ । केही समयअघि एरिजोना विश्वविद्यालयका वैज्ञानिकहरूको अनुसन्धानले अबको ५० वर्षमा एकतिहाइ वनस्पति र जनावर लोप हुन सक्ने चेतावनी दिएको थियो । 

हिमालबाट हिउँ पग्लिरहेको छ । हाम्रा हिमालहरू पनि काला देखिन थालेका छन् । हिमाली क्षेत्रको तापक्रम घट्दै छ । मनाङ, मुस्ताङमा हिउँ पर्न गाह्रो हुँदै छ । हिमाल ‘कालापत्थर’मा रूपान्तरण हुँदै छन् । विश्वमा समुद्री आँधी झन् हिंस्रक बनिरहेका छन् । कतै भीषण वर्षा त कतै खडेरी परिरहेको हामीहरूले देखिरहेकै छौँ । हाम्रै देशमा पछिल्ला वर्षमा कतै निकै कम पानी पर्ने त कतै एउटै भूभागमा केन्द्रित भई लगातार भारी वर्षा भएर ठुल्ठूला पहिरो गएको देख्यौँ । 

आर्कटिक महासागरको सतहमा विशाल हिउँको मात्रा थियो । यसले ध्रुवीय क्षेत्रलाई चिसो बनाइराख्न र महासागरको पानीलाई तात्न नदिन अहं भूमिका खेल्थ्यो । तर, अहिले त्यहाँको हिउँ तीव्र गतिमा पग्लिरहेको छ । अध्ययनअनुसार हरेक दशकमा १३.१ प्रतिशतको दरले आर्कटिक महासागरको हिउँ पग्लिरहेको छ । यही कारण सन् २०५० सम्ममा आर्कटिक क्षेत्र हिउँविहीन बन्ने चेतावनी दिइएको छ । यसले महासागरको सतह बढाउनेछ । जलीय पारिस्थितिक पद्धतिलाई गम्भीर क्षति पुर्‍याउनेछ । समुद्री किनारमा रहेका देशलाई विस्थापित गर्नेछ । 

वातावरण तथा पर्यावरणमा विनाशलीला मच्चाएर सम्पन्न भएका आजका विकसित मुलुकको पदचाप पछ्याएर अबका विकासोन्मुख मुलुकले समृद्धिको मार्ग पहिल्याउन सक्नेछैनन् । यसर्थ, हामीलाई पर्यावरणसुहाउँदो हाम्रै मौलिक विकासको मोडेलको खाँचो छ ।

यसकारण तात्दै छ पृथ्वी : पृथ्वी तात्नुको मुख्य कारण मानवीय क्रियाकलापबाट उत्सर्जन हुने कार्बनडाइअक्साइड, मिथेन, पानीको वाष्प र नाइट्रसअक्साइडजस्ता हरितगृह ग्यास हुन् । वायुमण्डलमा यी ग्यासको मात्रा ठिक्क हुँदा पृथ्वीका जीवलाई फाइदाजनक हुन्छ । यिनले पृथ्वीको तापक्रम सन्तुलित बनाउन सहयोग गर्छन् । तर, यी ग्यासको मात्रा सामान्यभन्दा बढी भयो भने यिनले वायुमण्डलमा ‘ब्ल्यांकेट’को काम गर्छन् र सूर्यको सबै तापलाई वायुमण्डलबाहिर जानबाट रोक्छन्, जसका कारण पृथ्वीको तापक्रम बढ्न थाल्छ । चलनचल्तीको भाषामा यसैलाई ‘ग्लोबल वार्मिङ’ भनिन्छ । 

औद्योगिक क्रान्तियताका २५० वर्षमा पृथ्वीमा कार्बनडाइअक्साइडको मात्रा ५० प्रतिशतले बढेको छ । मिथेनको मात्रा दोब्बर बढी भएको छ । पृथ्वीमा पाइने कोइला, डिजेल, पेट्रोल, प्राकृतिक ग्यास लाखौँ वर्षअघिका जीवहरूको अवशेषबाट बनेका हुन् । यी पदार्थ आजको विश्वमा गाडी तथा उद्योगका इन्धनको मुख्य स्रोत बनेका छन् । कार्बनडाइअक्साइड मुख्यतः जीवावशेष इन्धन बाल्दा उत्पादन हुन्छ । यसमाथि कार्बनडाइअक्साइड ग्यास सोस्ने बोटबिरुवा काटिँदै छन् । कुहिने पदार्थबाट मिथेन निस्किन्छ । जीवाशेष इन्धन बाल्दा, नाइट्रिक अम्ल बनाउँदा, प्रांगारिक र रासायनिक मल बनाउँदा नाइट्रसअक्साइड पैदा हुन्छ । यस्ता ग्यास उत्सर्जनमा विकसित देश बढी जिम्मेवार छन् । सन् २०१७ को ‘क्लाइमेट वाच’को रिपोर्ट भन्छ, ‘चीन, अमेरिका, युरोपियन युनियन, भारत र रसिया क्रमशः विश्वका प्रमुख पाँच हरित ग्यास उत्सर्जनकर्ता हुन् ।’ 

जलवायु परिवर्तनका कारण हजारौँ जीवजन्तु लोप भइसकेका छन् । हिमालमा पाइने स्याउ तराईमा फल्न थालेको छ । लालीगुराँस असमयमै फुल्न थालेको छ । कैयौँ जीव हिमालबाट चिसोको खोजीमा बसाइँ सर्न खोज्दै छन् । 

आशाको दियो : पृथ्वीको तापक्रम नियन्त्रण नगरे यसले मानवजातिलाई समेत संकटमा पुर्‍याउनेछ । यसर्थ, जीवाशेष इन्धनको सट्टा नवीकरणीय ऊर्जाको उत्पादन र प्रयोग बढाउन आवश्यक छ । सन् १९९७ को क्योटो प्रोटोकल विश्वका राष्ट्रहरूलाई सीमामा बाँध्ने एउटा सशक्त सम्झौता थियो । यसले विकसित राष्ट्रहरूले कार्बन उत्सर्जन पाँच प्रतिशत घटाउनुपर्ने निर्णय गर्‍यो । तर, यो भारत र चीनजस्ता विकासशील राष्ट्रका लागि बाध्यकारी थिएन । 

सन् २०१५ मा १९६ वटा देशले पेरिस सम्झौतामा हस्ताक्षर गरे । जसमा पृथ्वीको तापक्रम पूर्वऔद्योगिकीकरणको समययता १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य थियो । ट्रम्प प्रशासनले यो सम्झौताबाट अलग्गिने निर्णय गरेपछि सम्झौता बेवारिसे बन्ने त होइन भन्ने सर्वत्र चिन्ता थियो । तर, अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनको आगमनसँगै आशा पलाएको छ । उनले जलवायु सम्झौतालाई निरन्तरता दिने घोषणा गरेका छन् । 

युरोपियन युनियन, जापान, कोरियाजस्ता देशले सन् २०५० सम्ममा हरितगृह ग्यास उत्सर्जन शून्यमा झार्ने लक्ष्य बनाएका छन् । चिनियाँ राष्ट्रपतिले २०६० सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने घोषणा गरेका छन् । भारतले २०३० सम्ममा डिजेल पेट्रोलबाट चल्ने कार बन्द गर्ने घोषणा गरेको छ । इजरायलले २०३० सम्ममा यस्ता गाडी विस्थापित गर्नेछ । नर्बे, जर्मनी, फ्रान्स, बेलायत, नेदरल्यान्ड, डेनमार्कजस्ता कैयाँै युरोपेली देशले २०३०–२०५० सम्ममा डिजेल पेट्रोलबाट चल्ने गाडी विस्थापित गर्ने घोषणा गरेका छन् । जापानको टोयोटा कम्पनीले २०२२ सम्म युरोपमा डिजेल कारहरू बेच्न बन्द गर्ने भएको छ । अमेरिकामा ६०० भन्दा बढी स्थानीय तहले कार्बन उत्सर्जन कम गर्ने योजना बनाएका छन् । 

टोयोटा, टेस्ला, होन्डा, निसान, फोर्डलगायत विश्वका कैयाैँ कम्पनीले कार्बन उत्सर्जन गर्ने गाडी विस्थापित गर्ने गरी नयाँ मोडेलका गाडीमा काम गर्न सुरु गरेका छन् । एलन मस्कले भर्खरै एउटा ट्विट गर्दै कार्बन उत्सर्जन रोक्ने प्रविधि विकासका लागि १० करोड डलर अनुदान घोषणा गरेका छन् । 

नेपालको बाटो : आउँदो वर्ष नेपालले पनि जलवायु परिवर्तनका ठूलो असरहरूको सामना गर्नुपर्नेछ । अहिले नै वर्षाको स्वरूपमा परिवर्तन हुन थालेको छ । बाढी–पहिरोजस्ता विपत्ति बढ्न थालेका छन् । हिमालहरू काला हुँदै गएमा नेपालका कैयौँ नदीहरू सुक्न सक्नेछन् । यसले जलविद्युत् र सिँचाइमा गम्भीर धक्का पुर्‍याउनेछ । सेता हिमालको मनमोहक दृश्य हेर्न विश्वभरबाट नेपाल ओइरिने पर्यटकहरू घट्नेछन् । नदीहरू सुक्दै जाँदा जलविद्युत् उत्पादन रोकिनेछ । यसबाट गम्भीर ऊर्जा संकट आउन सक्नेछ । यसर्थ, जलविद्युत्मा आउन सक्ने सम्भाव्य संकटबाट बच्न अरू नवीकरणीय ऊर्जाका स्रोतहरू सौर्य, वायु र परमाणविक ऊर्जाको तयारीमा अहिल्यै जुट्नु आवश्यक छ । 

हाम्रा गाउँघरतिर खानेपानी र सिँचाइको प्रमुख स्रोत स्थानीय खोलानाला हुन् । वर्षामा आउन सक्ने अनियमितताले खोलानालाका मूलहरू सुकाउन सक्नेछ । खानेपानीको समस्या आउन सक्छ । यसो हुँदा कृषि उत्पादनमा ठूलो ह्रास आउनेछ । यसर्थ, सिँचाइको एउटै स्रोतमा भर नपरी अरू स्रोतबारे पनि समयमै सोच्न आवश्यक छ । 

नेपालमा २३ सयभन्दा बढी हिमताल छन् । हिमतालहरू फुटेर आउन सक्ने बाढीले ठूलो धनजनको क्षति पुर्‍याउन सक्छ । हिमालको देश भएकाले नेपाल जलवायु परिवर्तनको नराम्रो सिकार बन्ने निश्चित छ । यसर्थ नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायुबारे सशक्त आवाज उठाउनुपर्छ । जलवायु परिवर्तनप्रति गम्भीर बन्दै नेपालले पनि समयसीमा तोकेर डिजेल–पेट्रोलबाट चल्ने गाडीहरू विस्थापित गर्ने लक्ष्य राख्नुपर्छ । सडक–पूर्वाधार बनाउँदा साइकलका लागि अनुकूल हुने गरी बनाउनेतर्फ अग्रसर हुनु जरुरी छ । विद्युतीय र सौर्य ऊर्जाबाट चल्ने गाडीको आयात तथा स्वदेशमै उत्पादन गर्न अनुसन्धान अगाडि बढाउनु पनि उत्तिकै आवश्यक छ । 

विश्वले खनिज तेलको विकल्पबारे काम गरिरहेका वेला हामीले चाहिँ रासायनिक मल उत्पादन गर्ने कारखाना कोइला र प्राकृतिक ग्यासबाट चल्ने गरी काम गर्न खोज्दै छौँ । यस्ता कारखाना जलविद्युत्बाट पनि चलाउन सम्भव छ र त्यो नेपालको पर्यावरणीय हितमा पनि हुनेछ । अहिल्यै सोचौँ, अबका उद्योगमा नवीकरणीय ऊर्जा प्रयोगको विकल्प छैन । 

नेपालले विकासका काममा अरू देशका मोडेल हुबहु नक्कल गर्ने होइन, किनकि ती मोडेलले पृथ्वीलाई गहिरो संकटमा धकेलेका छन् । वातावरण तथा पर्यावरणमा विनाशलीला मच्चाएर सम्पन्न आजका विकसित मुलुकको पदचाप पछ्याएर अबका विकासोन्मुख मुलुकले समृद्धिको मार्ग पहिल्याउन सक्नेछैनन् । यसर्थ, पनि हामीलाई हाम्रो पर्यावरण सुहाउँदो हाम्रै मौलिक विकासको मोडेलको खाँचो छ । त्यसैले, हामीले वातावरणमैत्री मोडेलको अनुसन्धान र विकास गर्न आवश्यक तयारीमा लाग्न ढिलो गर्नुहुँदैन । 

[email protected]

ad
ad