१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
गोविन्द पौडेल
२o८१ जेठ ५ शनिबार o८:३१:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

गन्तव्यविहीन शिक्षा : गतिविहीन मुलुक

Read Time : > 3 मिनेट
गोविन्द पौडेल
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:३१:oo

पाठ्यक्रम सिंगो शिक्षा प्रणालीको ‘ड्राइभिङ फोर्स’, यसैका आधारमा पाठ्यपुस्तक बनाइन्छन्, शिक्षकले सिकाउने विषयवस्तु पाउँछ । पाठ्यक्रमले देशका जल्दाबल्दा आवश्यकताको लेखाजोखा गर्छ र शिक्षालाई त्यसैअनुरूप ढाल्छ । तर, आजको हाम्रा पाठ्यक्रम र शिक्षा प्रणाली २०२८ को राष्ट्रिय शिक्षा पद्धतिको जगमा खडा छन् । गत ५० वर्षमा संसारमा थुप्रै उथलपुथल आएको छ । विज्ञान र प्रविधिको विकासले संसारभर मानिसको जीवन पद्धतिमा परिवर्तन ल्याएको छ । 

आज प्रत्येक दिन नयाँ तथ्य, प्रमाण र रहस्यहरू उद्घाटित भइरहेका छन् । कक्षामा शिक्षकले पढाएकै वेला उक्त विषयवस्तुबारे नयाँ तथ्य पत्ता लागिरहेको हुन सक्छ । एकै वर्षमा नयाँ विषय–ज्ञानको थुप्रो लागिसकेको हुन्छ । तर, हाम्रा पाठ्यक्रम नियमित ‘अपडेटेड’ छैनन् । जमेको पोखरी भएका छन्, नदीजस्तै गतिशील हुनुपथ्र्यो । प्रविधि चलाएर हुर्केको नयाँ पुस्ताको चासो र अपेक्षा नयाँ विषयप्रति छ । तर, ऊ कक्षामा जीवनसँग मेल नखाने विषयवस्तु पढ्न बाध्य छ । हामीले विद्यालय, विश्वविद्यालयमा पढाउने कैयौँ पाठहरू असान्दर्भिक र बासी भइसकेका छन् । 

बदलिएको सामाजिक वातावरणमा पनि हाम्रो शिक्षा आज पनि त्यही २०२८ सालको योजनामा टालटुल गरेर गुजारा टारिएको छ । तसर्थ, आज शिक्षामा दर्जनौँ प्रश्नचिह्न खडा छन् ।  दर्जनौँ समस्याले शिक्षा जेलिएको छ । कुनै एक समस्या हल गर्दैमा छलाङ मार्नेवाला छैन, शिक्षाले । नयाँ दृष्टिकोणका साथ शिक्षाका हरेक अवयव बदल्नु आजको खाँचो हो ।

बदलिएको संसार, नबदलिएको पाठ्यक्रम : पछिल्ला दशकहरूमा विश्वमा नयाँ–नयाँ विषयमा बहस र अनुसन्धान भए, भइरहेका छन् । प्रत्येक क्षेत्रमा डिजिटलाइजेसनले ढाक्दै लगेको छ । जलवायु परिवर्तन र नवीकरणीय ऊर्जाको प्रयोगबारे बहस विश्वव्यापी छ । जिन एडिटिङबारे वैज्ञानिकहरू नयाँ अभ्यास गरिरहेका छन् । आर्टिफिसियल इन्टेलिजेन्सको विकासले प्रविधिमा भारी बदलाव ल्याएको छ । उद्योग र व्यावसायिक संस्थाहरूमा रोबोटिक्सको निर्माण र प्रयोगमा व्यापकता आएको छ । अन्तरिक्षयानहरू मंगल ग्रहमा अवतरण गरेका छन् । अन्तरिक्ष पर्यटनको सुरुवात भइसकेको छ । डिजिटल पैसाले परम्परागत पैसाको स्वरूपलाई विस्थापित गर्दै लगेको छ । अब विश्वको चासो यिनै नवीन विषयमाथि छ ।

नियालेर हेर्दा यी विषयहरू हाम्रो कक्षामा प्रवेशसम्म पनि भएका छैनन् । स्कुल, कलेजमा तहअनुसार यी विषयमा गहन पढाइ हुनुपर्ने, विद्यार्थीमा स–साना अनुसन्धानको अभ्यास बसाल्नुपर्ने, विश्वविद्यालयमा अनुसन्धानको लहर आउनुपर्ने, नेपालका विश्वविद्यालयले गरेको अनुसन्धानको नतिजाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चर्चा गर्नुपर्ने, तर विडम्बना ! यहाँका विश्वविद्यालयहरूमा कुनै हलचल छैन । संसारले गरेका पछिल्ला उपलब्धिसँग पाठ्यक्रम अपरिचित छ । 

दश वर्षमा एकपटक एक–दुईवटा पाठ फेरेर पाठ्यक्रम परिवर्तन गरे जस्तो गरिएको छ । स्कुल तहमै लामो समयपछि केही पाठ फेरबदल गरेर एक वर्षमा दुई कक्षाको दरले नयाँ पाठ्यक्रम लागू गरिएको छ । यो हिसाबले १२ कक्षासम्म नयाँ पाठ्यक्रम लागू गर्न ६ वर्ष लाग्ने भयो । बीचको ६–७ वर्षमा विश्वमा नयाँ ज्ञान, सोच र आविष्कार आइसकेका हुन्छन् । पाठ्यक्रमलाई छिटो ‘अपडेट’ गर्नुपर्ने आवश्यकता देखिएको छ । 

देशमा जलवायु परिवर्तनले पार्दै गरेको असरबारे स्कुल÷कलेजमा पढाइ भइरहेको छैन । पढाइ नै नभएपछि यसको सम्भावित दुर्घटना र बच्न सकिने उपायबारे सोच्न र अनुसन्धान गर्न सक्ने पनि भएन । जलवायुले नेपालमा पार्दै गरेको असर प्रत्यक्ष देखाउन कालापत्थरमा परिणत भइरहेका हिमालको छेउछाउमा लग्नुपर्ने हुन्छ । बेमौसमको वर्षामा आएका ठूला–ठूला पहिरोको अवलोकन गराउनुपर्ने हो ।

शिक्षामा कृषि र उद्योग : हामीलाई कृषिको उत्पादन बढाउनु छ, उद्योगहरूको विस्तार गर्नु छ । विज्ञान र प्रविधिको विकास गर्नु छ । तर, यी सबैबाट हाम्रो शिक्षा भने अलगथलग र बेखबर छ । कृषिजस्ता विषय प्राविधिक धारका केही विद्यालयमा पढाइ त हुन्छन्, कृषि विश्वविद्यालय पनि छ, तर उक्त पढाइ पनि परीक्षा र जागिर खाने उद्देश्यमा सीमित छन् । कृषि पढेका व्यक्तिले त व्यावसायिक कृषिको राम्रो उदाहरण प्रस्तुत गर्नुपर्ने, तर कृषिमा स्नातकोत्तर युवाले खेतबारीको माटो नछोईकनै सर्टिफिकेट प्राप्त गरेको हुन्छ । 

स्कुल तहदेखि नै विद्यार्थीलाई शिक्षाले कृषिको क्षेत्रमा केही गर्न सक्ने ज्ञान, सीप, हौसला र बाटो देखाइदिन सकेको भए देश कृषिमा आत्मनिर्भर हुन्थ्यो । लाखौँ तन्नेरी कृषिमा स्वरोजगार बन्थे । ती विद्यार्थीलाई स–साना लघु उद्योगबारे ज्ञान दिन सकेको भए ती उद्योगले कृषि उत्पादनहरू कच्चा पदार्थको रूपमा खरिद गर्थे । देशमा हजारौँ उद्योगहरूको विकास भएको हुन्थ्यो । ४०औँ लाख युवा खाडी मुलुकमा घोटिन जानु पर्दैनथ्यो । हालसालै सरकारले केही विद्यालयमा लागू गर्न थालेको ‘पढ्दै कमाउँदै’ कार्यक्रम आशाजनक राम्रो कार्यक्रम हो । यसको विस्तार आवश्यक छ । स्कुलमा पनि कृषि र उद्योगको एउटा विषय अनिवार्य राखिनुपर्छ । पढाइ रटानबाट अलग हुनुपर्छ । विद्यार्थीलाई वर्कसप र फिल्डमा उतारेर सिकाउनुपर्छ । 

भर्खरैको तिहार चाडमा हामीले विदेशबाट करोडौँका पूmल आयात गर्‍यौँ । देशभरका ३० हजार विद्यालयका लाखौँ विद्यार्थीलाई दुई–दुई बोट मखमली हुर्काउने ‘प्रोजेक्ट वर्क’ दिएको भए के हुन्थ्यो ? पूmल विदेशबाट ल्याउनुपर्ने थिएन । यस्ता प्रोजेक्ट माछा, अन्डा, तरकारी, फलफूल, अन्न हरेकमा हुन सक्छ, जसलाई विदेशबाट ल्याउनुपरेको छ । वर्षभरिको पढाइमा यस्ता थुप्रै काम दिए विद्यार्थीले प्रयोगात्मक शिक्षा पाउँथे, देश आत्मनिर्भरताको बाटोमा अग्रसर हुन्थ्यो । 

देशलाई कहाँ पुर्‍याउने लक्ष्य हो, पाठ्यक्रममा त्यो प्रस्टसँग प्रतिबिम्बित हुनुपर्छ । शिक्षणलाई त्यही उद्देश्यमा ढाल्नुपर्छ । 

पढाइमा अब्बल विद्यार्थीलाई विज्ञान तथा प्रविधिकेन्द्रित शिक्षामा जोड दिएको भए कृषि, उद्योग एवं कारखानाहरूका लागि चाहिने प्रविधि, मेसिन तथा उपकरण विदेशबाट आयात गर्नुपर्ने थिएन । स्वदेशकै वैज्ञानिकले यस्ता मेसिन बनाउन सुरु गर्थे । अफसोच ! शिक्षा लिएर विद्यालय र विश्वविद्यालयबाट निस्कँदै गरेका तन्नेरीसँग ‘अंक’बाहेक केही भएन । आजसम्मको हाम्रो शिक्षाले कृषिलाई सम्मानित पेसाको रूपमा सिकाउनै सकेन । पढेका मान्छेले कृषि पेसा गर्न सुहाउँदैन भन्ने छ । आज कृषिमा आबद्ध व्यक्तिमध्ये धेरै उच्च शिक्षा नपढेकाहरू छन् । उनीहरूलाई स्कुल पढ्दापढ्दै कृषिको ज्ञान दिएको भए थप राम्रो गर्न सक्थे होलान् । 

शिक्षामा लगानी : सन् १९८० को दशकमा चीनमा देङ सियाओ पिङले देशलाई उठाउन चारवटा आधुनिकीकरणमा जोड दिए– कृषि, उद्योग, विज्ञान तथा प्रविधि र सुरक्षा । यी क्षेत्रमा क्रान्ति ल्याउन शिक्षामा आमूल परिवर्तन ल्याइयो । शिक्षा नबदलीकन देश शक्तिशाली बन्दैन । भोलि देश कहाँ जाँदै छ भन्ने आज कक्षाकोठामा के भइरहेको छ भन्नेले संकेत गर्छ । आजको कोरिया जे छ, सन् १९६० को दशकपछि शिक्षामा ल्याइएको क्रान्तिकारी सुधारको उपज हो । 

देशलाई कहाँ पुर्‍याउने लक्ष्य हो, त्यो पाठ्यक्रममा प्रस्टसँग प्रतिबिम्बित हुनुपर्छ । शिक्षणलाई त्यही उद्देश्यमा ढाल्नुपर्छ । तर, हाम्रो देशको शिक्षा गन्तव्यविहीन छ । शिक्षाले कस्ता जनशक्ति बनाउन खोजेको हो, पूरै अलमल छ । चिट चोर्न उक्साउने शिक्षण र परीक्षा प्रणालीबाट देश बन्दैन । देशभर बेरोजगारको भिड मात्रै बढ्दै छ । यसलाई तत्काल सरकार र राजनीतिक दलले समाधानको प्रस्ट खाका बनाउन आवश्यक छ । देशलाई कस्ता जनशक्ति आवश्यक पर्दै छ, त्यस्ता जनशक्ति निर्माण गर्न कस्तो पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्ने, कस्तो शिक्षण प्रक्रिया अपनाउने, क्षमतावान् शिक्षक कसरी निर्माण गर्ने, मूल्यांकन कसरी गर्ने सुस्पष्ट हुनुपर्छ ।

केही वर्ष शिक्षामा ठूलो लगानीको घोषणा हुनुपर्छ । चुनावको वेला घोषणपत्रमा २० प्रतिशतसम्म छुट्याइने वाचा गर्ने राजनीतिक पार्टीहरूले बजेट घोषणा गर्दा ११–१२ प्रतिशतभन्दा माथि छुट्याउने आँट गर्दैनन् । यो शिक्षालाई देश विकासको लगानीको रूपमा हेर्न नसक्नु हो । आजसम्मको शिक्षाको बजेट तलबभत्ता र भौतिक संरचनामा नै खर्च भइरहेको छ । शिक्षाको गुणस्तर वृद्धिमा लगानी गर्ने वेला कहिले आउने ? प्रश्न अहं र ज्वलन्त छ ।

ad
ad