१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १४ बुधबार १८:३०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पहिलो दिन नौ हजार ८४ जनाले लगाए कोभिडविरुद्धको खोप 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १४ बुधबार १८:३०:००

कोभिड– १९ विरुद्धको खोप अभियानअन्तर्गत बुधबार नौ हजार ८४ जनाले खोप लगाएका छन् । पहिलो दिन ६४ जिल्लाका ९३ खोप केन्द्रहरूमार्फत नौ हजार ८४ जना व्यक्तिले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । अभियानको पहिलो दिन नै स्वास्थ्यकर्मीहरूको उत्साहजनक संलग्नता रहेको उनले बताए ।

बुधबार खोप प्राप्त गर्नेमा प्रदेश १ का एक हजार दुई सय ५५, प्रदेश २ का सात सय २६, बागमतीका दुई हजार ६ सय ९४, गण्डकीका एक हजार आठ सय ४३, लुम्बिनीका सात सय ३३, कर्णालीका सात सय ५१ र सुदूरपश्चिम प्रदेशका एक हजार ८२ जना रहेका छन् । 

प्रवक्ता डा. गौतमले खोप अभियानको शुभारम्भ सफलतापूर्वक सञ्चालन भई खोप लगाएका व्यक्तिमा अहिलेसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको जानकारी दिए । मन्त्रालयले अभियानको पहिलो दिनमै खोप लगाउने व्यक्ति तथा सेवा प्रदायकहरूको स्वस्फूर्त र उल्लेख्य सहभागिता भएको जनाएको छ । 

अभियानको शुभारम्भपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा खोप कार्यक्रमको स्थलगत अनुमगनसमेत गरेका छन् । उपत्यकाका त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल, पाटन अस्पताल र प्रसूति गृह अस्पतालमा रहेका खोप केन्द्रमा प्रधानमन्त्री ओली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीसहित उच्चपदस्थ अधिकारीहरूले अनुगमन गरेका छन् । 

यस्तै, मन्त्री त्रिपाठी मन्त्रालयका उच्चपदस्थ व्यक्तिहरूलाई लिएर वीर अस्पताल, सिभिल अस्पताल, टेकु अस्पताल र सशस्त्र प्रहरी अस्पतालका केन्द्रहरूमा समेत पुगेका छन् । छोटो समयमा खोप तालिम, ढुवानी तथा वितरण र खोप केन्द्रहरूको व्यवस्थापन गरी अभियानलाई सफल पार्न सहयोग गर्ने सबैलाई मन्त्रालयले धन्यवाद प्रकट गरेको छ । खोप अभियानमा सबैको सक्रिय सहभागिता र तोकिएको समयभित्र पहिलो चरणको कार्यक्रम सम्पन्न गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ ।