१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
शिल्पा कर्ण काठमाडौं
२०७७ माघ १४ बुधबार १६:३३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुख्य न्यायाधीश नियुक्तिमा असन्तुष्टि, शपथग्रहणमा उपस्थित भएनन् वरिष्ठतम् न्यायाधीश

Read Time : > 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०७७ माघ १४ बुधबार १६:३३:००

तीनजना मुख्य न्यायाधीश नियुक्तिमा न्यायपरिषद्का सदस्य रहेका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले असन्तुष्टि जनाएका छन् । नवनियुक्त न्यायाधीशहरूको शपथग्रहण कार्यक्रम कार्यक्रममा समेत बुधबार कार्की अनुपस्थित भएका छन् । 

मुख्य न्यायाधीश नियुक्तिमा वरिष्ठलाई बढुवा नगरी सर्वोच्चका मुख्य रजिस्ट्रारलाई नियुक्त गरिएपछि उनी असन्तुष्ट बनेको उनीनिकट सर्वोच्च स्रोत बताउँछ । न्यायपरिषद्ले मुख्य न्यायाधीश नियुक्तिको नियुक्ति गर्ने क्रममा सर्वोच्चकै मुख्य रजिस्ट्रार नृपध्वज निरौलालाई मुख्य न्यायाधीशमा लैजाने निर्णय गरेयता उनी अदालत आएका छैनन् । 

‘प्रधानन्यायाधीशले आफ्नो मान्छे भनेर मुख्य रजिस्ट्रार नृपध्वज निरौलालाई मुख्य न्यायाधीशमा सिफारिस गर्नुभएछ,’ सर्वाेच्च स्रोतले भन्यो, ‘तर, दीपककुमार कार्कीले उहाँभन्दा निकै वरिष्ठहरू मुख्य न्यायाधीश बन्न नसकेकाले पहिले न्यायाधीशमा नियुक्त गरेर अनि पछि मात्र मुख्य न्यायाधीश दिने भन्ने कुरा गर्नुभएको थियो ।’ तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले उनको कुरा नमानेपछि केही दिन अघि कार्की आक्रोशित भएर बैठकबाट निस्किएका थिए । 

सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार वरिष्ठतम् न्यायाधीश कार्की आइतबारदेखि बिदामा छन् । प्रधानन्यायाधीश जबराले ‘वरिष्ठताक्रम ख्याल नगरी आफूखुसी नियुक्ति गरेको’ भन्दै रुष्ट छन् । 

यसअघि पनि जबराको कदमबाट उनी असन्तुष्ट बनेका थिए । प्रतिनिधिसभा विघटनको रिटमाथि सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा पनि वरिष्ठतम्लाई नै राखिएको छैन । ‘उहाँसहित अन्य केही न्यायाधीश विषयविज्ञ राख्नुपर्ने पक्षमा हुनुहुन्थ्यो । तर, वरिष्ठ पनि भनिएन, संवैधानिक विषयका विज्ञ पनि राखिएन,’ सर्वोच्च स्रोतले भन्यो, ‘हाल इजलासमा हुनुभएको अनिलकुमार सिन्हा पनि राजधानीबाहिर रहेको वेला सोध्दै–नसोधी प्रधानन्यायाधीशले संवैधानिकमा राखिदिनुभएको हो । जब कि उहाँ करको विषयविज्ञ हो ।’

न्यायपरिषद्ले आइतबारको बैठकबाट तीन उच्च अदालतमा मुख्य न्यायाधीश नियुक्त गरेको थियो । जसमा दुईजना बहालवाला न्यायाधीश थिए भने एकजना सर्वोच्चका मुख्य रजिस्ट्रार छन् । उच्च अदालत जनकपुरमा सोही अदालतका कायममुकामय मुख्य न्यायाधीश रहेका प्रकाशचन्द्र गजुरेल र दाङको उच्च अदालतमा पनि सोही अदालतकी कायममुकायम मुख्य न्यायाधीश नीता गौतमलाई नियुक्त गरिएको थियो । 

मुख्य रजिस्ट्रार निरौला भने उच्च अदालत दिपायलको मुख्य न्यायाधीशमा नियुक्त भएका हुन् । न्यायपरिषद्मा प्रधानन्यायाधीश जबरा अध्यक्ष छन् भने सदस्यमा कानुनमन्त्री लीलानाथ श्रेष्ठ, वरिष्ठतम् न्यायाधीश कार्की, सरकारका तर्फबाट नियुक्त कानुनविद् लक्ष्मीबहादुर खड्का र नेपाल बार एसोसिएसनका तर्फबाट रामप्रसाद श्रेष्ठ छन् । 

मुख्य रजिस्ट्रार खाली, को–को छन् लाइनमा ?
निरौला मुख्य न्यायाधीश भएर गएपछि अहिले सर्वोच्चको मुख्य रजिष्ट्रार पद खाली छ । यसमा न्यायसेवा आयोगले नियुक्ति गर्ने हो । आयोगका अनुसार हाल उक्त पदमा नियुक्तिका लागि तीन जना सचिवको योग्यता पुगेको छ ।

सर्वोच्चका कायम मुकायम रजिस्ट्रार लालबहादुर कुँवर, नारायणप्रसाद पन्थी र वेदराज पौडेल मुख्य रजिस्ट्रारका लागि सिफारिसमा पर्न सक्छन् । यसको निर्णय न्यायसेवा आयोगले गर्नेछ । संविधानको धारा १५४ अनुसार आयोगमा आयोगको अध्यक्षता प्रधानन्यायाधीशले गर्छन् भने कानुनमन्त्री, वरिष्ठतम् न्यायाधीश, लोकसेवा आयोगको अध्यक्ष र महान्यायाधिवक्ता सदस्य रहने व्यवस्था छ । वरिष्ठताका आधारमा कुँवरलाई कामु मुख्य रजिस्ट्रारको जिम्मेवारी दिइएको छ ।