मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ माघ १२ सोमबार १८:००:००
Read Time : > 4 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हुलाकी राजमार्गको दुर्दशा : चार वर्षमा साढे १३ किमि मात्रै कालोपत्रे

Read Time : > 4 मिनेट
२०७७ माघ १२ सोमबार १८:००:००

कैलाली–कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ । कैलालीमा राजमार्गको ट्र्याक खोल्ने काम एक दकशसम्म पूरा भएको छैन भने कञ्चनपुरमा ६२ किलोमिटरमध्ये चार वर्षको अवधिमा साढे १३ किलोमिटर मात्र कालोपत्रे भएको छ । 

कञ्चनपुरमा राजमार्गको ६२ किलोमिटर सडक तीनवटा खण्डमा छुट्टाछुट्टै ठेक्कामार्फत काम भइरहेको छ । तीनवटै खण्डमा साढे दुई वर्षभित्र कालोपत्रे गर्ने गरी सरकारले ०७३ फागुनमा ठेक्का सम्झौता गरेको थियो । तर, चार वर्ष बित्दा साढे १३ किलोमिटर मात्रै कालोपत्रे भएको आयोजना कार्यालय धनगढीले जनाएको छ । तीनपटक थपिएको म्याद सकिए पनि निर्माण कम्पनीले कामलाई तीव्रता दिन सकेका छैनन् । न समयमै काम सम्पन्न गर्न सरकारले सहजीकरण नै गर्न सकेको छ । 

कञ्चनपुरको डोकेबजारदेखि बेलौरीसम्मको २० किलोमिटर पर्ने पहिलो खण्डको म्याद तीनपटक थपिएको छ । अहिलेसम्म करिब ७० प्रतिशत मात्र काम भएको आयोजनाका इन्जिनियर पदमबहादुर मडैले बताए । साढे सात किलोमिटर सडक मात्र कालोपत्रे भएको उनले बताए । पटकपटक गरी तीनपटक थप गरिएको म्याद पनि २ माघमा सकिएको छ । यो खण्डले हुलाकी राजमार्गलाई कैलालीसँग जोड्छ ।

हुलाकी राजमार्गअन्तर्गत नै बेलौरी–बेल्डाँडी २० किलोमिटर लामो दोस्रो खण्ड र बेल्डाँडी–दैजीको २२ किलोमिटर तेस्रो खण्डमा तीन÷तीन किलोमिटर सडक मात्र कालोपत्रे भएको छ । बेलौरी–बेल्डाँडीमा दोस्रोपटक थपिएको अवधि पनि मंसिरमा सकिएको छ, तर यो खण्डमा पनि करिब ७० प्रतिशत मात्र प्रगति भएको इन्जिनियर मडैले बताए ।

बेल्डाँडी–दैजी खण्डको दोस्रोपटक थप गरिएको अवधि साउनमै सकिएको हो । निर्माण कम्पनी शर्मा–राजेन्द्र जेभीले आगामी असारसम्म समय मागे पनि थप भएको छैन । यो खण्डमा पनि करिब ६७ प्रतिशत मात्र भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार पहिलो र दोस्रो खण्डमा सडकको क्षेत्राधिकारको पनि विवाद थिएन । तेस्रो खण्डको करिब १४ किलोमिटरमा शुक्लाफाँटा आरक्षको जंगल पर्ने भएकाले रूख कटानको अनुमति पाउन केही समय लागेको थियो ।

हुलाकी सडक आयोजना कार्यालय धनगढीका प्रमुख रामपुकार जैसवालले ठेकेदारको लापरबाहीले राजमार्ग निर्माणमा ढिलाइ भएको बताए । ‘सडकको क्षेत्राधिकार पनि खाली थियो । भुक्तानी पनि रोकिएको थिएन, तर विभिन्न बहाना देखाएर ठेकेदारले काममा ढिलाइ गरे,’ उनले भने, ‘अहिले कामको गति बढेको छ । आगामी असार मसान्तभित्र तीनवटै खण्डको काम सकिन्छ होला ।’ कामलाई तीव्रता दिन आयोजना कार्यालयले निर्माण कम्पनीहरूलाई ताकेता गर्दै आएको जैसवालले बताए ।

पहिलो र तेस्रो खण्डमा शर्मा–राजेन्द्र जेभी तथा दोस्रो खण्डमा बाबाहंश सिद्धिसाई निर्माण कम्पनीले काम गरिरहेका छन् । पहिलो खण्डमा सम्झौताको ३६ करोडमध्ये २५ करोड भुक्तानी भएको छ । यस्तै दोस्रो खण्डमा ४१ करोडमध्ये २२ करोड र तेस्रो खण्डमा सम्झौताको ३८ करोडमध्ये २४ करोड ७१ लाख भुक्तानी भइसकेको आयोजनाले जनाएको छ ।

डेढ किलोमिटर खण्डमा भारतीय अवरोध
बेलौरी–बेल्डाँडी खण्डको डेढ किलोमिटर क्षेत्रमा भारतीयको अवरोधका कारण गत वर्षबाट काम रोकिएको छ । आफ्नो भूमि भएको भन्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले बेलौरी नगरपालिका–८, मा ग्राभेल भइसकेपछि थप काम गर्न अवरोध गरेको हो । हतियारसहित आएका भारतीय सुरक्षाकर्मीले काम रोक्न भनेका थिए । यो खण्डमा अहिले काम ठप्प छ । 

कैलालीमा दशकसम्म ट्र्याक खुलेन 
निर्माण सुरु भएको दशक बित्दा कैलालीमा हुलाकी राजमार्गको ट्र्याक खोल्ने काम अधुरै छ । राजमार्गअन्तर्गत कैलारी गाउँपालिकामा पर्ने बसन्ता जैविक मार्गको दुई किलोमिटर खण्डमा ट्र्याक खोल्न बाँकी छ । जैविक मार्ग पर्ने भएकोले यो खण्डमा वन मन्त्रालयले रूख कटानको आदेश दिएको छैन ।

आयोजना कार्यालयका अनुसार भारत सरकारले सन् २०१० बाट निर्माण सुरु गरेर सन् २०१४ मा धनगढीदेखि टीकापुरको शक्तिसम्म ४४ किलोमिटर सडक कालोपत्रे गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । यहीबीचमा पर्ने बसन्ता जैविक मार्गको १८ किलोमिटर खण्डमा भने रूख कटानको आदेश नपाएपछि भारतीय निर्माण कम्पनीले काम गर्न पाएन । 

यो खण्ड नेपाल सरकार आफैँले बनाउन ०७३ फागुनमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाएको थियो, तर ठेक्का भएको करिब एक वर्षसम्म सरकारले नै रूख कटानको अनुमति दिएन । एक वर्षपछि पटक–पटक गरी रूख कटानको आदेश पाएपछि वन क्षेत्रमा पर्ने १६ किलोमिटर सडक यसै वर्ष कालोपत्रे भएको छ । 

दुई किलोमिटरमा ट्र्याक नखुलेपछि राजमार्ग पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन । ट्र्याक खोल्ने काम पूरा नहुँदा हुलाकी राजमार्गमा यात्रुबाहक सवारीसाधन नियमित चल्न सकेका छैनन् । धनगढीबाट टीकापुर र भजनी बजार पुग्न पूर्व–पश्चिम राजमार्गभन्दा हुलाकी राजमार्ग आधा छोटो पर्छ, तर ट्र्याक खोल्न बाँकी हुँदा हुलाकी राजमार्गमा धनगढी–भजनीसम्म पनि यात्रुबाहक सवारीसाधन सञ्चालन हुन पाएका छैनन् ।

दुई किलोमिटरमा करिब सय रूख काट्ने अनुमतिका लागि सबै प्रक्रिया पूरा गरेर फाइल वन मन्त्रालयमा पुगेको इन्जिनियर मडैले बताए । वन्यजन्तुको ओहोरदोहोर गर्ने मार्ग भएको भन्दै वनले बसन्तामा सडक निर्माणको अनुमति दिन आनाकानी गर्दै आएको छ । बसन्ता जैविकमार्ग भारतको दुधुवा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । 

धनगढीमा पनि अधुरै
हुलाकी राजमार्गअन्तर्गत नै धनगढी क्याम्पसचोकदेखि भन्सार रोडसम्मको साढे ६ किलोमिटर बाइपास सडक पनि निर्माण सम्पन्न भएको छैन । यो खण्डमा कञ्चनपुरबाट हुलाकी राजमार्ग जोडिन्छ । क्याम्पसचोक–भन्साररोड साढे ६ किलोमिटर सडक दुई वर्षभित्र सक्ने गरी ०७४ चैतमा रमण–केएस जेभीसँग सम्झौता भएको थियो । दोस्रोपटक थपिएको समय आगामी माघमा सकिँदै छ । एक किलोमिटर सडक भने अझै कालोपत्रे हुन बाँकी रहेको इन्जिनियर मडैले बताए । 
 
नौ वर्षसम्म बनेन पुल
हुलाकी राजमार्गअन्तर्गत कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा पुल निर्माणको काम नौ वर्षदेखि अलपत्र छ । ३१ जेठ, ०६८ मा सम्झौता भएको यो पुलका चारवटामध्ये एउटा स्पान राख्ने काम अहिले बल्ल सकिएको छ र दोस्रो स्पानको काम भइरहेको छ । निर्माण सम्झौता भइसकेपछि पुल बन्ने ठाउँ नै परिवर्तन गरिएको थियो । ‘ठाउँ परिवर्तन भएपछि डिजाइन पनि बदल्नुप¥यो । यसले पनि केही समय काम प्रभावित भयो,’ इन्जिनियर मडैले भने, ‘पछि ठेकेदारले काममा ध्यानै दिएन ।’

डिजाइन परिवर्तनपछि ३० महिना समय दिए पनि निर्माण कम्पनीले काम अगाडि बढाएन । गत वर्ष सार्वजनिक खरिद नियमावली संशोधनले एक वर्ष स्वतः थप भयो, उक्त अवधि पनि यही माघमा सकिँदै छ, पुल निर्माणले भने अहिले पनि गति लिएको छैन । 

भौतिक प्रगति ६० प्रतिशतभन्दा कम रहेको आयोजना कार्यालयले जनाएको छ । पुल सुरुमा सम्झौता भएको ठाउँभन्दा करिब पाँच सयमिटर उत्तरतिर सारिएको थियो । चार करोड ४२ लाख लागतको यो पुल लामा–साल्पा–शेर्पा–बिरुवा जेभीले ठेक्का पाएको छ । 

पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले कामलाई तीव्रता नदिएको आयोजना प्रमुख जैसवालले बताए । कहिलेकाहीँ काम गर्न आएर निर्माण कम्पनी सम्पर्कविहीन हुने गरेको उनले बताए । पुल जोड्ने वारिपारिको भजनी–टीकापुरखण्ड भारत सरकारको सहयोगमा यसअघि नै कालोपत्रे भइसकेको छ । पुल नहुँदा स्थानीयले वर्षायाममा डुंगाबाट जोखिम मोलेर र अरूवेला काठेपुलमा पैसा तिरेर नदी पार गर्नुपर्ने बाध्यता छ । 

भारतले बनाएको एक लेनलाई दुई लेनको बनाइँदै
राजमार्ग निर्माणले पूर्णता नपाए पनि भारत सरकारको सहयोगमा कैलालीमा निर्माण भएको एक लेन सडकलाई स्तरोन्नति गरेर दुई लेन बनाउने काम सुरु भएको छ । धनगढीदेखि टीकापुरसम्मको ४४ किलोमिटर हुलाकी राजमार्ग र लम्की–टीकापुर–खक्रौलासम्म २९.७ किलोमिटर लिंकरोड स्तरोन्नतिको काम सुरु भएको हो ।

भारत सरकारले ६ वर्षअघि बनाएको हुलाकी सडकको कालोपत्रेको चौडाइ पौने चार मिटर छ । बढ्दो सवारी चाप र साँघुरो सडकका कारण दुर्घटना बढ्न थालेपछि सरकारले चौडा गरेर दुई लेनको बनाउन लागेको हो । नयाँ बन्ने सडकमा कालोपत्रेको चौडाइ सात मिटर रहने इन्जिनियर मडैले बताए । 

हुलाकी सडकअन्तर्गत धनगढी क्याम्पसचोकदेखि पूर्व तीन किलोमिटरसम्म १५ मिटर चौडाइको चार लेन सडक बन्नेछ । राजमार्गको धनगढी–शक्ति तथा लिंक रोडका रूपमा रहेको लम्की–टीकापुर–खक्रौला सडकलाई सात खण्डमा छुट्याएर गत असारमै स्तरोन्नतिको ठेक्का भएको थियो । सबै खण्डमा स्तरोन्नतिको काम भइरहेको छ । साढे दुई अर्बको लागतमा हुन लागेको स्तरोन्नतिको काम ३० महिनाभित्र सक्ने सम्झौता छ ।