१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:oo:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भन्सार कार्यालय चौबिसै घन्टा चलाउन निजी क्षेत्रको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:oo:oo

निजी क्षेत्रले केही भन्सार कार्यालय चौबिसै घन्टा सञ्चालन गरिनुपर्ने माग राखेको छ । भन्सार जाँचपासलाई छिटो र छरितो बनाउन तथा चाप घटाउन प्रमुख भन्सार कार्यालयहरू चौबिसै घन्टा चलाउनुपर्ने निजी क्षेत्रले माग गरेको हो । 

६९औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रका तर्फबाट प्रस्तुति दिँदै उद्योगी सन्दीप अग्रवालले भन्सार कार्यालयहरू चौबिसै घन्टा चलाउनुपर्ने बताएका हुन् । महासंघको कर तथा राजस्व समितिका सभापतिसमेत रहेका अग्रवालले वीरगन्ज, विराटनगर, मेची, भैरहवा, नेपालगन्जलगायत मुख्य भन्सार कार्यालय चौबिसै घन्टा चलाउनुपर्ने बताएका हुन् । 

अग्रवालले निजी क्षेत्रका तर्फबाट एक्जिम कोड वार्षिक रूपमा नवीकरण गर्नुपर्ने व्यवस्था हटाएर पाँच–पाँच वर्षमा नवीकरण गर्ने व्यवस्था गर्न, बैंक ग्यारेन्टी राख्ने व्यवस्था खारेज गर्न, ट्रस्टेड ट्रेडर्सको अवधारणा कार्यान्वयनमा ल्याउन, भन्सार महसुल र वर्गीकरणमा विवाद भएको अवस्थामा धरौटी राखेर मालवस्तु छुटाउन सकिने व्यवस्था गर्न, भन्सार राजस्वको सम्पूर्ण भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था मिलाउन, कारोबार मूल्यलाई मान्यता दिनुपर्नेलगायत माग तथा 
सुझाब राखे । 
 
भन्सारमा धेरै सुधार भएको  ः महानिर्देशक दाहाल 

कार्यक्रममा भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सार प्रशासनको नियमित सुधारका लागि विभाग क्रियाशील रहेको बताए । उनले भन्सारमा धेरै सुधार आइसकेको उल्लेख गर्दै फिल्डमा देखिएका समस्या समाधानमा विभाग सदैव तयार रहेको समेत बताए ।

राजस्व सचिव रामशरण पुडासैनीले हरेक सुधारका अभियानमा सरकारलाई निजी क्षेत्रबाट बलियो सहयोग प्राप्त भएको भन्दै कर राजस्व सुधारमा पनि निजी क्षेत्रको सहयोग आवश्यक भएको बताए । ‘निजी क्षेत्रलाई उद्योग–व्यवसाय गर्दा कहाँ समस्या छन् ? तपाईंहरू स्पष्ट रूपमा भन्नुहोस्, सरकार सहयोग गर्न तयार छ,’ उनले भने ।

भन्सार विवाद सुल्झाउन छुट्टै संयन्त्र : गोल्छा

उक्त अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले भन्सारमा मुख्य विषय भन्सार मूल्यांकन र वर्गीकरणको  रहेको उल्लेख गर्दै भन्सार मूल्यांकन र वर्गीकरण दुवै यथार्थपरक बनाउनुपर्ने बताए । ‘सरकारको राजस्व पनि नगुमोस् र पैठारीकर्तालाई पनि भन्सार मूल्यांकन बढी भयो र वर्गीकरण फरक भयो भन्ने गुनासो आउने ठाउँ राख्नुभएन,’ उनले भने ।

अहिले भन्सारबाट छुटेको सामान राजस्व अनुसन्धान विभागले बाटोमा रोक्ने गरेका घटना देखिएको भन्दै अध्यक्ष गोल्छाले एउटा विभागले अर्कोलाई विश्वास नगर्ने वातावरण नहोस् भन्ने निजी क्षेत्रको चाहना रहेको पनि बताए । गोल्छाले भन्सारसम्बन्धी विवाद समाधानका लागि निजी क्षेत्रको समेत सहभागितामा छुट्टै संयन्त्र बनाउनुपर्नेमा समेत जोड दिए ।