
राहुघाट बेसिनमा निर्माणको अन्तिम चरणमा पुगेका चारवटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन प्राविधिक हिसाबले त्रुटिपूर्ण प्रसारणलाइन बनाएका छन् ।
जलविद्युत् आयोजनाले डाँडाखेत–राहुघाट १३२ केभी क्षमताको भन्दा मुनि २२० केभी क्षमताको प्रसारणलाइनको तार पर्ने र दुईवटा प्रसारणलाइनको तारको दूरी मापदण्डभन्दा कम हुने गरेर ‘क्रसिङ’ बनाएका हुन् ।
रघुगंगा गाउँपालिका– ३, पिप्लेमा उत्तरबाट दक्षिणतर्फ आउने आयोजनाको र पश्चिमबाट पूर्व दिशातर्फ जाने डाँडाखेत–राहुघाटको प्रसारणलाइन एक–आपसमा ‘क्रसिङ’ हुन्छ । प्राविधिक हिसाबले बढी क्षमताको प्रसारणलाइनको तार कम क्षमताको लाइनभन्दा माथि हुनुपर्छ । क्रसिङ हुने ठाउँमा १३२ केभीको लाइनको माथिल्लो तारदेखि २२० केभीको तलको तारबिचको दूरी चार दशमलव पाँच मिटर हुनुपर्ने मापदण्ड छ ।
म्याग्दी नदी र सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय ग्रिडमा जोड्न नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका– ७, डाँडाखेतबाट रघुगंगा गाउँपालिका– ३, अम्बाङ जोड्ने २५ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारणलाइन र दुवै ठाउँमा सबस्टेसन निर्माण अन्तिम चरणमा पुर्याएको छ ।
डाँडाखेत–राहुघाट प्रसारणलाइनको ‘एपिटु’ र ‘एपिथ्री’ नम्बरको टावरको बिचमा जलविद्युत् आयोजनाले बनाएको प्रसारणलाइन क्रसिङ हुन्छ । सन् २०२१ देखि निर्माण सुरु भएको डाँडाखेत–राहुघाट प्रसारणलाइन निर्माणमा ढिलाइ भएपछि १३०.८ मेगावाट क्षमताका चारवटा आयोजनाले अम्बाङको सबस्टेसनका विकल्पमा २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारणलाइनमा जोड्न पिप्लेबाट तिल्केनीचौरसम्म वैकल्पिक प्रसारणलाइन बनाएका हुन् ।
राहुघाट बेसिनमा ३७.५ मेगावाटको चिमखोला–राहुघाट–मंगले, ४८.५ मेगावाटको अपर राहुघाट, २१३ मेगावाटको ठुलोखोला र २३.५ मेगावाटको माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारीमा छन् । डाँडाखेत–राहुघाट प्रसारणलाइन आयोजनाका प्रमुख रोशन अग्रवालले जलविद्युत् आयोजनाहरूले समन्वय नगरी मापदण्डविपरीत जथभावी टावर बनाएर प्राविधिक हिसाबले त्रुटिपूर्ण प्रसारणलाइन बनाएका बताए ।
‘जलविद्युत् आयोजनाले हाम्रो लाइनमुनि बनाएको लाइन हटाउन नौ महिनादेखि पत्राचार गरे पनि अटेरी र बेवास्ता गरेका छन्,’ उनले भने, ‘१३२ केभीभन्दा माथि तार पर्ने गरेर अर्को टावर बनाएर लाइन तान्ने सहमति पनि कार्यान्वयन नगर्दा उनीहरूलाई समस्या पर्ने अवस्था आएको हो ।’
यस विषयमा प्रतिक्रिया लिन ठुलोखोलाका प्रतिनिधि गोपाल निउरे, अपर राहुघाट र चिमखोला–मंगले–राहुघाटको प्रवर्द्धक तुदी पावरका प्रतिनिधि इन्द्र ढकाललाई सम्पर्क गर्दा उनीहरूले फोन उठाएनन् । तुदी पावरका आवासीय इन्जिनियर प्रकाश तिमिल्सिनाले सहमतिअनुसार १३२ केभीको भन्दा २२० केभीको तार माथि पर्ने गरेर अग्लो टावर बनाउने तयारी गरेको प्रतिक्रिया दिए । रासस