१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १८:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

बागमती समूहविजेता बन्दै सेमिफाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:४५:oo

बागमती प्रदेश समूह ‘बी’को विजेता बन्दै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार लुम्बिनी प्रदेशसँग भएको खेल रोमाञ्चक बराबरीमा टुंगिएसँगै बागमती प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गरेको हो । 

समूहमा अपराजित बागमतीको चार खेलबाट सर्वाधिक सात अंक भएको छ । यो नतिजाले लुम्बिनीको भाग्य भने सोमबार हुने नेपाल पुलिस क्लब र प्रदेश २ बीचको खेलले निर्धारण गर्ने भएको छ । उक्त खेलमा पुलिस पराजित भए लुम्बिनी समूह उपविजेताको रूपमा अन्तिम चारमा पुग्नेछ । पुलिसको जितले लुम्बिनी प्रतियोगिताबाट बाहिरिनेछ ।

मूलपानी मैदानमा टस जिती पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय २० रनको योगफल तय गरेको थियो । जवाफमा लुम्बिनीले पनि ४८ ओभरमा सबै विकेट गुमाउनुअघि दुई सय २० रनकै योगफल तय ग¥यो । यसँगै दुवै टोलीले एक–एक अंक बाँडे । 

लुम्बिनी खेलको अन्तिमसम्म जितको नजिक देखिएको थियो । यद्यपि, अन्तिम ओभरतिर निरन्तर विकेट गुमाएसँगै लुम्बिनीले जितको अवसर गुमाएको हो । 

खेलमा जितका लागि बागमतीलाई एक विकेट र लुम्बिनीलाई एक रन मात्रै आवश्यक थियो । १०औँ विकेटको रूपमा लुम्बिनीका दीपेन्द्र रावत रनआउट हुन पुगे । 

लुम्बिनीलाई जितसम्म पुग्न नदिन बागमतीका विपिन आचार्य एक्लैले चार विकेट लिए । सात ओभर बलिङ गरेका उनले ३० रन खर्चिए । उनीबाहेक गौतम केसीले दुई विकेट लिए । 

त्यसअघि बागमतीका लागि आदिल खानले ५५ र इसान पाण्डेले ५१ रनको अर्धशतकीय योगदान दिए । आकाश थापाले ३९ र पृथ्यु बाँस्कोटाले २९ रन जोडे । 

लुम्बिनीका लागि कप्तान कृष्ण कार्की र प्रकाश केसीले समान ४१ रनको योगदान दिए । सौरभ खनालले ३४, देव खनालले २६ र सन्दीप सुनारले २५ रन जोडे । बलिङतर्फ लुम्बिनीका दीपेन्द्र रावतले तीन तथा कृष्ण र सन्दीपले दुई–दुई विकेट लिएका थिए ।

कुनै समय असम्भवजस्तै देखिएको खेललाई बराबरीमा ल्याउन सफल भएपछि बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले खुसी व्यक्त गरे । ‘कुनै समय हामी प्रतियोगिताबाटै बाहिरिने अवस्थामा पुगेका थियौँ । त्यो अवस्थाबाट खेल बराबरी गर्दै सेमिफाइनलकै लागि छनोट भएका छौँ,’ खेलपछि कप्तान ज्ञानेन्द्रले भने, ‘यो प्रदर्शन धेरै अर्थमा महत्वपूर्ण रहेको छ । आगामी खेलमा पनि राम्रो नतिजाको अपेक्षा गरेको छु ।’ 

सुदूरपश्चिमको सान्त्वना जित
प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको सुदूरपश्चिमले सान्त्वना जित हात पारेको छ । आइतबार नै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरले प्रदेश २ लाई तीन विकेटले पराजित गरेको हो । 

पहिले ब्याटिङ गरेको प्रदेश २ ले ४२ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय ९५ रनको योगफल तय गरेको थियो । सुदूरले ३३ ओभरमा सात विकेट गुमाउँदै जित निश्चित गरेको हो । 

सुदूरको जितमा सञ्जु दमाईंले ३५ बलमै ५७ रनको अर्धशतकीय इनिङ खेले । उनले दुई छक्का र आठ चौका प्रहार गरे । कप्तान खड्क बोहराले ४३ र गजेन्द्र बोहराले ३९ रनको योगदान दिए । बलिङतर्फ शेर मल्ल र नरेन्द्र साउदले तीन–तीन विकेट लिए । 

प्रदेश २ का लागि हरिशंकर शाहले ६० रनको योगदान दिए पनि जित सम्भव भएन । उसका लागि विवेक यादवले थप ४१ र मेहबुब आलमले २३ रनको योगदान दिएका थिए । बलिङमा कुमार थापाले तीन र हरिशंकरले दुई विकेट लिए । लगातार तेस्रो खेलमा पराजय व्यहोरेको प्रदेश २ पनि प्रतियोगिताबाट बाहिरिसकेको छ । 
 

ad
ad