मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ माघ ९ शुक्रबार
  • Saturday, 12 July, 2025
२o७७ माघ ९ शुक्रबार १२:o९:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंका २५ सामुदायिक विद्यालयमा आविष्कार क्लब 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७७ माघ ९ शुक्रबार १२:o९:oo

काठमाडौं महानगरपालिकाले २५ वटा सामुदायिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवर्द्धनका लागि आविष्कार क्लब गठन गरेको छ । महानगरपालिका क्षेत्रभित्रका २५ वटा विद्यालय छनाेट गरी कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

पहिलो चरणमा कार्यक्रमका लागि २५ वटा विद्यालयसँग सम्झौता भएको छ । विद्यार्थीमा विज्ञान तथा प्रविधिको सिकाइको विकास गर्ने, व्यक्तिगत अभिरुचिको विकास र प्रयोग गर्ने मञ्च उपलब्ध गराउने, आविष्कारमूलक सिकाइको प्रवर्द्धन गर्नेलगायतका उद्दश्यले सुरुवात गरेको सो कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाले छनोटमा परेका ती सबै विद्यालयलाई एक–एक लाख रुपैयाँ अनुदान दिएको छ । 

अनुदानका लागि सम्झौतापत्रमा हस्ताक्षर तथा चेक हस्तान्तरण कार्यक्रमपछि सम्बाेधन गर्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नयाँ सोचका साथ ल्याएको कार्यक्रमलाई व्यावहारिक रूपमा लागू गर्न विद्यालयका प्रधानाध्यापकहरूलाई आग्रह गरे ।

‘काठमाडौं महानगरपालिकाले नयाँ सोचका साथ यो कार्यक्रम ल्याएकोे छ । यसलाई व्यावहारिक रुपमा लागू गर्न तपाईंहरू लाग्नुहोला,’ शाक्यले भने, ‘सामुदायिक विद्यालयका शिक्षकले निजी विद्यालयमा विद्यार्थीको चाप बढी भयो भनेर चिन्ता लिने होइन । गुणस्तरीय शिक्षाका लागि योगदान दिएर सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउनतर्फ केन्द्रित हुनुपर्छ ।’  

उनले सामुदायिक विद्यालयमा राज्यको ठूलो लगानी रहेको भन्दै राज्यको नीतिअनुसार सर्वसुलभ र गुणस्तरीय शिक्षा दिई निजीको भन्दा राम्रा विद्यार्थी उत्पादन गर्नुपर्नेमा जोड दिए । ‘गुणस्तरीय शिक्षा दिन नसक्ने अनि निजी विद्यालयलाई गाली गर्ने कुरा उचित होइन,’ उनले भने, ‘निजीले लगानी गरेको हुन्छ । त्यहाँ व्यापारिक प्रतिफलको पनि अपेक्षा हुन्छ । तर, सामुदायिकले प्रतिफलको अपेक्षा गर्ने भनेको आफ्नो विद्यालयमा पढेका विद्यार्थीको भविष्य सुनिश्चित होस् भन्ने हो । तपाईंहरूले गौरवका साथ भन्न सक्नुहोस् कि निजी विद्यालयमा अध्ययन गरेकाभन्दा मेरो विद्यालयमा अध्ययन गरेका विद्यार्थी अब्बल छन् ।’ 

शाक्यले विद्यालय शिक्षा अहिले स्थानीय सरकारको मातहतमा रहेको भन्दै महानगरपालिका आवश्यक लगानी गर्न तयार रहेको पनि स्मरण गराए । ‘हामी पूर्वाधारलगायतका लागि लगानी गर्न तयार छौँ,’ शाक्यले भने, ‘तर, गुणस्तरीय शिक्षा दिने जिम्मेवारी तपाईंहरूको हो । सामुदायिकमा पढेको विद्यार्थीले आफूले चाहेको क्षेत्रमा प्रवेश गर्न चाहना राख्दा निजीको भन्दा अब्बल बन्न सकोस् । त्यसमा तपाईंहरूको कमजोरी नहोस् ।’ 

काठमाडौं महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले पनि महानगरपालिकाले नयाँ कार्यक्रम ल्याएको भन्दै त्यसलाई सफल बनाउन सबै प्रधानाध्यापकलाई आग्रह गरे । ‘हामीले पहिलो चरणमा २५ वटा विद्यालय छनोट गरेका छौँ । तीमध्ये पनि शिवपुरी माध्यमिक विद्यालयलाई हब विद्यालयका रूपमा छनोट गरेका छौँ,’ बस्नेतले भने,  ‘यो क्रार्यक्रमको छनोटमा परेका विद्यालयहरूमा कक्षा– ९ सम्मका १५ देखि २० जनासम्म विद्यार्थीको सहभागितामा आविष्कार क्लब गठन गरिनेछ । यो कार्यक्रम सम्बन्धित विद्यालयसँग सम्झौता भएको मितिदेखि सञ्चालन भई ०७८  असार मसान्तभित्र सम्पन्न गरिसक्नु पर्नेछ ।’ 

बस्नेतले उक्त क्लबका विद्यार्थीसँग सम्बन्धित विषयका शिक्षकहरूमार्फत गरिने विभिन्न कार्यशालामा भाग लिने, विद्यालयका विज्ञान शिक्षकहरूको भेला आयोजना गरी त्यसको अनुगमन गर्ने जस्ता कार्य हुने पनि बताए । ‘कार्यक्रमको अन्त्यमा प्रत्येक विद्यालयका अविष्कार क्लबहरूको सहभागितामा हब विद्यालयमा आविष्कार मेलाको आयोजना गरिनेछ,’ बस्नेतले भने, ‘यो मेलामा दिएको समस्याको उत्तम हल निकाल्ने विद्यालय तथा विद्यार्थीलाई पुरस्कृत गरिनेछ ।’ 
सहरी योजना आयोगका सचिवालय प्रमुख डिल्लीराम बाँस्तोलाले २५ वटै विद्यालयलाई सुरुमा ८५ हजार अनुदान दिएको भन्दै प्रतिवेदन प्राप्त भएपछि थप २५ हजार दिने बताए । 

पहिलो चरणको छनोटमा शिवपुरी माध्यमिक विद्याल, बाँसबारी माध्यामिक विद्यालय, धुम्रबराह माध्यमिक विद्यालय, टंगाल माध्यमिक विद्यालय, जनकल्याण माध्यमिक विद्यालय, मित्र आधारभूत विद्यालय, श्रम राष्ट्रिय माध्यमिक विद्यालय, गुह्येश्वरी माध्यमिक विद्यालय, रत्नराज्य माध्यमिक विद्यालय, विश्वनिकेतन माध्यमिक विद्यालय, महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय, सरस्वती निकेतन माध्यमिक विद्यालय, जनप्रभावत माध्यमिक विद्यालय, नील बाराही माध्यमिक विद्यालय, जनपथ माध्यमिक विद्यालय, गीतामाता माध्यमिक विद्यालय, सिद्धिगणेश माध्यमिक विद्यालय, शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालय, भक्त विद्याश्रम माध्यमिक विद्यालय, परोपकार आदर्श माध्यमिक विद्यालय, नवयुग माध्यमिक विद्यालय, प्रभाव माध्यमिक विद्यालय, पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालय, भीमसेनगोला माध्यमिक विद्यालय, कोटेश्वर सरस्वती माध्यमिक विद्यालय रहेका छन् ।