१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
भोला पासवान कञ्चनपुर (सप्तरी)
२०७७ माघ ७ बुधबार १८:००:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एचआइभीले रित्तिएको एउटा घर

Read Time : > 2 मिनेट
भोला पासवान, कञ्चनपुर (सप्तरी)
२०७७ माघ ७ बुधबार १८:००:००

गजेन्द्र नारायणसिंह अस्पतालमा ४ माघमा १८ वर्षीया किशोरीको उपचारका क्रममा ज्यान गयो । अस्पतालमा त एउटा अर्को मृत्यु थियो, तर सप्तरीको राजविराज नगरपालिका–२ चनौराको एक घर भने रित्तिएको छ, त्यो पनि एचआइभी-एड्सका कारण ।

सप्तरीको राजविराज नगरपालिका–२ मा एचआइभी संक्रमणबाट एउटै परिवारको तेस्रो व्यक्तिको मृत्यु भएको हो । आमा, बुबा र दिदी गुमाएपछि १२ वर्षीय बालक बिचल्लीमा परेका छन् । स्कुल छोडेर मजदुरी गर्दै आएका उनी अब झन् समस्या परेको बताउँछन् । ‘मलाई पनि संक्रमण छ, हरेक दिन औषधि खानुपर्छ,’ १२ वर्षीय बालकले भने, ‘डाक्टरले पौष्टिक आहार खानु भन्छन्, हामीसँग केही छैन ।’

आमाबुबा गुमाउँदा उनलाई खासै पीडा भएको थिएन, किनकि उनी सानै थिए । दिदी गुमाउँदा भने उनी चिन्तित बनेका छन् । ‘मलाई पनि मर्छु कि भन्ने डर लाग्न थालेको छ,’ उनले पीडा सुनाए ।

उनकी दिदीलाई पनि एआइभी संक्रमण भएको थियो । उनी एचआइभी-एड्सविरुद्धको औषधि एआरटी सेवन गर्दै आएकी थिइन् । यो औषधि दैनिक एउटै समयमा खानुपर्छ । एक दिन पनि छुटाउन हुँदैन । 

पछिल्लोपटक एकाएक स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आफन्तले उनलाई दुई साताअघि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरेका थिए । हजुरआमाले अस्पताल भर्ना गरे पनि कुरुवा कोही थिएनन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रंजित झाले भने, ‘दुई साताअघि अस्पतालमा भर्ना गराएर आफन्त कोही पनि कुरुवा बस्न आएनन् ।’

अस्पतालमा छटपटाइरहँदा उनी एक्लै थिइन् । आफन्तहरू कोही उनको नजिक थिएनन् । आमाबुबा पहिले नै गुमेका थिए भने हजुरआमाले कुरुवा बस्न सकिनन् । गाउँलेहरू पनि कोही गएनन् । ‘हामीलाई उपचार गर्न त समस्या भएन, तर गम्भीर अवस्थामा रहेकी उनको रेखदेख गर्ने कोही आफन्त थिएन । अस्पतालकै कर्मचारीहरूले लुगा फेर्नेदेखि खाना खुवाउनेसम्मको व्यवस्थापन गर्नुपरेको थियो,’ सुपरिटेन्डेन्ट डा.झाले भने ।

दिदी अस्पताल भर्ना हुँदा १२ वर्षीय उनी काठमाडौंमा थिए । दाजुसँगै मजदुरी गरिरहेका थिए । एचआइभीले दिदीको मृत्यु भएको खबर सुनेपछि घर फर्केका उनी पनि डर लाग्ने गरेको बताउँछन् । ‘घरमा कोही पनि छैन, राति नराम्रो सपना देखिन्छ । सपना देख्दा डर लाग्छ,’ उनले भने । 

उनका बुबाको १२ वर्षअघि मृत्यु भएको थियो । त्यतिवेला ३० वर्षका थिए । उनी भारतमा मजदुरी गर्दै आएका थिए । कहिलेकाहीँ घर आउँथे । उनको के कारण मृत्यु भयो भन्ने नखुलेको आफन्तजन बताउँछन् । 

त्यतिवेला उनकी दिदी चार वर्षकी थिइन् । उनी आमाको पेटमै थिए । उनी जन्मेपछि अस्पतालमा जाँच गरियो । उनकी आमा र दिदीलाई एआइभी संक्रमण देखियो । केही समयपछि जाँच गर्दा उनलाई पनि एआइभी देखिएको आफन्तजन बताउँछन् । ‘दिदीलाई त थियो नै भान्जीलाई पनि एआइभी देखियो । कान्छो भान्छालाई त जन्मिदै एचआइभी संक्रमण भयो,’ उनका मामा भन्छन् । 

बुबाको मृत्यु भएको दुई वर्षपछि उनकी आमाको पनि मृत्यु भयो । उनी र उनकी दिदीलाई मामाले हुर्काएका हुन् । उनीहरू काम गर्न सक्ने भएपछि टिनको छानो हालेर झुप्रो बनाइदिएका छन् । त्यसमै उनीहरू बस्दै आएका छन् । दिदीको मृत्यु भएपछि भने उनी पनि त्रसित बनेका छन् । 

चन्दा उठाएर दाहसंस्कार
किशोरीको मृत्यु भएपछि राजविराज नगरपालिका–२ का वडाअध्यक्ष चन्द्रनारायण चौधरीले नगरपालिकाबाट ट्याक्टर र पाँच क्विन्टल दाउरा सहयोग गरिदिएपछि दाहसंस्कार गरिएको थियो । गाउँलेले तीन दिनको काजकिरिया गर्ने भनेपछि सबैले सहयोग गरेका छन् । 

कसैले चामल, कसैले तरकारी तथा कसैले अन्य सामग्री जुटाएर काजकिरिया गरिएको स्थानीय बासिन्दा बताउँछन् । ‘हिन्दू धर्मअनुसार भोजभतेर गरिएन भने त मर्ने व्यक्तिको मुक्ति हुँदैन भनेपछि सहयोग मागेर भए पनि भोज ग¥यौँ । गाउँका ७०-७५ जनालाई भोज खुवायौँ,’ उनले भने । 

उनीहरूको जग्गाजमिन केही छैन । राजविराज नपा–२ स्थित नहरको डिलमा ११ घर छन् । त्यसमै छ उनको छाप्रो । मह काढ्ने पुख्र्यौली पेसा भए पनि पछिल्लो समय भने मजदुरी गर्दै आएका छन् । 

उनका दाइ काठमाडौंमा मजदुरी गर्छन् । उनी पनि अब दाइसँगै मजदुरी गर्न काठमाडौं फर्किने तयारीमा छन् । बहिनीको मृत्यु भएपछि भाइलाई घरमा बस्न समस्या भएको बताउँदै उनी भन्छन्, ‘घरमा कोही पनि छैन, एक्कलै अरूसँग बस्न मान्दैनन्, राति नराम्रो सपना हेरेर तर्सिन्छ ।’