१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ पौष २८ मंगलबार ०८:५१:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

लमजुङ उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक पक्षका गुणराज सिलवाल निर्वाचित 

Read Time : > 2 मिनेट
२०७७ पौष २८ मंगलबार ०८:५१:००

जिल्लासँगै इकाइमा पनि लोकतान्त्रिक समूह नै विजयी

व्यवसायीहरूको छाता संगठन लमजुङ उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक पक्षका गुणराज सिलवाल निर्वाचित भएका छन् । सिलवाल संघको १७औँ अधिवेशनबाट आगामी तीनवर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । 

उनले प्रगतिशील समूहका प्रतिस्पर्धी श्रीकृष्ण लामिछानेलाई तीन सय १४ मतले पछि पार्दै जित हासिल गरेका हुन् । सिलवालले कुल एक हजार तीन सय ५९ मत पाए भने लामिछानेले एक हजार ४५ मत प्राप्त गरे । 

सिलवाल बेसीसहर इकाइको सदस्य हुँदै दुई कार्यकाल संघको कोषाध्यक्ष, एक कार्यकाल तृतीय उपाध्यक्ष र एक कार्यकाल द्वितीय उपाध्यक्ष भई काम गरेका थिए । 

यस्तै संघको प्रथम उपाध्यक्षमा लोकतान्त्रिक पक्षका मृगेन्द्र घिमिरे निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी विकास श्रेष्ठलाई १५९ मतले पछि पार्दै निर्वाचित भएका छन् । घिमिरेले कुल एक हजार दुई सय ४९ मत पाएका छन् । 

संघको द्वितीय उपाध्यक्षमा लोकतान्त्रिक पक्षका भरतकुमार श्रेष्ठ विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी भरतबहादुर विष्टलाई तीन सय २२ मतको अन्तरले जित हासिल गरेका हुन् । श्रेष्ठले कुल एक हजार तीन सय ३५ मत पाएका छन् । 

यस्तै, संघको तृतीय उपाध्यक्षमा लोकतन्त्रप्रेमी युवा व्यवसायी कृष्णजंग गुरुङ अत्यधिक मतका साथ विजयी भएका छन् । गुरुङले निकटतम् प्रतिद्वन्द्वी रविन विश्वकर्मालाई चार सय १८ मतले पछि पारेका छन् । गुरुङले कुल एक हजार तीन सय ८६ मत पाए । 

महिला सदस्यमा लोकतान्त्रिक समूहकै आइशा मियाँ र मनु पन्त विजयी भएका छन् । उनीहरूले क्रमशः एक हजार दुई सय ८७ र एक हजार एक सय ९५ मत ल्याएका छन् । निकटतम् प्रतिद्वन्द्वी अनुपमा पुन र कल्पना थापाले क्रमशः एक हजार पाँच र एक हजार ७८ मत ल्याएका छन् । 

यस्तै, संघको खुला सदस्यहरू पनि सबै लोकतान्त्रिक पक्ष नै विजयी भएका छन् । खुला सदस्यमा उक्त समूहका शिवराम सिलवाल, सुरेशकुमार प्रधान र प्रदीप बस्नेतले उम्मेदवारी दिएका थिए । उनीहरूले क्रमशः एक हजार दुई सय ५२, एक हजार दुई सय ८८ र एक हजार दुई सय ७४ मत ल्याएका छन् । निकटतम् प्रतिद्वन्द्वीहरू युवराज पौडेल, सुरजकुमार श्रेष्ठ र वेदराज खनियाँले क्रमशः एक हजार ५३, नाै सय ६४ र नाै सय ७३ मत ल्याए । 

यस्तै, संघको सातवटा इकाइमा पनि लोकतान्त्रिक पक्षधर व्यवसायीको जित भएको छ । बेसीसहर, उदीपुर, भोटेवडार, सुन्दरबजार, राइनास, दुईपिप्ले सोतीपसल र भोर्लेटार इकाइमा लोकतान्त्रिक समूहका सबै उम्मेदवार विजयी भएका छन् । 

खुदी इकाइमा भने सहमतिका आधारमा नयाँ समिति चयन गरिएको छ । बेसीसहर इकाइमा विपिन श्रेष्ठ, उदीपुरमा अमृतकुमार श्रेष्ठ, भोटेवडारमा मानकृष्ण आचार्य, सुन्दरबजारका दण्डबहादुर सुनार, राइनासमा आनन्द श्रेष्ठ, दुईपिप्ले सोतीपसलमा ऋषिराम पुरी र भोर्लेटारमा जाकिरहुसेन मियाँ रहेका छन् । 

संघमा दुई हजार ६ सय ८४ व्यवसायी आबद्ध भए पनि निर्वाचनमा भने कुल दुई हजार चार सय ६७ मत खसेको थियो । केन्द्रमा केपी शर्मा ओली र प्रचण्ड–नेपाल गुटमा लागेका नेता तथा कार्यकर्ताहरू विभाजन भए पनि जिल्लामा भने उनीहरू एक भएर अघि बढेका थिए । 

संघको निर्वाचनमा पनि विभाजित नहुन व्यवसायीलाई नेतृत्वले ह्विप नै जारी गरेको थियो । लमजुङमा लोकतान्त्रिक समूह र प्रगतिशील समुहका व्यवसायीबीच चुनावी प्रतिस्पर्धा भएको थियो । 

नेपाली कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले निर्वाचित सबैलाई बधाई ज्ञापन गर्दै व्यवसायसँगै कांग्रेसको मर्मलाई नबिर्सन आग्रह गरे । 

संघका निवर्तमान अध्यक्ष राजेश थापाले जिल्लामा लोकतन्त्रप्रेमीहरूको जित भएको बताए । संघको नवनिर्वाचित अध्यक्ष सिलवालले आगामी दिनमा व्यवसायीको हितमा रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । आगामी कार्यकालका लागि शनिबार भएको निर्वाचनको मतगणना सोमबार राति सकिएको हो ।