१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ पौष २७ सोमबार १२:५९:००
Read Time : > 1 मिनेट
खेलकुद

‘एनएसजेएफ झापा स्पोर्टस् अवार्ड’ फागुन २८ मा

Read Time : > 1 मिनेट
२०७७ पौष २७ सोमबार १२:५९:००

नेपाल खेलकुद पत्रकार मञ्च झापाले प्रदान गर्ने ‘एनएसजेएफ झापा स्पोर्टस् अवार्ड २०७६’ २८ फागुनमा हुने भएको छ । २०७४ सालदेखि मञ्चले निरन्तर आयोजना गर्दै आएको अवार्डको यो चौथो संस्करण हो ।

बिर्तामोडमा आयोजना हुने अवार्ड २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सफल खेलाडी र प्रशिक्षकलाई प्रदान गरिने मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिए ।

अवार्ड फुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा हुँदै आएको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्ना भाइ फुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा मञ्चलाई एक लाख रुपैयाँ प्रदान गर्दै आएको बताइएको छ ।

अवार्ड वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ६ विधामा खेलाडी, प्रशिक्षक, पुराना खेलकर्मीलाई सम्मान गरिने मञ्चका अध्यक्ष खरेलले जानकारी दिए । साविक मेची अञ्चलका इलाम, पाँचथर, ताप्लेजुङ र झापाका खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिनेछ ।

वर्ष खेलाडी महिला, पुरुष, युवा र प्रशिक्षकका लागि खेलाडीको मनोनयन सार्वजनिक गरिनेछ । पिपल्स च्वाइस अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड विजेता भने कार्यक्रमकै दिन घोषणा गरिने अध्यक्ष खरेलले बताए ।

वर्ष खेलाडी पुरुष विजेतालाई मोटरसाइकल र महिला विधाका विजेतालाई स्कुटर प्रदान गरिने खेलकुद पत्रकार मञ्चले जनाएको छ । युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेतालाई जनही २५ हजार र लाइफटाइम एचिभमेन्ट अवार्ड विजेतालाई नगद ३५ हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने अध्यक्ष खरेलले बताए ।

यस्तै, प्रतिभा छनोटका लागि मञ्चका सदस्य सचिन सुब्बाको संंयोजकत्वमा  छनोट समिति गठन गरिएको छ । जसको सदस्यमा नमीन ढकाल र चिरञ्जीवी घिमिरे छन् । मञ्चका अध्यक्ष खरेल र सचिव अर्जुन राजवंशी पदेन सदस्य रहनेछन् ।

अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको छ । उपाध्यक्ष अमित खम्बू संयोजक रहेको स्वयंसेवक उपसमिति, सहसचिव भूमिका सुब्बा संयोजक रहेको प्रचारप्रसार उपसमिति, कोषाध्यक्ष राजु पौडेल संयोजक रहेको आर्थिक उपसमिति, कार्यसमिति सदस्य विनोद पाण्डे संयोजक रहेको प्राविधिक उपसमिति र सदस्य बुद्ध तामाङ संयोजक रहेको अतिथि सत्कार तथा सांस्कृतिक उपसमिति गठन गरिएको खेलकुद पत्रकार मञ्चले जनाएको छ ।