१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नाओमी ओसाका
२o८१ जेठ ४ शुक्रबार o९:१८:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

खेल कहिल्यै अराजनीतिक थिएन

Read Time : > 2 मिनेट
नाओमी ओसाका
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o९:१८:oo

आममानिसजस्तै हामी खेलाडी पनि पूर्वाग्रह तथा नश्लवादबाट प्रभावित हुन्छौँ भने त्यसबारे कुरा गर्न किन नहुने ?

‘चुप लागेर खेलमा ध्यान दिनुस् ।’ इएसपिएनको एक अन्तर्वार्तामा नश्लवाद, राजनीति तथा अमेरिकामा अश्वेत आइडल हुनुका अप्ठ्याराजस्ता विषयमा बोलेपछि लेब्रोन जेम्सलाई एकजना समाचार प्रस्तोताले दिएको सुझाब हो यो । तर, लेब्रोनले यी सुझाब मान्ने कुरै थिएन । अभियन्ताका रूपमा लेब्रोनले पहिलोपटक मेरो ध्यान सन् २०१२ मा तानेका थिए । त्यस समय उनी र उनी आबद्ध मियामी हिटका खेलाडीले ट्रेभोन मार्टिनको हत्याको विरोधमा हुडीको फोटो पोस्ट गरेका थिए । फ्लोरिडामा जर्ज जिमरम्यानको हातबाट मारिएका मार्टिनले मर्ने वेला हुडी लगाइरहेका थिए । 

फेरि अर्को चर्चित नश्लवादी हत्या सन् २०१४ मा बाहिरियो, जब प्रहरी अधिकारीले एक अश्वेत नागरिक एरिक गार्नरलाई पक्राउ गर्ने क्रममा घाँटी अठ्याउँदा उनको ज्यान गयो । गार्नरले पनि जर्ज फ्लोयडले जस्तै ‘आई कान्ट ब्रिथ’ भनेका थिए । तत्कालीन समय प्रहरीलाई त्यस्तो कार्य गर्न निषेध थियो । लगत्तैको खेलपूर्वको वार्मअपमा लेब्रोनले गार्नरले भनेका अन्तिम वाक्य ‘आई कान्ट ब्रिथ’ लेखिएको टिसर्ट लगाए । गार्नरको अन्तिम बोली भिडियोमा रेकर्ड भएको थियो । बाँकी लिगमा पनि धेरैको नजर लेब्रोनमाथि रह्यो । त्यसयता यति लामो समय बितिसक्दा पनि लेब्रोन अझै सांस्कृतिक रूपमा हस्तक्षेप गरिरहेका छन् । खेलाडीमध्येबाट सामाजिक मुद्दामा लेब्रोनको स्वर सबैभन्दा चर्को छ । निःसन्देह उनीसँग आवाज व्यक्त गर्ने ठूलो मञ्च उपलब्ध छ । उनी त्यसलाई संरचनात्मक नश्लवाद, असमानता र प्रहरी दमनको विरोध जनाउन प्रयोग गरिरहेका छन् । तर, अभूतपूर्व विरोध, विश्वलाई प्रभावित बनाउने महामारी तथा केही व्यक्तिगत चोटका बाबजुद उनको खेल घट्ने होइन, झन् परिष्कृत भइरहेको छ । लेब्रोनले अश्वेत समुदायलाई समर्थन गर्दा ठूलो साहस प्रदर्शन गरेका छन् । अदालतमा होस् वा माइकमा उनले आवाज व्यक्त गरिरहेका छन् र यसमार्फत उनले धेरैलाई प्रेरित गरिरहेका छन् । उनी आफ्नो कौशलप्रति निष्ठावान् छन् भने आफ्नो समुदायप्रति समर्पित छन् । यस क्रममा उनले मुखर खेलाडीलाई मौन बनाउने स्थापित इतिहासविरुद्धको लडाइँ पनि जारी राखेका छन् । 

खेल कहिले पनि अराजनीतिक थिएन । जबसम्म खेल मानिसले खेल्नेछन्, खेल अराजनीतिक हुनै सक्दैन । मोहम्मद अलीले दशकौँ न्यायको पक्षमा आवाज उठाए । 

संगीतकर्मीले सामाजिक आन्दोलन, अभियान तथा समानताबारे सधैँ नै लेख्ने, गाउने गर्दै आएका छन् । अभिनेताले पनि निरन्तर आफ्नो विचार अभिव्यक्त गर्ने गर्छन् र कैयौँले राजनीतिक उमेदवारलाई समर्थन गर्ने गर्छन् । लेखक तथा कलाकारबाट त पछिल्ला घटनाबारे धारणाको अपेक्षा नै गरिन्छ । तिनले आफ्नो विचारको प्रतिरक्षा गर्नु पनि पर्छ । तर, हामी खेलाडीले भने आफ्नो विचार राखेकोमा धेरै अवस्थामा खप्की खानुपर्छ । के मानिसले हामी खेलाडीलाई हाम्रो शरीरभन्दा बढी देख्दैनन् ? मानिसहरू मांसपेसी, हड्डी, रगत तथा पसिनाको थुप्रो मात्र मानिने हामीसँग विचार नै हुँदैन भन्ने सोच्छन् ? हामी खेलाडी आफ्नो विधामा मानवको रूपमा क्षमताको अधिकतम प्रयोग गरेर आफ्ना फ्यान तथा आममानिसलाई मनोरञ्जनका साथै प्रेरणा दिइरहेका हुन्छौँ । तर, हामी जब राजनीतिक विषयमा बोल्छौँ, हामीलाई खेलमा ध्यान दिन र चुप लाग्न सुझाब दिइन्छ । के खेल खेलमै र राजनीति राजनीतिमै सीमित हुुनुपर्छ ? तर खेलाडीले राजनीतिक विषयमा बोल्न हुँदैन भन्नेले केही महत्वपूर्ण तथ्य बिर्सिरहेका हुन्छन्– जब हामी खेलिरहेका हुँदैनौँ, तब हामी पनि अरूजस्तै आमनागरिक हुन्छौँ । हामी यो समाजमा अन्य मानिसले सामना गरेजस्तै असमानता तथा अन्यायको भागी हुन्छौँ । त्यसैले त एनबिए खेलाडी स्टरलिङ ब्राउनलाई प्रहरीले स्टनगनले हाने । टेनिस खेलाडी जेम्स ब्लेकलाई प्रहरीले न्युयोर्क सिटीको होटेलबाहिर उभिरहेका वेला १५ मिनेटसम्म हतकडी लगाएर भुइँमा लडाएका थिए (प्रहरी अधिकारीले पछि अर्कै मानिस ठानेर त्यस्तो कदम चालिएकोमा माफी मागे) । खेलाडी हौँ भन्दैमा देशमा भएका कुराले हामीलाई प्रभाव पार्दै नपार्ने होइन । 

खेल कहिले पनि अराजनीतिक थिएन । जबसम्म खेल मानिसले खेल्नेछन्, खेल अराजनीतिक हुनै सक्दैन । मोहम्मद अलीले दशकौँ न्यायको पक्षमा आवाज उठाए । उनले आफ्नो धार्मिक विश्वासका कारण युद्धमा जान अस्वीकार गर्दा पाँच वर्षको कारावास भोगेका थिए, त्यस समय पनि उनले अन्यायविरुद्ध बोलिरहे । मेक्सिकोमा सम्पन्न १९६८ को ओलिम्पिक खेलमा टोमी स्मिथ र जोन कार्लोसले पोडियमबाट कालो पन्जा लगाएको हात मुठी पारेर उठाउँदा तीविरुद्ध हुटिङ भएको थियो । पछि अमेरिका फर्किएपछि पनि तिनले मिडिया र सार्वजनिक स्थलमा उलेख्य आलोचना खेप्नुपर्‍यो । 

एनएफएल खेलअघि राष्ट्रिय गीत बजिरहँदा कोलिन केपरनिकले घुँडा टेक्दा करिअर नै जोखिममा परेको छ । उनले यही कारण लिगमा नखेल्ने सम्भावना पनि हुन सक्छ । फुटबलर मेघन र्‍यापिनो एलजिबिटिक्यु आन्दोलन र समान ज्यालाको बलियो समर्थक रहँदै आएकी छिन् । यस विषयमा र्‍यापिनो राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आरोप–प्रत्यारोपमा उत्रिन पनि पछि परिनन् । विवादकै बीच उनले ह्वाइट हाउसको सम्मान कार्यक्रमलाई बहिष्कार गरिन् । भेनस विलियमले महिला टेनिस खेलमा समानताको सघंर्षमा विली जिन किङको बिरासतलाई अघि बढाउन धेरै काम गरेकी छिन् । 

(ओसाका विश्व चर्चित टेनिस खेलाडी हुन्)
न्युयोर्क टाइम्सबाट

ad
ad