Skip This
गण्डकीको विशेष अधिवेशन आज सुरु हुँदै
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २१ मंगलबार
  • Tuesday, 13 May, 2025
२o७७ पौष २१ मंगलबार o६:२९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गण्डकीको विशेष अधिवेशन आज सुरु हुँदै

कोरोना महामारीबारे छलफल हुने, सरकार फेरबदलको विषय नउठ्ने संकेत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष २१ मंगलबार o६:२९:oo

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन मंगलबार सुरु हुन लागेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेपछि बोलाइएको विशेष अधिवेशनमा कोरोना भाइरसको महामारीका विषयमा छलफल हुने भएको छ भने अन्य प्रदेशजस्तो सरकार फेरबदलको विषय नउठ्ने देखिएको छ । 

संवैधानिक व्यवस्थाअनुसार कांग्रेस र जनता समाजवादी पार्टीले विशेष अधिवेशन आह्वानका लागि ३० मंसिरमा निवेदन दिएका थिए । संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशसभाको अधिवेशन वा बैठक चालू नभएको अवस्थामा प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा विशेष अधिवेशन बोलाउनुपर्ने व्यवस्था गरिएको छ । त्यसैअनुरूप कांग्रेसका १५ र जसपाका दुई सदस्यले दिएको निवेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले २१ पुुस दिउँसो १ बजे पोखरा सभागृहमा विशेष अधिवशेन आह्वान गरेका हुन् ।

नेकपामा आएको विभाजनले अन्य प्रदेशमा सरकार फेरबदलको कसरत चलिरहेको भए पनि गण्डकीमा भने असर परेको छैन । ६० सदस्यीय गण्डकी प्रदेशसभामा नेकपाका सभामुखबाहेक ३९ सदस्य छन् । जसमध्ये ओली पक्षका २७ र प्रचण्ड–नेपाल पक्षका १२ जना छन् । त्यस्तै, कांग्रेसका १५, जनमोर्चाका तीन र जसपाका दुई सदस्य छन् । जनमोर्चाले ओली पक्षका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वकै सरकारलाई समर्थन गर्ने भएपछि प्रचण्ड–नेपाल पक्षले सरकार फेरबदलका लागि कसरत गरेको छैन ।

त्यसैले विशेष अधिवेशनमा पनि कोरोना महामारीकै विषयमा छलफल हुने भएको छ । कोरोना भाइरसको महामारीका वेला सरकारले सामान्य उत्तरदायित्वसमेत निर्वाह गर्न नसकेको, नागरिक उपचार नपाएर अकालमा मृत्युवरण गर्न बाध्य भएको, जनसरोकारका विषयलाई सम्बोधन गर्न नसकेकोलगायतका विषयलाई लिएर विशेष अधिवेशन माग गरिएको कांग्रेस संसद्ीय दलका नेता कृष्णचन्द्र नेपालीले बताए । 

विशेष अधिवेशनमा पनि अहिलेको महामारीलगायतका विषयमा आवाज उठाइने प्रमुख प्रतिपक्षी दल कांग्रेस संसद्ीय दलका नेता नेपालीले बताए । कोभिड नियन्त्रणका लागि मुख्यमन्त्रीलाई प्रत्यक्ष भेटेर तथा सरकारलाई पटक–पटक सुझाब दिँदा पनि सुनुवाइ नभएको, कोरोनाले नागरिकमा त्रासदी ल्याएको र बिरामीले उपचारका लागि अस्पतालमा शय्या नपाउँदा मृत्युवरण गर्नुपरेकोलगायतका विषयमा केन्द्रित भएर आवाज उठाउने उनले बताए । 

विशेष अधिवेशन आह्वानका लागि १४ पुसमा प्रदेश सरकारले सिफारिस गरेको थियो । त्यहीअनुसार प्रदेशप्रमुखबाट विशेष अधिवेशन आह्वान गरिएको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतलले बताए । पहिलोपटक गण्डकी प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको हो ।