मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ पौष २१ मंगलबार ०६:२५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

शीतलहरले विस्थापितको बिचल्ली

तीन सातादेखि त्रिपाल टाँगेर जंगलमा वास, न्यानो कपडा र खाद्यान्न अभाव,  चिसोले बालबालिका र वृद्धवृद्धा बिरामी हुँदै

Read Time : > 2 मिनेट
२०७७ पौष २१ मंगलबार ०६:२५:००

शीतलहर र हुस्सुसँगै चिसो बढेपछि सुदूरपश्चिमी तराईमा केही दिनयता साँझ–बिहान मात्रै होइन, दिउँसै घरभित्र पनि मुटु काँप्ने गरेको छ । यही वेला कैलालीको गौरीगंगा नगरपालिका– १ स्थित जंगलमा त्रिपालको टहरामा बसिरहेका पहिरोपीडित परिवार कष्टकर दैनिकी बिताइरहेका छन् । बालबालिका र वृद्धवृद्धालाई चिसोबाट जोगाउनै मुस्किल भएको उनीहरूले बताएका छन् । 

सामुदायिक वन क्षेत्रमा त्रिपालको टहरा बनाएर बसिरहेकी भावना कार्कीले सातमहिने छोरी र दुई वर्षीय छोरालाई चिसोबाट कसरी जोगाउने भन्ने चिन्ता लागेको बताइन् । केही दिनयता चिसो बढेसँगै बाढीपीडित शिविरमा बालबालिका बिरामी पर्न थालेका छन्, तर त्रिपालको टहराभित्र चिसो छेक्ने आवश्यक न्यानो कपडा छैन ।

लगाउने न्यानो लुगासमेत पर्याप्त नभएकाले बालबालिकालाई चिसोबाट बचाउन समस्या भएको उनले दुखेसो गरिन् । ‘अस्ति छोरालाई ज्वरो आएपछि स्वास्थ्यचौकी लग्नुपर्‍यो । डाक्टरले चिसोबाट जोगाउनु भनेका थिए,’ भावनाले पीडा सुनाइन्, ‘यस्तो चिसोमा टहरामा बस्नुपरेको छ, न्यानो लुगा पनि छैन । कसरी जोगाउनु ?’ 

यही शिविरमा बस्ने सपना कार्कीलाई आफ्नोभन्दा डेढ वर्षीय छोराको चिन्ता छ । आफूले जसोतसो रात काटे पनि चिसोले छोरालाई भने समस्या भएको उनले सुनाइन् । ‘शीतलहरले त्रिपाल भिजेपछि राति त शीत चुहिन्छ । त्रिपालले बाहिरको चिसो हावा पनि छेकिन्न,’ सपनाले भनिन्, ‘हामी बुढाबुढी त जसरी–तसरी रात कटाउँछौँ, बच्चालाई चिसोबाट बचाउन गाह्रो छ ।’ बिरामी भइहाले पनि उपचार गराउने पैसा नभएको उनले बताइन् । 

पुसको सुरुवातसँगै कैलालीमा पनि हुस्सु लाग्न थालेको छ भने शीतलहर सुरु भएको छ । जसले चिसो अत्यधिक बढेको छ । चिसो बढेपछि गौरीगंगा नगरपालिका–१ स्थित वन क्षेत्रमा बसिरहेका पहिरोपीडित परिवारका बालबालिका बिरामी पर्न थालेका हुन् । त्रिपालमुनि बसिरहेका बालबालिका र वृद्धवृद्धामा ज्वरो, रुघाखोकी, बान्ता आउने, झाडापखाला लाग्नेजस्ता समस्या देखिन थालेको उनीहरूले बताएका छन् । 

उनीहरू कैलालीकै पहाडी क्षेत्रमा पर्ने चुरे गाउँपालिकाबाट विस्थापित भएर २६ मंसिरमा तराई झरेका हुन् । कतै बस्ने ठाउँ नपाएपछि गौरीगंगा–१ को जंगलमा त्रिपालको टहरा बनाएर बसिरहेका छन् । साउनमा आएको पहिरोले उनीहरूको घरखेत बगाएको थियो । अहिले चुरे गाउँपालिकाको वडा नं. ६ र ७ का एक सय ६९ पीडित परिवार जंगलमा बसिरहेको पहिरोपीडित संघर्ष समितिका अध्यक्ष टीकाराम कार्कीले बताए । 

उनका अनुसार टहरमा बसिरहेकामध्ये ४० जना बालबालिका छन् । ‘न्यानो लुगा छैन । आगो बाल्नका लागि जंगलबाट दाउरा लिन पाएका छैनौँ,’ अध्यक्ष कार्कीले भने, ‘बालबालिकामा रुघाखोकी, झाडापखाला, ज्वरो, बान्ता आउनेजस्ता समस्या देखिन थालेका छन् । बुढापाका पनि चिसोले समस्यामा छन् ।’ अहिले १५ बालबालिका बिरामी रहेका उनले बताए । 

बाक्लो हुस्सु लागेको दिन त्रिपाल भिजेर शीत भित्र चुहिन्छ । छेउछाउबाट छिर्ने चिसो हावाले राति सुत्न सक्ने अवस्था नरहेको उनीहरूले बताएका छन् । आर्थिक रूपमा विपन्न परिवार भएकाले न्यानो लुगाको पनि कमी छ । कतिले बिरामी भएर पनि उपचार गर्न सकेका छैनन् । गाउँबाट तल झर्दा बोकेर ल्याएको अन्न सकिएपछि उनीहरूलाई छाक टार्नसमेत समस्या भएको छ । 

छाक टार्नै समस्या भएकाले बिरामी बालबालिकाको उपचार गर्न नसकेको चुरे– ६ का मने बुढाले बताए । पीडितले जंगलमा पानीको व्यवस्था नहुँदा खोलाको पानी पिउने गरेका छन् । ‘जंगलबाट दाउरा ल्याउन पाएका छैनौँ । छेउछाउको बस्तीका बासिन्दाले यहाँबाट अन्यत्र जान दबाब दिइरहेका छन्,’ उनले भने, ‘घरखेत पहिरोले बगायो, सरकारले बेवास्ता ग¥यो, हामी कहाँ गएर बसौँ ?’

स्थानीय सरकारले पनि हेरेन
गौरीगंगाकै जंगलमा त्रिपालमुनि बसिरहेकी पार्वती कार्कीको चुरे– ६ बबेडीस्थित खेतबारी साउनमा आएको बाढीले बगाएको थियो । पहिरोको जोखिमले घरभित्र बस्ने अवस्था नभएपछि प्रहरीले उनको र गाउँमा पहिरोले विस्थापित अन्य परिवारलाई स्थानीय धौलापहर आधारभूत विद्यालयमा राखेको थियो । कोरोनाले विद्यालय बन्द रहेकाले चार महिना विद्यालयमै बसे पनि अहिले भने पढाइ सुरु भएपछि छोड्नुपरेको उनले बताइन् । 

विद्यालय खुल्न थालेपछि कतिपय पीडित परिवार भीमदत्त राजमार्गको छेउछाउ र गाउँको खुला ठाउँमा त्रिपाल टाँगेर बसेका थिए । चार–पाँच महिनासम्म पनि पुनस्र्थापनामा कुनै निकायले ध्यान नदिएपछि आफूहरू तराई झरेको चुरे–६ का पीडित सुर्जबहादुर कार्कीले बताए । ‘पढाइ हुन थालेपछि विद्यालयले अन्यत्र जाऊ भन्यो । राजमार्गमा बस्यौँ, त्यहाँ पनि बस्ने अवस्था नभएपछि तराई झरेका हौँ,’ कार्कीले भने, ‘तर, हाम्रो पीडा कसैले पनि बुझेन ।’ स्थानीय सरकारले पनि सहयोग नगरेको उनको गुनासो छ । 

अर्का बाढीपीडित अर्जुन कार्कीले साउनमा विस्थापित हुँदा गाउँपालिकाबाट त्रिपाल र केही खाद्यान्न पाए पनि त्यसपछि कुनै निकायबाट सहयोग नपाएको बताए । आफूहरू कष्टकर अवस्थामा रहे पनि स्थानीय सरकार सोध्नसमेत नआएको उनले गुनासो गरे । ‘स्थानीय सरकारले वास्ता गरेनन् ।

यति धेरै पीडित परिवार बिचल्ली हुँदा प्रदेश सरकार पनि सुतेको छ,’ अर्जुनले दुखेसो पोखे, ‘तीनवटा सरकार हुँदा पनि हाम्रा दुःख कसैले देखेन ।’ गाउँबाट राजमार्ग छेउछाउ र त्यहाँबाट तराई झरेपछि पीडित परिवारका विद्यालय जाने उमेरका बालबालिकाको पढाइ पनि रोकिएको छ । 

चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकाले विस्थापित परिवारको पुनर्स्थापनाका लागि प्रदेश र संघीय सरकारसँग पहल गरिरहेको बताए । तराई झरेकामध्ये केहीको घरवास भए पनि आधाजति परिवार पहिरोबाट पूर्ण विस्थापित भएका रहेका उनले बताए । गाउँपालिकाभरि पहिरोपीडित र जोखिममा रहेका दुई सय ११ परिवारलाई पुनस्र्थापनाको माग गर्दै असोजमै प्रदेश सरकारलाई ज्ञापनपत्रसमेत बुझाएको थियो । 

पुनस्र्थापना गर्न सकिने सम्भावित ठाउँसमेत उल्लेख गरेर प्रदेश सरकारलाई लिखित मागपत्र बुझाए पनि सुनुवाइ नभएको अध्यक्ष रोकाले बताए । संघ र प्रदेशसँग पुनर्स्थापनाबारे पनि छलफल भइरहेको बताउँदै उनले भने, ‘एक–दुई दिनमै खाद्यान्न र कपडा पनि वितरण गर्छौँ ।’