१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
टेकराज थामी काठमाडौं
२o८१ जेठ ६ आइतबार १५:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नागढुंगा चेकप्वाइन्टबाट स्रोत नखुलेको एक करोड ४७ लाख रुपैयाँ बरामद 

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १५:२३:oo

प्रहरीले अवैध रूपमा काठमाडौं ल्याइँदै गरेकाे एक करोड ४७ लाख रुपैयाँ बरामद गरेको छ । 

नियमित चेकजाँचका आधारमा प्रहरीले सोमबार बिहान ४:४७ बजे काठमाडौं भित्रिने मुख्य नाका नागढुंगा चेकप्वाइन्टबाट उक्त रकम बरामद गरेको हो । 

रकमसँगै प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको गोखरपुरका ३० वर्षीय अमितकुमार गुप्ता र कपिलवस्तु वाँणगंगा नगरपालिका– ४ का २२ वर्षीय संगम थारू छन् ।

उनीहरूले कपिलवस्तुबाट कारको टायर राख्ने ठाउँमा फल्स बटम बनाई उक्त रकम लुकाएर ल्याएका थिए । घटनाकाे अनुसन्धानमा संलग्न महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बरामद रकम नेपाल र भारतको सीमानाका हुँदै काठमाडौं ल्याइएको बताए ।

उनले भने, ‘शंकास्पद अवस्थामा ल्याइएको अवैध रकम बरामद भएको छ । प्रारम्भिक अनुसन्धानबाट बरामद रकम भारतबाट ल्याइएको देखिन्छ । कारको फल्स बटमभित्र लुकाई रकम ल्याइएको छ । त्यसो हुँदा यो अवैध हो । स्रोत पनि खुलेको छैन । घटना सम्बन्धमा थप अनुसन्धान हुँदै छ ।’

प्रारम्भिक अनुसन्धानबाट तस्करीमा प्रयोग हुने सुनकाे मूल्य तिर्न बरामद रकम ल्याइएको प्रहरी स्रोतको दाबी छ । परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले हुन्डी वा अवैध सुन कारोबारका लागि उक्त रकम ल्याएको हुन सक्ने बताए । 

उनले भने, ‘बरामद रकम अवैध धन्दाकै लागि ल्याएको हो । तीमध्ये सुन तस्करी वा हुन्डीमध्ये एक हुन सक्छ । अनुसन्धान जारी छ । तथ्य खुल्दै जाला ।’

प्रहरीले रकम ल्याउन प्रयोग भएको प्रदेश –३–०१ ०२३ च २२५९ नम्बरको कार बरामद गरेको छ । उक्त कार उनीहरूले भाडामा प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ । विशेष सूचनाका आधारमा रकम बरामद भएको प्रहरीको भनाइ छ । बरामद रकम तीन किलो सुनको मूल्यबराबरको छ ।

ad
ad