१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष १७ शुक्रबार
  • Saturday, 05 July, 2025
२o७७ पौष १७ शुक्रबार o८:५३:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

आठ जिल्लामा कोरोना संक्रमितको मृत्यु शून्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष १७ शुक्रबार o८:५३:oo

देशका ६९ जिल्लामा कोरोना संक्रमणबाट एक हजार आठ सय ५६ जनाको मृत्यु, सबैभन्दा बढी काठमाडौंमा चार सय ७० ले ज्यान गुमाए

कोरोना भाइरस (कोभिड १९) संक्रमण देशका सबै जिल्लामा फैलिएको भए पनि आठ जिल्लामा भने संक्रमितको मृत्यु भएको पाइएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बिहीबारसम्म देशका ६९ जिल्लामा कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समिर अधिकारीका अनुसार आठ जिल्लामा कोरोना संक्रमणबाट कसैले ज्यान गुमाउनुपरेको छैन । कोरोना संक्रमितको मृत्यु शून्य भएका जिल्लामा खोटाङ, ताप्लेजुङ, मनाङ, रुकुम (पूर्व), जाजरकोट, मुगु, सल्यान र डडेलधुरा रहेको प्रवक्ता डा. अधिकारीले बताए । 

कोरोनाबाट सबैभन्दा कम मृत्युदर कर्णाली र सुदूरपश्चिम प्रदेशमा छ । कर्णाली प्रदेशमा ६ हजार चार सय ४२ जना संक्रमित हुँदा २५ जनाको मृत्यु भएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा १४ हजार चार सय दुईजना संक्रमित हुँदा ६० जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । 

बिहीबारसम्म संक्रमितको संख्या दुई लाख ६० हजार पाँच सय ५३ पुगेको छ । जसमध्ये दुई लाख ५२ हजार तीन सय ५९ जना निको भएका छन् । अहिले सक्रिय संक्रमितको संख्या ६ हजार तीन सय ६८ रहेको छ ।

गण्डकी प्रदेशमा १७ हजार तीन सय ६५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये एक सय ८५ जनाको मृत्यु भएको छ । त्यस्तै, प्रदेश २ को मृत्युदर कम देखिएको छ । अहिलेसम्म २० हजार ६ सय ३८ जनामा संक्रमित पुष्टि भएको छ भने दुई सय १३ जनाको मृत्यु भएको छ । 

यसैगरी प्रदेश १ मा २९ हजार नौ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये दुई सय १५ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशमा २९ हजार एक सय आठजना कोरोना संक्रमित भएका छन् । संक्रमितहरूमध्ये दुई सय ३४ जनाको मृत्यु भएको छ । 

सबैभन्दा धेरै बागमती प्रदेशमा संक्रमित देखिएका छन् । बागमती प्रदेशमा बिहीबारसम्म एक लाख ४२ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये नौ सय २४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

कोरोनाका कारण अहिलेसम्म एक हजार आठ सय ५६ जनाको मृत्यु भएको छ । आठ जिल्लाको मृत्यु संख्या शून्य छ भने सात जिल्लामा धेरैको मृत्यु भएको छ । धेरै मृत्यु हुने काठमाडौंमा चार सय ७०, ललितपुरमा एक सय ४६, भक्तपुरमा एक सय चार, कास्कीमा एक सय, सुनसरीमा ७६, मोरङमा ६६ र रुपन्देहीमा ७२ जना रहेका छन् । 

प्रदेश २ मा सक्रिय संक्रमित न्यून
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार प्रदेश २ मा कोरोना संक्रमितको संख्या न्यून अवस्थामा पुगेको छ । बिहीबारको तथ्यांकअनुसार प्रदेश २ मा ३१ जना मात्रै संक्रमित छन् । सिराहा, सप्तरी र सर्लाहीमा १–१ जना छन् भने बारामा चार र रौतहटमा पाँचजना छन् । त्यस्तै पर्सामा ११ र धनुषामा आठजना मात्रै संक्रमित छन् । 

बिहीबारसम्म देशभर संक्रमितको संख्या दुई लाख ६० हजार पाँच सय ५३ पुगेको छ । जसमध्ये दुई लाख ५२ हजार तीन सय ५९ जना निको भएका छन् । अहिले सक्रिय संक्रमितको संख्या ६ हजार तीन सय ६८ रहेको छ ।