१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o९:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एयरलाइन्समा कोभिड–१९ को प्रभाव

सन् २०२० मा ७२ प्रतिशत यात्रु घट्दा, एयरलाइन्स कम्पनीले गुमाए १७ अर्ब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o९:३३:oo

सन् २०२० मा कोरोना महामारीका कारण हवाई यात्रुको संख्यामा भारी गिरावट आएको छ । महामारीमा सीमानाका बन्द हुँदा विमानस्थल र एयरलाइन्स ठप्प नै भयो । गत ११ चैतदेखि १७ भदौसम्म पूर्ण बन्द भएको हवाई उडान पछिल्लो समय खुले पनि यात्रुको चाप बढ्न सकेको छैन । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२० जनवरीदेखि नोभेम्बरसम्म नेपालमा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या गत वर्षको तुलनामा ७२ प्रतिशतले कमी आएको छ । यो अवधिमा अन्तर्राष्ट्रिय यात्रुको संख्या १० लाख ३९ हजार ३ सय २२ रहेको छ ।

अघिल्लो यो अवधिमा ४१ लाख ३८ हजार ४ सय ८२ यात्रुले सेवा लिएका थिए । त्यस्तै, आन्तरिक उडानतर्फ सन् २०१९ को तुलनामा ६४ प्रतिशतले यात्रु घटेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण्का महानिर्देशक राजन पोखरेलका अनुसार सन् २०२० को जनवरीदेखि नोभेम्बरसम्म १० लाख ३० हजार २ सय ९६ जनाले यात्रा गरेका छन् । जुन अघिल्लो वर्ष ३१ लाख ८८ हजार ४ सय ७९ जनाले यात्रा गरेका थिए । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को पछिल्लो तथ्यांकअनुसार सन् २०२० मा विश्वव्यापी रूपमा करिब ६० प्रतिशत हवाई सिट क्षमता अर्थात् करिब २ अर्ब ८९ करोड हवाई यात्रु घटेका छन् । जसले गर्दा संसारभरका वायुसेवाहरूले करिब ३ खर्ब ९१ अर्ब अमेरिकी डलर आम्दानी गुमाएका छन् । 

 नेपालका एयरलाइन्सले गुमाए १७ अर्ब  
कोभिड–१९ का कारण नेपालमा हवाई सेवा दिने कम्पनीहरूले १७ अर्बभन्दा बढी आम्दानी गुमाएका छन् ।  प्राधिकरणले प्रकाशन गरेको तथ्यांकअनुसार महामारीका कारण यात्रा अवरुद्ध भएकाले एयरलाइन्सहरूको आम्दानी १७ अर्ब ६४ करोड घटेको हो । प्राधिकरणका अनुसार कोरोनाका कारण नेपाल वायुसेवा निगमले अघिल्लो वर्षको तुलनामा ५ अर्ब न्यून आम्दानी गरेको छ । त्यस्तै, हिमालय एयरलाइन्सले २ अर्ब गुमाएको छ ।

आन्तरिक उडान गर्ने एयरलाइन्सहरूले १० अर्ब ६२ करोड आम्दानी गुमाएको महानिर्देशक पोखरेलले बताए । महामारीले नेपाल नागरिक उड्डयन प्राधिकरणको आम्दानी पनि यो वर्ष ८० प्रतिशतले घटेको छ । प्राधिकरणले सन् २०२० मा ५ अर्ब ६९ करोड आम्दानी घटेको छ । 

प्राधिकरणले आर्थिक वर्ष ०७६/७७ मा विमानस्थल विकास शुल्कबाहेक ८ अर्ब ३३ करोड १३ लाख आम्दानी गर्ने प्रक्षेपण गरेको थियो । तर, ३१.५५ प्रतिशतले घट्न गई ५ अर्ब ७० करोड ३१ लाख रुपैयाँ मात्रै आम्दानी गरेको थियो । विकास शुल्कतर्फ २ अर्ब २१ करोड २८ लाख रुपैयाँ प्रक्षेपण गरिएकोमा ६२ प्रतिशत घटेर ८४ करोड ६ लाख मात्रै आम्दानी भएको थियो । कोभिड–१९ का कारण चैतदेखि असारसम्मको आम्दानीमा मात्रै त्यो गिरावट आएको र चालू आर्थिक वर्षमा आम्दानी धेरै घट्ने अनुमान रहेको पोखरेल बताउँछन् । 

गत वर्ष पुँजीगत खर्चतर्फ ३४ अर्ब ४ करोड ३७ लाख र कार्य सञ्चालन खर्चतर्फ ४ अर्ब १८ करोड ८४ लाख गरी जम्मा ३८ अर्ब २३ करोड व्यय अनुमान गरेको थियो । तर, १८ अर्ब ३६ करोड ८३ लाख खर्च भएको छ । प्राधिकरणले चालू आर्थक वर्षमा २८ अर्ब ९२ करोड पुँजीगत खर्च र कार्य सञ्चालनतर्फ ३ अर्ब ६६ करोड ६६ लाख गरी ३२ अर्ब ५८ करोड ९३ लाख छुट्याएको छ । 

ad
ad