१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ पौष ३ शुक्रबार १९:१४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

महिला हत्या प्रकरण : लमजुङ प्रहरीद्वारा ३६ घन्टा नबित्दै दुई युवक पक्राउ

Read Time : > 1 मिनेट
२०७७ पौष ३ शुक्रबार १९:१४:००

जिल्ला प्रहरी कार्यालय लमजुङले हत्या अभियोगमा दुई युवकलाई पक्राउ गरेको छ । बुधबार बिहान अन्दाजी साढे ८ बजे सुन्दरबजार नगरपालिका– ४ चारघरे बस्ने ध्रुव भुजेलकी श्रीमती ३४ वर्षीया धनमाया भुजेलको हत्या अभियोगमा प्रहरीले दुई युवकलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । 

सुन्दरबजार नगरपालिका– ३ बस्ने २० वर्षीय सागर भुजेल र सोही ठाउँ बस्ने १९ वर्षीय विकास भुजेललाई घटनाको ३६ घन्टा नबित्दै पक्राउ गरिएको लमजुङका डिएसपी गंगाबहादुर थापाले बताए । प्रहरीले सागरलाई पोखरा र विकासलाई घरबाटै पक्राउ गरेको हो । घटना भएको केही समयमै महिलाको शव गोबरग्यासको ट्यांकीभित्र स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । 

प्रहरी चौकी दुराडाँडा र जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगाबहादुर थापासहितको टोली बुधबार बिहान साढे १० बजे नै घटनास्थलमा पुगेको थियो ।

यसकारण  हत्या
घटनाका मुख्य योजनाकार भनिएका सागर भुजेल र मृतकबीच अवैध सम्बन्ध भएकाले धनमायाको हत्या गरिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । मृतक र पक्राउ परेका सागरबीच केही महिना अगाडिदेखि शारीरिक सम्बन्ध हुने गरेको र मृतक गर्भवती छिन् भन्ने हल्ला सागर भुजेलले गाउँमा सुनेपछि धनमायालाई एक महिनाअगाडिबाट नै मार्ने सोच बनाई हत्या गरिएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

हत्या गर्नुभन्दा एक हप्ताअगाडि सागरले साथी विकासलाई मृतकसँगको अवैध सम्बन्धबारे बताएको र गर्भवती रहेकाले पछि अप्ठ्यारो पर्ने भन्दै हत्या गर्न साथ दिन आग्रह गरेअनुसार विकास भुजेल सहमत भई धनमायाको हत्या गरेका थिए । 

हत्यारा पहिचान गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट कुकुरसमेत ल्याई अनुसन्धान गरिएको थियो ।  मृतकका श्रीमान् बुधबार बिहानै कृषि फर्ममा काम गर्न गएको यकिन गरी दुवैजना मृतकको घरमा गई मृतक सुत्ने कोठामा प्रवेश गरी जाँतो र ढुंगाले अनुहार र टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको डिएसपी थापाले बताए । 

पक्राउ परेका सागर भुजेल र विकास भुजेललाई शुक्रबार नै जिल्ला अदालतबाट मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।