१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
डा. अरुणा उप्रेती
२o८१ बैशाख २२ शनिबार o९:१८:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

इन्टरनेट कुलत : प्रविधिको दुरुपयोग

Read Time : > 3 मिनेट
डा. अरुणा उप्रेती
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:१८:oo

शरीर र आँखा स्वस्थ रहे मात्र आनन्दको जीवन बिताउन सकिन्छ भनेर मोबाइल वा कम्प्युटरको लत नलागोस् भन्नेमा विचार गर्ने कि ?

‘मेरो दायाँ हात दुखेर चलाउन सकिनँ, गर्दनमा गाह्रो भइरहेको छ, कम्मर दुख्ने समस्या छ ।’ आजकल अफिसमा काम गर्ने, विद्यार्थीहरूले भनेको सुन्दा कतिपयलाई यस्ता युवालाई पनि किन यस्तो समस्या पर्ने होला भन्ने विचार आउँछ होला । तर, दिनरात कम्प्युटरमा काम गर्दा २५–३० वर्षका युवायुवतीको ढाड, घाँटी दुख्ने समस्या भएको हाडजोर्नी चिकित्सकहरूले अनुभव गर्न थालेका छन् । पहिले–पहिले प्रायः यस्तो समस्या ५० वर्षमाथिका व्यक्तिहरूलाई हुने गथ्र्यो, युवालाई नै यस्तो भएपछि यसको कारण के होला भनेर अनुसन्धान गर्दा एकै ठाउँमा एउटै आसनमा बस्ने, एउटै तरिकाले काम गरिरहने, हिँडडुल नगर्ने आदि कारणले कति व्यक्तिको त सामान्य अवस्थामा फर्कनै गाह्रो हुने गरी हाड खिइसकेकोे कुरा चिकित्सकहरू बताउँछन् । नेपालमा मात्र होइन, यो समस्या भारत, अमेरिकामा पनि छ । गर्दन दुख्ने, रिंगटा लाग्ने, टाउको भारी भएको समस्या हुने त अहिले अफिसमा काम गर्नेहरूलाई प्रायः हुन्छ नै । यस्ता व्यक्तिको दिनचर्या र जीवनशैलीबारे सोध्दा प्रायले कम्प्युटर र मोबाइलमा धेरै समय बिताउने, शारीरिक व्यायाम नगर्ने, एउटै आसनमा बसिरहने, हिँडडुल गर्न फुर्सद नहुने, कार्यक्रमले गर्दा व्यस्त रहने जस्ता निउँ देखाउँछन् ।

कार्यालयमा र घरमा बस्दा कम्प्युटर वा मोबाइल चलाएर बसिरहनेलाई ‘इन्टरनेट, मोबाइल कुलत’को समस्या मान्न सकिन्छ । कम्प्युटर मोबाइल चलाउँदा एउटै आसनमा बसेपछि देखा पर्ने समस्याहरूले अब बिस्तारै महामारीको रूप लिन थालेको छ । कोरोना महामारीको वेला यो समस्याले बालबालिकालाई पनि गाँज्न थालेको छ । कार्यालयमा काम गर्ने व्यक्तिहरूमा मात्र नभई गृहिणीमा पनि उमेर नपुग्दै यस्ता समस्या देखिन थालेका छन् । कतिले त यसको लतमा फसेर बालबालिकालाई खुवाउन, पिउन, स्याहार गर्न पनि बेवास्ता गर्छन् । सुरुमै शरीर दुख्यो र गर्दन दुख्यो भन्नेले धेरै हलचल नगरी धेरै बेर कम्प्युटरमा बस्ने वा मोबाइल चलाइरहँदा पछि समस्या बढ्दै जान्छ । सुरुमा गर्दनको मांसपेशी कक्रक्क हुन्छ, यसलाई पनि वास्ता नगरे दुख्न थाल्छ ।

त्यो पनि औषधि खाएर सहिन्छ अनि बिस्तारै घाँटी र ढाडको हड्डीको आकार परिवर्तन हुन थाल्छ । लगातार यसो हँुदा हड्डी खिइँदै नसामा असर पर्छ । कहिलेकाहीँ त निको हुन नसक्ने अवस्थामा पनि पुग्छ । यसैले चिकित्सकहरू कम्प्युटर मोबाइल हेर्ने कारण घाँटी कक्रक्क पर्न थाल्यो र दुखाइ सुरु भयो भने उपचार सोचिहाल्नु पर्छ भन्छन् । यो स्क्रिन कुलतको उपचार भनेको आराम, व्यायाम गर्नुका साथै मोबाइल र कम्प्युटर हेर्दा आसन परिवर्तन गरिरहनु हो । लगातार कम्प्युटरमा काम नगर्नु हो । यसलाई बेवास्ता गरिए बाँचुन्जेल दुख्ने समस्या हुने सम्भावना हुन्छ । 

यसरी उपचार गर्दा पनि सामान्य अवस्थामा फर्किन नसकिने गरी खिइएको हड्डीले भने बारम्बार दुःख दिने चाहिँ भइरहन्छ । त्यसैले यस्तो समस्याको रोकथाम गर्नु नै एक मात्र उपाय हो– कम्प्युटरको ‘कुलत’ नलगाउनु, शारीरिक सक्रियता र व्यायाम गर्नु । मानिसको गर्दनमा भएको मेरुदण्डका सातओटा हड्डी चलाइराख्नुपर्छ । बोल्दा, हिँड्दा, हाँस्दा हामीले थाहा नै नपाएर ती चलिरहन्छन्, तर निहुरेर मोबाइल चलाउँदा वा एउटै आसनमा बसेर कम्प्युटरमा काम गरिरहँदा मेरुदण्डको त्यो भाग चलिरहन पाउँदैन, त्यसलाई बोझ पर्छ । अनि बिस्तारै दुखाइ सुरु भइहाल्छ । मेरुदण्डले मस्तिष्कलाई स्नायु प्रणालीसँग जोड्ने भएकोले हड्डीमा समस्या उत्पन्न भए पूरै शरीरमा समस्या पर्छ ।

मेरुदण्डको समस्याले कसै–कसैलाई रिँगटा लाग्ने, कहिलेकाहीँ हात झमझम गर्ने हुन सक्छ । यो समस्या जटिल अवस्थामा पुगेको लक्षण हो । यस्तो भएपछि उपचारमा निकै समय लाग्ने र उपचार नै गर्दा पनि पूर्ण ठीक हुने सम्भावना कम हुन्छ । पहिला–पहिला पुरुषहरू ५० वर्ष पुगेपछि र महिलाहरूको महिनावारी सुक्ने वेला पछि देखा पर्ने यो समस्या अहिले जीवनशैली खराब भएकाले युवामा पनि देखा पर्न थालेको हो । पत्रुखाना पनि यसका लागि जिम्मेवार छ । किनभने, पत्रुखानामा धेरै नुन, चिनी हुन्छ । यस्तो खानाले शरीरमा क्याल्सियम कम गराउँछ, अनि हाड बन्ने एक प्रमुख तŒव क्याल्सियमको कमी भएपछि त हाड, मांसपेशीमा समस्या परिहाल्छ । पत्रुखाना खानेहरू प्रायः योगासन, व्यायाम गर्दैनन् । एकै ठाउँमा बसिरहन्छन् ।

यसबाट जोगिने कसरी त ? : जति व्यस्त भए पनि आफ्नो स्वास्थ्यलाई प्राथमिकता राख्नुपर्छ भन्ने आत्मसात् गर्ने, लामो समय कम्प्युटर वा मोबाइल नचलाउने, एउटै आसनमा बसेर लगातार काम नगर्ने, बालबालिकालाई पनि सानैदेखि यस्तो कुलत नलागोस् भनेर हिँड्न, खेल्न, उफ्रिन प्रोत्साहन गर्ने गर्नुपर्छ । कुर्सीमा बस्दा खुट्टा भुइँमा छोएको हुनुपर्छ । काम गर्दा सामान्य खालको कुर्सीमा ढाड सीधा राखेर बस्ने, लगातार निहुरेर काम नगर्ने, हरेक दिन बिहान र बेलुका घरमा घाँटी, ढाड, औँलाको उत्तम व्यायाम गर्ने बानी बसाल्नु राम्रो हुन्छ ।

‘अफिसमा लगातार कम्प्युटर र मोबाइल चलाउँदा ढाड र गर्दनमा मात्र नभई आँखामा पनि समस्या बढेको’ आँखाका डाक्टरहरूले भनेको सुनिन्छ । लामो समय कम्प्युटरमा हेरिरहँदा आँखामा सुक्खापन हुन्छ । ‘खासगरी अनेक खेल खेल्ने बच्चाहरूको टाढा नदेखिने समस्या (मायोपिया) बढ्दै गएको देखिन्छ । 

किन आँखा खराब ? : कम्प्युटरमा काम गर्दा लामो समयसम्म एकै ठाउँमा हेर्दा सामान्यतया आँखाको परेला धेरै झिम्काइन्न । त्यसले गर्दा आँखाका मांसपेशी थाक्छन् । सुक्खापन बढ्छ । अनि आँखा दुख्न सुरु हुन्छ । टाउको भारी हुन्छ, अनि काममा बाधा हुन्छ ।

दिनमा दुई घन्टाभन्दा बढी लगातार आराम, व्यायाम नगरेर कम्प्युटरमा काम गर्नेहरूलाई ‘कम्प्युटर भिजन सिन्ड्रोम’ हुने नेत्ररोगविज्ञ भन्छन् । त्यसैले लामो समयसम्म कम्प्युटरमा काम नगरिरहने, बीच–बीचमा आँखालाई आराम दिने अर्थात् कम्प्युटरमा बसेको ठाउँबाट उठेर हिँड्ने, आँखाको व्यायाम गर्ने गर्नु राम्रो हुन्छ । शरीर र आँखा स्वस्थ रहे मात्र आनन्दको जीवन बिताउन सकिन्छ भनेर मोबाइल वा कम्प्युटरको लत नलागोस् भन्नेमा विचार गर्ने कि ?
 

ad
ad