
पिसिआर परीक्षणका लागि संकलन गरिएको स्वाब सुर्खेतसम्म पुर्याउन आर्थिक अभाव हुँदा सल्यान अस्पतालमै थन्किएको छ । साढे सात हजारको अभावले तीन दिनअघि दिएको स्वाब अस्पतालमै थन्किएपछि स्थानीय तनावमा छन् ।
स्वास्थ्य सेवा कार्यालयमा संकलन गरिएको स्वाब कोरोना परीक्षण केन्द्र सुर्खेतसम्म पठाउन यातायातमा लाग्ने खर्च नहुँदा समस्या भएको स्वास्थ्य सेवा कार्यालयका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए । ‘अस्पतालमा स्वाब संकलन भएकै दिन सुर्खेत पठाउनुपर्ने हो, तर आर्थिक अभाव हुँदा तीन दिनदेखि यहीँ थन्किएको छ,’ उनले भने, ‘स्वाब दिन आएका बिरामीसँग पैसा माग्न पनि नमिल्ने, उता कार्यालयमा बजेट नहुँदा निकै समस्या भोग्नुपरेको छ ।’
प्रदेश सदुरमुकाम पठाउन स्वास्थ्यका लागि सक्षम प्रणाली नामक संस्थाले महिनाको दुईपटक यातायात खर्च व्यहोर्ने गरेको छ, तर त्यो रकम पनि पर्याप्त नभएको पुनको भनाइ छ । ‘एउटा गाडीले सुर्खेतसम्म पुगेको सात हजार पाँच सय रुपैयाँ लिन्छ, तर संस्थाले सात हजार मात्र पठाउने गर्छ । त्यसैले पटकपटक लग्न सकिएको छैन,’ उनले भने ।
आर्थिक अभाव हुँदा संकलन गरिएको स्वाब धेरै दिनसम्म अस्पतालमै राख्नुपर्ने बाध्यता रहेको पुनले बताए । जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रिएर नौ महिनादेखि थन्किएको छ । अर्को गाडीसमेत निकै पुरानो हुँदा चल्ने अवस्थामा नभएको अस्पतालले जनाएको छ ।
कतिपय अवस्थामा स्थानीय तहहरूसँग समन्वय गरेर स्वाब पठाउने गरिएको थियो । तर, पछिल्लोपटक सरकारले नै कोरोनाको लक्षण देखिएमा मात्रै स्वाब संकलन गर्नु भन्ने निर्देशन दिएपछि स्थानीय तहहरूले नियमित स्वाब संकलन गर्न छोडेको स्वास्थ्य सेवा कार्यालय प्रमुख दशरथ श्रेष्ठले बताए । जसले गर्दा जिल्ला अस्पताल आएका बिरामीको स्वास्थ्य कार्यालयले नै स्वाब संकलन गर्नु परिरहेको छ ।