Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
टेकराज थामी राजपुर रौतहट
तस्बिर : विनोद विष्ट/नयाँ पत्रिका
२०७७ मङ्सिर २५ बिहीबार ०२:३०:००
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

१३ वर्षअघि इँटाभट्टामा हालिएका युवाकी श्रीमतीले अदालतमा भनिन्, ‘खासमा बमकाण्ड नै भएको होइन’

सँगै मारिएका अर्का युवा त्रिलोकको परिवार भन्छ, ‘धम्की मात्र होइन, करोडका आश्वासन आए, तर पैसा र शक्तिभन्दा कानुन ठूलो हो भन्ने विश्वास छ’

Read Time : > 6 मिनेट
टेकराज थामी, राजपुर रौतहट
तस्बिर : विनोद विष्ट/नयाँ पत्रिका
२०७७ मङ्सिर २५ बिहीबार ०२:३०:००

रौतहट फरहदवा (हाल राजपुर– २) स्थित सेख इद्रिसको गोठमा २७ चैत ०६४ को साँझ बम बनाइँदै थियो । भोलिपल्ट अर्थात् २८ चैतका दिन मुलुकभर संविधानसभाको चुनाव थियो । मतदान केन्द्रवरपर विस्फोट गराएर मतदाता भगाउने र बुथ कब्जा गर्ने योजनाअनुसार बनिरहेको बम दुर्घटनावश अघिल्लो साँझ गोठमै विस्फोट भयो । 

बमका योजनाकार थिए कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताब आलम र उनका भाइ महताब । उनीहरूले बम बनाउन भारतको बिहारबाट कालिगढ झिकाएका थिए । कालिगढलाई साथ दिन बोलाइएका थिए स्थानीय युवा पिन्टु भनिने त्रिलोकप्रताप सिंह र मोहम्मद ओसी अख्तर । भारतमा साइन्स पढिरहेका पिन्टु र दुबईमा काम गर्ने ओसी केही समयअघि मात्र गाउँ फर्किएका थिए । 

तर, दुर्घटनावश अघिल्लो साँझ नै बम विस्फोट हुँदा गोठको छानो नै क्षतविक्षत भयो, बम बनाउने कलिगढ ठाउँको–ठाउँ ढले । नजिकै रहेका पिन्टु र ओसीलाई पनि बमको छर्राले लाग्यो । उनीहरू उपचार र उद्धारको पर्खाइमा थिए । तर, उपचार गर्दा घटना सार्वजनिक हुन्छ भन्ने डरले अफ्ताब र महताबले झन् डरलाग्दो योजना बनाए । अफ्ताबका सोहयोगीले बेहोस हुने इन्जेक्सन दिएपछि पिन्टु र ओसीलाई ट्रयाक्टरमा हालेर राति नै इँटाभट्टामा लगियो । अन्य मृतकसहित दुवै युवालाई पनि जिउँदै भट्टामा हालिएको प्रत्यक्षदर्शी तथा पीडित परिवारका सदस्यहरूले मौखिक तथा लिखित रूपमा उजुरी दिएका थिए । ‘त्यति मात्र होइन, युवाहरूको शरीर जिउँदै भट्टामा नछिरेपछि नजिकै दाउरा चिर्ने ठाउँबाट बन्चरो ल्याएर शरीर गिँडिएको थियो,’ परिवारका सदस्यहरूको उजुरीमै उल्लेख छ । 

मोहम्मद अफ्ताब आलम

तर, आफ्ना सहयोगी युवाहरूलाई जिउँदै भट्टामा हालेर खरानी बनाएपछि पनि १३ वर्षसम्म कानुनको पहुँचबाट जोगिँदै आएका मोहम्मद अफ्ताब आलम गत वर्ष मात्र पक्राउ परेका थिए । १३ वर्षको कानुनी लडाइँमा त्रिलोकका बाबु श्रीनारायण, ओसीको आमा रोक्सना खातुन र ओसीका ससुरा समसुल मियाँले गाउँ राजपुर, जिल्ला सदमुकाम गौर, तत्कालीन क्षेत्रीय सदरमुकाम हेटौँडा र सर्वोच्च अदालत काठमाडौंसम्म दर्जनौँपटक यात्रा गरेका छन् । यसबीचमा श्रीनारायण र समसुल मियाँले दर्जनौँ धम्की पाएका छन् । रोक्सनालाई त गोली हानेर हत्या गरिएको छ । 

१३ वर्षको लडाइँ औपचारिक रूपमा न्यायिक प्रक्रियामा प्रवेश गरेको एक वर्ष भएको छ । र, रौतहट जिल्ला अदालतमा मुद्दाको औपचारिक बहस १८ मंसिरबाट सुरु भएको छ । तर, १३ वर्षसम्म न्यायको संघर्षमा रहेको ओसी अख्तरको परिवारले भने ऐनबखतमा बयान बदलेको छ ।

ओसी अख्तरकी श्रीमती अमना खातुन जसले आफ्ना श्रीमान्को मृत्यु भएको कागजात बुझाएर मृत्युदर्ताको प्रमाणपत्र लिएकी थिइन् । अहिले दबाब र प्रभाव थेग्न नसकेर आफ्नो श्रीमान्को मृत्युबारे जानकारी नभएको बयान दिएकी छिन् । 

न्यायका लागि प्रहरी, समाज र सरकारलाई गुहार्दै आएकी अमना खातुनले नै बयान बदलेकी छिन् । ‘मेरा श्रीमान् ओसी अख्तर अहिले सम्पर्कमा छैनन्, तर बमकाण्डमा उनको मृत्यु भएको होइन । खासमा बमकाण्ड नै भएको होइन,’ उनले अदालतमा भनेकी छिन् ।

छोरीको बयानलाई बाबु समसुल मियाँले पनि सदर गरेका छन् । जब कि ज्वाइँ ओसीसहित घाइतेलाई बोरामा हालेर इँटाभट्टामा हालिएको आफूले प्रत्यक्ष देखेको भन्दै उनले विभिन्न अड्डा–अदालतमा न्यायका लागि गुहार गरेका थिए । 

तर, समसुलले अदालतमा भनेका छन्, ‘ओसी मेरा ज्वाइँ हुन् । विस्फोट भएको समय उनी सर्लाहीको लालबन्दीतिरथिए । किनमेलका लागि जाँदा मैले उनलाई उतै देखेको थिएँ ।’ बाबु–छोरी दुवैले यसअघि प्रहरी र सरकारी वकिलको कार्यालयले जबरजस्ती कागज गर्न लगाएको र त्यो कागजमा के लेखिएको छ भन्ने आपूmलाई थाहा नभएको बताएका छन् । ओसी अख्तरको मृत्यु भएको भन्ने अहिलेसम्म आफूलाई जानकारी नभएको पनि उनीहरूको भनाइ छ ।

सरकारी कार्यालयमा रहेको अभिलेख र स्थानीय पञ्जिकाधिकारीले जारी गरेको अभिलेखअनुसार ओसीको मृत्यु २७ चैत ०६४ मा नै भएको हो । आफ्ना श्रीमान्को मृत्यु भएको भन्दै अमनाले दिएको सूचनाअनुसार स्थानीय यमुना गाउँपालिका–४ ले ओसीको मृत्युदर्ता प्रमाणपत्र जारी गरेको हो । प्रमाणपत्रमा ओसीको मृत्यु फरहदवामा नै भएको उल्लेख छ । तर, अमनाले अहिले अदालतमा बयान दिँदै श्रीमान्को मृत्युदर्ताको प्रमाणपत्र आफूले नबनाएको दाबी गरेकी छिन् । मृत्युदर्ताको प्रमाणपत्र सासूले बनाएकोले त्यस विषयमा आफूलाई जानकारी नभएको उनको भनाइ छ । तर, मृत्युदर्ता प्रमाणपत्रमा मृत्युको सूचना दिने व्यक्तिमा अमनाकै नाम छ । त्यति मात्र होइन, यो प्रमाणपत्र १६ पुस ०७४ मा मात्र जारी भएको छ । जब कि उनकी सासूको हत्या १० माघ ०६७ मा नै भइसकेको थियो । 

ओसीको मृत्युदर्ताको प्रमाणपत्र लिन अमनालाई उनकै बुबा समसुलले सघाएका थिए । पञ्जिकाधिकारी कार्यालयमा छोरीलाई लिएर समसुल आफैँ गएका थिए । तर, अमना र उनका बुबा समसुलले अहिले ओसीको मृत्यु नभएको जिकिर गर्दै अदालतमा बयान दिएका छन् । जब कि छोराका लागि न्यायको लडाइँ लड्दै आएकी आमा रोक्सनाको पनि हत्या भएको छ । 

‘अमना र समसुलले प्रहरी, सरकारी वलिक कार्यालय र मिडियामा पहिले जुन बयान दिएका थिए, त्यसको ठीकविपरीत अदालतमा बयान दिएका छन् । बाबु–छोरीले ओसी अहिले पनि वैदेशिक रोजगारीमा रहेको बयान दिएका छन्,’ पीडित परिवारका तर्फबाट मुद्दा लड्दै आएका अधिवक्ता पुष्पराज पौडेलले नयाँ पत्रिकासँग भने, ‘संवेदनशील घडीमा आएर उनीहरूले किन बयान फेरे ? रहस्यको विषय छ ।’ 

यस्तो जघन्य अपराधपछि सांसद बनेका मोहम्मद अफ्ताब आलम ०६७ मा मन्त्री नै भएका थिए । उनी ०७४ को निर्वाचनमा पनि फेरि निर्वाचित भएका थिए । अहिले फौजदारी अभियोग लागेपछि मात्र उनी निलम्बित भएका छन् । 

आलम नख्खु जेलमा रहे पनि पैसा र प्रभावको भरमा उनको आतंक जिल्लामा अहिले पनि उस्तै छ । आतंक र प्रलोभनकै भरमा पीडितलाई प्रभावित पार्दै आएका उनी शक्तिका आधारमा १२ वर्षसम्म कानुनी कारबाहीबाट पनि बच्दै आएका थिए । 

‘अहिले पनि प्रलोभन र आतंकका भरमा उनले पीडित परिवारलाई बयान फेर्न लगाएको स्पष्ट छ,’ प्रहरी स्रोतको भनाइ छ । उता समसुलले छोरी अमनालाई केही महिनादेखि आफ्नै घरमै राख्दै आएका छन् । बाहिरका कसैसँग पनि भेट गर्न दिएका छैनन् । उनीहरूले आफ्नै पक्षमा मुद्दा लड्दै आएका अधिवक्ताहरूलाई पनि असहयोग गर्न थालेका छन् । 

उता ओसीसँगै मारिएका त्रिलोकको परिवार भने आफ्नो छोराको हत्या भएको बयानमा अडिग छ । त्रिलोककै घरमा पुगेको नयाँ पत्रिका टिमसँग ८० वर्षीया आमा कमलाले भनिन्, ‘हामीलाई पनि अनेक लोभ लिएर आए । मुद्दा कमजोर बनाउन हामीलाई एक करोड रुपैयाँसम्मको प्रलोभन दिए, तर हामी डगमगाएनौँ । हामीलाई पैसा होइन, न्याय चाहिएको छ ।’ 

ओसीसँगै मारिएका त्रिलोककी ८० वर्षीया आमा कमलासिंह राजपुत भन्छिन्, ‘आलमसँग पैसा छ, शक्ति छ । त्यसैको बलमा १२ वर्षसम्म बचेर हिँडे । बयान बदल्न लोभ र धम्की आएका छन्, हामीलाई पैसा होइन, न्याय चाहिएको छ ।’

ओसीको परिवारले डरले अथवा प्रलोभनले बयान फेरेको त्रिलोकको परिवारको भनाइ छ । ‘ओसी पनि हाम्रो छोरासँगै मारिएको हो, न्याय माग्दै हामी दुवै परिवार सँगै हिँडेका थियौँ । तर, अहिले ओसीकी श्रीमती र ससुराले बयान बदलेका छन् । यसका लागि उनीहरूलाई अफ्ताबका मान्छेले रुपैयाँ दिएका छन् भन्ने सुनिन्छ,’ कमलाले भनिन्, ‘अफ्ताब शक्तिशाली मान्छे हुन्, उनीसँग पैसा पनि छ । त्यसैका भरमा यत्रो वर्ष खुला रूपमा हिँडे । अहिले हामीले न्याय पाउने आशा जागेको वेला फेरि के हुने हो भन्ने भएको छ, तर पैसा र शक्तिभन्दा कानुन ठूलो हो भन्ने विश्वास पनि छ ।’

......

धम्की र प्रलोभनले बयान फेरिएको छ : पुष्पराज पौडेल, पीडिततर्फका अधिवक्ता

विस्फोटक पदार्थ तथा ज्यान मार्ने उद्योग अभियोगमा पूर्वमन्त्री अफ्ताब आलमसहित घटनामा संलग्न अभियुक्त पुर्पक्षका लागि जेल छन् । मुद्दाको विषयमा अहिले के भइरहेको छ ?

२७ चैत ०६४ को साँझ रौतहटको राजापुरमा भएको बम विस्फोट र हत्याकाण्डका मुख्य योजनाकारका रूपमा पूर्वमन्त्री अफ्ताब आलमसहित पक्राउ परेकाहरू पुर्पक्षका लागि जेलमा छन् । अहिले जिल्ला अदालत रौतहटमा १८ मंसिरबाट बहस सुरु भएको छ । यसका क्रममा मुद्दाका वादी र प्रतिवादी दुवैसँग बयान लिने क्रम जारी छ । 

घटनाका पीडित परिवार नै प्रभावित भएको सूचना छ । खासमा उनीहरूको बयान कसरी बदलियो ?

खासगरी ओसी अख्तरकी श्रीमती आस्ना खातुन, ससुरा समसुल मियाँ, त्रिलोकका बाबु श्रीनारायण सिंह, घटनाका घाइते गौरीशंकर राम चामार, प्रहरी निरीक्षक पप्पु नायक, असइ ईश्वरविक्रम साह र साक्षी शैलेन्द्र साहलगायतसँग बयान भएको छ । जसमा समसुल र आस्नाको बयान फेरिएको छ । प्रहरी र सरकारी वकिलको कार्यालयमा उनीहरूले दिएको बयान र अहिले अदालतमा दिएको बयान बाझिएको छ । 

अहिले उनीहरूको बयान के छ ?

प्रहरीसँगको बयानका क्रममा समसुल मियाँ र उनकी छोरी आस्ना खातुनले २७ चैत ०६४ को साँझ राजपुरमा भएको विस्फोटमै परी ओसी अख्तरको मृत्यु भएको बताएका थिए । सरकारी वकिलसँगको बयानमा उनीहरूले घटनाको विस्तृत जानकारीसहित त्यही बयान दिएका थिए । ओसी र त्रिलोकलाई जिउँदै इँटाभट्टामा हालिएको भन्दै उनीहरूले न्यायका लागि हारगुहार गर्दै आएका थिए । तर, अदालतमा भने ओसीको मृत्यु भएको छैन भनेका छन् । ओसी अझै पनि वैदेशिक रोजगारी क्रममा विदेशमा रहेको उनीहरूको भनाइ छ । तर, यो बयान झुटो हो । 

प्रहरी र अदालतमा त साक्षीको बयान त फेरिन सक्छन् नि ! तर, तपाईं यसैका आधारमा कसरी झुटो भन्न सक्नुहुन्छ ?

यसका केही आधार छन् । जस्तो ओसीकी श्रीमती आस्ना खातुनले नै श्रीमान्को मृत्यु भएको भनेर पेस गरेको कागजातको आधारमा यमुना गाउँपालिकाले ओसीको मृत्युदर्ताको प्रमाणपत्र झिकिएको छ । प्रमाणपत्रमा ओसीको मृत्यु २७ चैत ०६४ कै दिन राजपुरमा भनिएको छ । तर, उनै आस्ना अहिले आफ्नो श्रीमान् जिउँदो भएको र उनी वैदेशिक रोजगारमा विदेश रहेको बताउँदै आएकी छिन् । योभन्दा ठूलो आधार के हुन सक्छ ? अनि समसुल मियाँले आफ्ना ज्वाइँको हत्या भयो भनेर उजुरी दिएका थिए, न्यायका लागि काठमाडौं ओहोरदोहोर गर्दै आएका थिए । तर, उनले पनि ज्वाइँ मारिएका छैनन् भन्छन् भने त्यसलाई झुट भन्ने आधार छ । 

फैसला हुने चरणमा पुगेर बयान किन बदलियो ?

किन यस्तो भयो ? त्यसको कारण बुझ्न सकिएको छैन । तर, यो पक्का हो कि मुद्दाका मुख्य साक्षी ‘होस्टाइल’ भएका छन् । अनौपचारिक पक्षबाट बुझ्दा यसमा धम्की र प्रलोभनको प्रभाव छ । 

......

बिहारमा सत्तारुढ पार्टीका नेताको घरमा लुकेर बसेका थिए भाइ महताब आलम

रौतहट राजपुर फरहदवामा १३ वर्षअघि भएको विस्फोटका अर्का मुख्य योजनाकार महताब आलम पक्राउ परेका छन् । उनका दाजु तथा निलम्बित सांसद मोहम्मद अफ्ताब आलम भने गत वर्षदेखि नै जेलमा छन् । प्रत्येक १५ दिनमा ठाउँ फेरि हिँड्ने महताबले एक वर्षदेखि प्रहरीलाई अलमल पार्दै आएका थिए । तर, गत आइतबार राति १० बजे उनलाई बिहारको मोतिहारी–मुजफ्फरपुर क्षेत्रबाट गिरफ्तार गरिएको हो । प्रदेश २ प्रहरी कार्यालयबाट खटिएका विशेष प्रहरी टोली र भारतीय स्पेसल टास्क फोर्सको संयुक्त अप्रेसनमा उनी पक्राउ परेका हुन् । ५५ वर्षीय महताबलाई प्रहरीले बिहीबार रौतहट जिल्ला अदालतमा प्रस्तुत गर्दै छ । 

प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डिआइजी धीरतप्रताप सिंहले भने उनलाई नेपाल–भारतको सीमाक्षेत्रबाट पक्राउ गरिएको बताए । ‘प्रत्येक १५–१५ दिनमा ठाउँ फेरेर हिँड्ने गर्ने रहेछ । त्यसो हुँदा उसलाई पक्राउ गर्न सकिएन । तर, पछिल्लोपटक कुनै निश्चित ठाउँमा लुकेर बसेको विशेष सूचना आयो । सोही आधारमा पक्राउ गरिएको हो,’ डिआइजी सिंहले भने । सिंहका अनुसार महाताबले अभियोग सकारेका छन् । ‘हामीले उनीसँग बयान लियौँ । दाइ अफ्ताब आलमको निर्देशनपछि विस्फोटका सबै घटना मैले नै गरेको हुँ भनी उनले बयान दिएका छन् । पक्राउ परेको अन्य अभियुक्तसँगको सोधपुछबाट पनि त्यही बुझिन्छ,’ उनले भने । 

प्रहरीका स्रोतका अनुसार महताब केही दिनअघि मात्रै बिहार पूर्वी चम्पारणस्थित सेख सफुरिद्दिनको घरमा लुकिबसेका थिए । दाजु अफ्ताब आलमका ससुरा सफुरिद्दिन बिहारको सत्तारुढ जनता दल (युनाइटेड)का नेता हुन् । यसअघिका विधायक उनी गत महिना भएको निर्वाचनमा भने पराजित भएका थिए । ‘सफुरुद्दिन अहिले विधायक नरहेकाले उनको घरमा हस्तक्षेप गर्न नेपाल र भारतको प्रहरीलाई केही सहज भएको थियो,’ प्रहरी स्रोतले भन्यो ।