Skip This
ओली–प्रचण्ड संवादमा माधव नेपालको चरित्र चर्चा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर २५ बिहीबार
  • Saturday, 27 July, 2024
२o७७ मङ्सिर २५ बिहीबार o२:o१:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ओली–प्रचण्ड संवादमा माधव नेपालको चरित्र चर्चा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७७ मङ्सिर २५ बिहीबार o२:o१:oo

ओलीको प्रस्ताव : माधवजी धोकेबाज हुनुहुन्छ, सहकार्य तोड्नुस्

प्रचण्डको जवाफ : तपाईंले अहिल्यै धोका दिनुभयो, भविष्यको कुरा नगर्नुस् 

......

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटमा माधव नेपालको ‘चरित्र’लाई लिएर बहस भएको छ । पार्टी विवाद चुलिएर स्थायी कमिटी बैठकमा एजेन्डा बनेपछि संकट समाधानमा केन्द्रित रहेर बुधबार छलफलमा जुटेका प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच वरिष्ठ नेता नेपालको राजनीतिक चरित्रमाथि विवाद भएको थियो । 

भेटवार्तामा प्रधानमन्त्री ओलीले नयाँ समझदारीका लागि पहिले वरिष्ठ नेता नेपालसँगको सहकार्य तोड्न प्रचण्डसमक्ष प्रस्ताव राखेको स्रोतले जनाएको छ । ‘तपाईंले कति चिन्नुभएको छ, माधव नेपाल धेरै धोकेबाज छन्, तपाईंले पछि धोका खाएपछि चाल पाउनुहुनेछ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यसकारण उनीसँगको सहकार्य तोड्नुस्, तपाईं र म नयाँ समझदारीका साथ अगाडि बढौँ ।’ तर, ओलीले त्यस्तो नयाँ समझदारीबारे भने कुनै ठोस प्रस्ताव गरेका थिएनन् ।

अध्यक्ष प्रचण्डले भने आफू लामो समयदेखि नेपालसँग परिचित रहेको र पञ्चायत कालदेखि नै सहकार्य गरेको प्रसंग कोट्याएर नेपालको बचाउ गरेका थिए । प्रचण्डले तपाईंबाट अहिले धोका पाइसकेकाले भविष्यको चिन्ता नगर्न पनि ओलीलाई सुझाएका छन् । ‘मैले उहाँ (नेपाल)लाई चिनेको ३५ वर्ष भइसक्यो, तपाईं त त्यतिवेला जेलमै हुनुहुन्थ्यो, हामीले सँगसँगै मिलेर शिक्षक, विद्यार्थी र मजदुर आन्दोलन उठाउनका लागि योजना बनाएका थियौँ, अरू धेरै जान्दिनँ, तर उहाँ तपाईंजस्तो रिजिक्टचाहिँ हुनुहुन्न,’ प्रचण्डको जवाफ थियो, ‘तपाईंले पार्टी एकतादेखि धोका दिएको–दियै हुनुहुन्छ, भविष्यमा धोका हुन्छ भनेर उल्टै मलाई सम्झाउनुहुन्छ । यसो गर्नुको कुनै अर्थ छैन ।’

प्रचण्डले नेपालसँग व्यक्तिगत रूपमा नभई राजनीतिक–वैचारिक सहकार्य भएकाले सबै निर्णय पार्टी कमिटीले गर्ने दोहो¥याएपछि ओलीले आफूले स्थायी कमिटीको निर्णय नमान्ने चुनौती दिएका थिए । स्रोतका अनुसार ओलीले कारबाही गरेर देखाउनसमेत प्रचण्डलाई चुनौती दिएका छन् । ‘मेले भनेको मान्नुहुन्न भने तपाईंहरू सकेको गर्नुस्, म बैठकमा पनि आउन्न, निर्णय पनि मान्दिनँ, कारबाही गर्ने भए कारबाही गर्नुस् ।’

त्यसैबीच भेटवार्तामा ओलीले दुवै अध्यक्षको प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल हुन नसक्ने अडान दोहो¥याएका थिए । तर, प्रचण्डले भने पार्टीको आन्तरिक संकट समाधानको एजेन्डाअन्तर्गत दुवै अध्यक्षको प्रतिवेदनले छलफलका लागि प्रवेश पाइसकेको र सबै नेतालाई बाँडिएकाले प्रक्रियागत रूपमा छलफलमा अगाडि बढ्ने जवाफ फर्काएका थिए । तर, ओलीले भने त्यसरी प्रक्रियामा अगाडि बढाउन खोजे बहुमतको समीकरण आफ्नो पक्षमा हुन सक्ने संकेतसमेत गरेका थिए । ‘पार्टी एकताको आधार सहमतीय प्रक्रियालाई भत्काएर बहुमततिर जाने नै हो भने हेर्दै जानुहोला, अन्तिमसम्म कसको पक्षमा के हुन्छ,’ ओलीले जवाफ फर्काएका थिए ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा उनीहरूबीच करिब एक घन्टा भेटवार्ता भएको हो । पार्टीभित्र चुलिएको अन्तर्विरोध समाधानमै केन्द्रित रहेर सामान्य छलफल भए पनि कुनै नयाँ समझदारी नभएको उनीहरूको सचिवालयले जनाएको छ । ‘उहाँहरूबीचको भेटघाटमा सामान्य कुराकानी भएको छ, कुनै नयाँ समझदारी भएको छैन,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने । 

पार्टीभित्र आरोप–प्रत्यारोपसहितको राजनीतिक प्रतिवेदन र चिठीपत्र आदानप्रदानपछि ओली र प्रचण्डबीच लामो समयदेखि विषयकेन्द्रित छलफल हुन सकेको छैन । २५ कात्तिकमा करिब एक घन्टाको छलफलपछि उनीहरूबीच गत २० मंसिरमा बालुवाटारमा करिब आधा घन्टा कुराकानी भएको थियो । गत २१ मंसिरमा पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक संकट र समाधान एजेन्डा तय गर्दै दुवै अध्यक्षको प्रतिवेदन र पत्राचारहरू छलफलअघि स्थायी कमिटीका नेताहरूलाई अध्ययन गर्न वितरण गरिएको छ । बैठकमा अनुपस्थित रहेका प्रधानमन्त्री ओलीले प्रचण्डको प्रतिवेदन छलफलका लागि योग्य नभएको अडान कायम राख्दै स्थायी कमिटी नेताहरूलाई सम्बोधन गरेर लिखित पत्र पठाएका थिए । स्थायी कमिटीको अर्को बैठक २८ मंसिरमा बोलाइएको छ भने केन्द्रीय कमिटी बैठक ५ पुसका लागि तय भएको छ । 

माधवसँग पनि सहकार्यको प्रस्ताव गरेका थिए ओलीले

२३ कात्तिक : अबको महाधिवेशनबाट पार्टी अध्यक्ष वा चुनावबाट प्रधानमन्त्री बन्न नेपालसमक्ष विकल्पसहित ओलीले प्रस्ताव गरेका छन् । ‘मैले तपाईंलाई पार्टी अध्यक्ष बन्ने हो भने महाधिवेशन पर्खिनुस्, कि चुनावपछि प्रधानमन्त्री बन्नुस् पहिल्यैदेखि भन्दै आएको छु,’ नेपाललाई प्रधानमन्त्री ओलीको प्रस्ताव उद्धृत गर्दै एक नेताले भने, ‘अहिलेलाई मिलेर एकताका साथ अघि बढौँ, पार्टीभित्र देखिएका चुनौती सम्बोधन गर्दै अघि बढौँ ।’

११ कात्तिक : ओलीले अब नेकपालाई तपाईंले नेतृत्व गर्ने हो भन्दै पार्टी र सरकार सञ्चालनमा सहयोग गर्न प्रस्ताव गरेका थिए । ‘मुलुकको अवस्था, सरकार र पार्टी सञ्चालनमा सहयोग गर्नुप¥यो, अब नेकपालाई तपाईंले नै नेतृत्व गर्ने हो भन्नेबाहेक कमीकमजोरी महसुस गर्दै सच्चिएर अघि बढ्ने र पार्टीलाई एकताबद्ध बनाउने कुनै ठोस प्रस्ताव आएको थिएन,’ नेपालनिकट नेताहरूले भनेका थिए । 

४ कात्तिक : प्रचण्डसँग हिमचिम बढाएको गुनासोसहित सहकार्यको प्रस्ताव गरेका थिए । ‘लामो समय भइसक्यो तपाईंसँग भेटघाट हुन सकेन, तपाईंले पनि सम्पर्क गर्नुहुन्न, त्यसैले कुराकानी गरौँ, कतै कमजोरी छन् भने सच्याउने गरी अघि बढौँ भन्ने उद्देश्यले छलफल गर्न खोजेको हुँ, छलफलबाट पार्टीमा समस्या छन् भने पनि हल गरौँ, संवादलाई निरन्तरता दिँदै अघि बढौँ,’ ओलीको प्रस्ताव थियो । 

९ साउन : दल विभाजनसम्बन्धी अध्यादेशले पार्टी विवाद उत्कर्षमा हुँदा गत ९ साउनमा राति ९ बजेपछि वरिष्ठ नेता नेपाललाई गोप्य भेटवार्ताका लागि बालुवाटार बोलाएका थिए । पार्टीभित्रको अन्तर्विरोधको समाधान, महाधिवेशनको तयारीलगायत विषयमा लामै छलफल भए पनि ओलीले भेटवार्ताकै भोलिपल्ट महाधिवेशन संयोजक वा पार्टी अध्यक्षमा समर्थनका लागि प्रस्ताव आएको भन्दै प्रचार गराएकोमा नेपाल असन्तुष्ट बनेका थिए ।