१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी
२०७७ मङ्सिर २४ बुधबार १९:१८:००
Read Time : > 2 मिनेट
विश्व

सुरुको सय दिन कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउन खट्छु : बाइडेन

Read Time : > 2 मिनेट
एजेन्सी
२०७७ मङ्सिर २४ बुधबार १९:१८:००

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भए पनि जो बाइडेनले आधिकारिक रूपमा राष्ट्रपति पद सम्हालेका छैनन् । उनले अर्को आगामी २० जनवरीमा पद सम्हाल्दै छन् । यसवेलासम्म डोनाल्ड ट्रम्पले नै पद सम्हाल्नेछन् । तर, पनि बाइडेनले आफू ह्वाइटहाउस प्रवेश गरेको सय दिनसम्म ह्वाइटहाउसका कर्मचारी केवल कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा भ्याक्सिन उपलब्ध गराउने काममै खटिने घोषणा गरका छन् । यसका लागि बाइडेनले स्वास्थ निकायका पदाधिकारीसँग छलफल पनि अघि बढाइसकेको बताएका छन् । उनले भनेका छन्, ‘म अमेरिकी जनतालाई यो भन्न चाहन्छु कि मैले पद सम्हालेको सय दिनसम्म धैर्यता राख्नुहोस् ।’ 

अमेरिकी एजेन्सीहरूका अनुसार बिहीबार रातिसम्ममा फाइजर/बायोएनटेक भ्याक्सिनलाई अनुमति दिने सम्भावना छ । फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसन (फडिडिए)ले यसका लागि सबै परीक्षण गरी आपत्कालीन अवस्थामा भ्याक्सिन प्रयोगमा ल्याउन अनुमति दिन सक्छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र अमेरिका नै हो । यही कारण पनि सरुवा रोगका विज्ञ तथा डाक्टर एन्थोनी फउचीले अर्को साताबाट अमेरिकामा भ्याक्सिन प्रयोगमा आउन सक्ने संकेत गरेका छन् । राष्ट्रपति ट्रम्पले पनि ह्वाइटहाउसमा आयोजित कोभिड–१९ भ्याक्सिनसम्बन्धी कार्यक्रमा बुधबार सहभागिता जनाएका छन् । ट्रम्पले अमेरिकी जनतालाई भ्याक्सिन उपलब्ध गराउन स्वीकृति प्रदान गर्न कुनै समस्या नहुने प्रस्ट्याएका छन् । मध्य जनवरीसम्म दुई करोड ४० लाख अमेरिकीले भ्याक्सिन प्राप्त गर्नेमा ट्रम्प विश्वस्त छन् । 

वल्डोमिटरअनुसार अहिलेसम्म अमेरिकामा १५ लाख मानिस संक्रमित तथा दुई लाख ८५ हजारले कोरोनाबाट ज्यान गुमाइसकेका छन् । जोन्स हकिन्स विश्वविद्यालयले यो संख्या तुलनात्मक रूपमा धेरै भएको जनाएको छ । अहिले पनि अमेरिकाको विभिन्न राज्यमा अन्य राष्ट्रका तुलनामा संक्रमित संख्या अकासिएको विश्व विद्यालयको विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय बिदाको समयमा भ्रमण गर्ने बढेकाले अमेरिकामा एक महिनाभित्र संक्रमित ह्वात्तै बढेको विश्वविद्यालयको भनाइ छ । 

नवनिर्वाचित राष्ट्रपति बाइडेनले आफूले सक्दो अमेरिकी जनताको हकहितका लागि काम गर्ने पनि बताएका छन् । बाइडेन भन्छन्, ‘म अमेरिकी जनताको सहयोग गर्न यहाँ उपस्थिति भएको हुँ, मेरो सय दिनको कार्यकालमा भ्याक्सिनबाहेक अन्य केही पनि काम हुनेछैन ।’ ह्वाइटहाउसमा पूरै नयाँ टोली आउने भएकाले यसको रणनीति र योजनाबारे चासोका साथ सबै प्रतीक्षारत भएको उनले बताए । 

‘हामी नयाँ टोली हौँ, परम्परागत रूपमा ह्वाइटहाउसमा प्रवेश गरेको दिन नीति र विचार सार्वजनिक गर्ने परम्परा छ । तर, म पहिलो सय दिन केवल भ्याक्सिनमै केन्द्रित रहनेछु,’ उनले भने, ‘मेरो लक्ष्य १० करोड खोप अमेरिकी जनताले पाउन सकून् ।’ उनले ह्वाइटहाउसमा तीन महिनाको अवधिमा प्राप्त हुने नतिजाले मात्रै केही भन्न सकिने बताएका छन् । ‘म अहिले नै विश्वास वा प्रतिबद्धता जनाउन सक्दिनँ, तर सक्दो प्रयास गर्नेछु,’ बाइडेन भन्छन्, हामी सक्दो छिटो कामको थालनी गर्छौँ ।’ 

बाइडेनले आधिकारिक रूपमा अमेरिकामा कति भ्याक्सिन आवश्यक पर्छ भन्नेबारे तथ्यांक उपलब्ध नभएको पनि बताएका छन् । ‘मेरो जानकारीअनुसार अमेरिकामा कतिसम्म खोप लगाउने हो भन्ने डाटा नै छैन,’ उनले भने । उनले अघिल्लो साता ट्रम्प प्रशासनले निर्वाचित राष्ट्रपतिलाई केही पनि तथ्यांक उपलब्ध नगराएको खुलासा गरेका थिए । यसैबीच, बाइडेनले बालबालिकाहरूलाई स्कुलमा पठाउने विषयमा पनि प्राथमिकता दिने जनाए । ‘मेरो दोस्रो योजना नै घरमा रहेका ससाना नानीहरूलाई स्कुल पठाउनु हो,’ उनी भन्छन् ।

सय दिनमा सम्भव छ ?
बाइडेनले आफ्नो सय दिनको योजना बनाइसकेका छन् । तर, उनको यो योजना कति सफल हुनेछ वा छैन ? चासोको विषय बनेको छ । पक्कै पनि त्यति सहज नहोला । अमेरिकामा जुन रूपमा संक्रमित संख्या बढेको छ, त्यही अनुपातमा भ्याक्सिन लगाउन वा वितरण गर्न सहज छैन । बाइडेनको लक्ष्य भेटाउन सबैले चुनौतीको सामना गर्नुपर्ने स्पष्ट छ । अमेरिकाको ग्लोबल हेल्थ वेभ साइटका सिनियर राइटर हेलेन ब्रान्सवेलले ‘बाइडेनका योजना सम्भावित यथार्थ’ भनेका छन् । 
बाइडेनको योजना सफल गराउनमा राष्ट्रपति डोनाल्ड ट्रम्प कै मुख्य हात रहने हेलेन बताउँछन् । हेलेन भन्छन्, ‘यदि ट्रम्पले आफू ह्वाइटहाउसबाट बाहिर निस्किनुअघि सबै भ्याक्सिनसम्बन्धी काम गरेको खण्डमा बाइडेनको सय दिनको योजना सफल हुन्छ, यदि ट्रम्पले यससम्बन्धी खासै उपलब्धि हात पार्न नसके बाइडेन आप्mनो लक्ष्यमा चुक्नेछन् ।’ 

गत साता फाइजर तथा बायोएनटेक कम्पनीले भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरेका थिए । यी दुई कम्पनीले निर्माण गरिरहेको भ्याक्सिन प्रयोगमा ल्याउन खासै समस्या नहुने विज्ञहरू बताउँछन् । साथै, यसलाई अनुमति दिन पनि त्यति समस्या नहुने उनीहरूको भनाइ छ ।