मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ मङ्सिर २३ मंगलबार १०:३८:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

म्युजिक भिडियो : कलाकारको पारिश्रमिककै कारण महँगो

संगीतकर्मी भन्छन्– म्युजिक भिडियोमा लागत बढ्दा युट्युबकै भर पर्नुपर्ने नेपाली गीतमध्ये ९० प्रतिशत लगानी उठाउन असफल

Read Time : > 3 मिनेट
२०७७ मङ्सिर २३ मंगलबार १०:३८:००

म्युजिक भिडियोमा महँगो पारिश्रमिक लिने मोडेलहरूमा पर्छन्, पल शाह, वर्षा राउत, केकी अधिकारी, पुष्प खड्का, आकाश श्रेष्ठलगायत । सांगीतिक क्षेत्रमा हुने गरेका चर्चालाई आधार मान्ने हो भने यी कलाकार एक लाखभन्दा बढी पारिश्रमिक लिनेमा पर्छन् । यसमा सत्यता पनि रहेको म्युजिक भिडियो निर्देशक तथा पत्रकार रघु सापकोटा बताउँछन् । भन्छन्, ‘एक लाख त सामान्य भइसक्यो अहिले । दर्जनभन्दा बढी कलाकारले एक लाख रुपैयाँभन्दा बढी लिने गर्छन् ।’ 

कलाकारको पारिश्रमिककै कारण सामान्य म्युजिक भिडियोमा पनि लगानी ५–६ लाख हुने गर्छ । पछिल्लो समय म्युजिक भिडियोको लागत १५–२० लाख रुपैयाँसम्म पुग्ने गरेका छन् । हालै रिलिज भएको सत्यराज–स्वरूप आचार्यको ‘मैसाबले घाइते दिलमा आरा...’ बोलको म्युजिक भिडियोको बजेट १४ लाख पुगेको चर्चा छ । यसमा म्युजिक भिडियो निर्माणदेखि बुस्टसम्मको खर्च जोडिने गर्छ । तर, यत्तिका धेरै लगानी गरेर तयार भएको म्युजिक भिडियोले कमाउँछ चाहिँ कति ? 

डिजिटल बजारको रूपमा एक सय ५२ वटाभन्दा बढी प्लेटफर्म भए पनि नेपाली संगीतका लागि युट्युब नै मुख्य हो । तर, युट्युबकै भर पर्नुपर्ने नेपाली गीतहरूमध्ये ९० प्रतिशत गीतले लगानी उठाउन नसक्ने बताउँछन्, संगीतकार वसन्त सापकोटा । धेरै गीत लगानी उठाउन नसकेर टाट पल्टिने गरेको उनको भनाइ छ । भन्छन्, ‘यति रुपैयाँ खर्च गरेँ, यति उठ्ला भनेर लगानीकर्ताले सोचेको हुन्छ । तर, सोचेको कुरा वास्तविकतामा आइपुग्दा पूरा हुँदैन ।’

कलाकारको महँगो पारिश्रमिकले पनि लगानी बढाइदिएकाले म्युजिक भिडियोलाई युट्युबमार्फत लगानी उठाउन गाह्रो हुने गर्छ । कलाकारको पारिश्रमिकमा कुनै नियम छैन । जति पनि भनिदिन सक्ने संगीतकर्मीहरू बताउँछन् । त्यसले लामो समयदेखि नेपालमै रहेर व्यावसायिक संगीत सिर्जना गरिरहेका सर्जकहरू मारमा परेको पनि देखिन्छ ।

तर, कलाकारहरू आवश्यकताभन्दा बढी पारिश्रमिक किन लिन्छन् ? ‘मेरो कमाउने वेला यही हो । यही वेला कमाइसक्नुपर्छ । भोलि के होला होला भन्ने सोच्छन्,’ सापकोटा सुनाउँछन्, ‘यस्ता मान्छेका कारण पनि पारिश्रमिक न्यायसंगत नभएको हो । जसको मारमा हामीजस्ता संगीतकर्मी पर्छौं ।’

महँगो लागतका म्युजिक भिडियोहरू खास संगीतकार, गीतकार या गायक÷गायिकाले नबनाउने मत छ, गायक शिव परियारको । निरन्तर संगीतमा काम गर्छु भनेर आएकाहरूले त्यसरी हावामा पैसा पनि नफाल्ने बताउँछन् । साथै, आफूहरूले त्यसरी खर्च गर्न पनि नसक्ने धारणा राख्छन्, गायक परियार ।

उसो भए कसले गर्छन् त त्यति धेरै खर्च ? ‘पाँच लाखको ठाउँमा दश लाख, पन्ध्र लाख लगानी गरिदिने आइदिन्छन् । अनि भ्युज किनेर आत्मरतिमा रमाउनेहरू पनि हुन्छन् । यस्तो लगानी रहरेहरूको हो,’ परियार भन्छन्, ‘संगीतमै लागेका संगीतकर्मीले अस्वाभाविक खर्च गरेका छैनन् । पहिला नेपाली फिल्ममा मुर्गा फसाउने कुरो हुन्थ्यो, अहिले ठ्याक्कै संगीतमा पनि त्यही देखिएको छ ।’

गायक खेम सेन्चुरी आफ्नो गीत ‘सोचेझैँ जिन्दगी रै’नछ’ बोलको गीतबाट युट्युबबाटै नाफा कमाएको बताउँछन् । सेन्चुरी मात्र होइन, केही संगीतकर्मीले कमाएका पनि छन् । तर, त्यस्तो संख्या न्यून छ । अधिकांश त डुबेका छन् । प्रायः लगानी बढी गरेर डुबेका छन् । जसको मुख्य हिस्सा कलाकारको पारिश्रमिकमै जाने गर्छ ।

पारिश्रमिक महँगो हुनुमा कति लिने, कति दिने भनेर ठ्याक्क मापदण्ड नभएकाले पनि यस्तो अवस्था आएको बताउँछन्, सेन्चुरी । कसलाई र कुन मोडललाई खेलाउने भन्ने कुरा व्यक्तिगत छनोटको कुरा भए पनि कति पारिश्रमिक दिने या लिने भनेर मापदण्ड भएदेखि सजिलो हुने उनको भनाइ छ । ‘सिस्टम छैन, नियम कानुन छैन ।

सबैको मनोमानी छ,’ सेन्चुरी सुनाउँछन्, ‘यसलाई एउटा नीति नियमभित्र राख्न सके गज्जबै हुने थियो । तर, कति पारिश्रमिक दिने या लिने भन्ने कुरा लगानीकर्ताको कुरा पनि हो । लगानीकर्तालाई रिटर्नको चिन्ता छैन, नाम मात्र चाहिएको छ भने उसको स्वनिर्णयको कुरा पनि हो ।’

चलचित्र एवं म्युजिक भिडियो निर्देशक सुव्रतराज आचार्य अधिकांश लगानीकर्ताले आफ्नो लगानी फिर्ता होस् भन्ने अभिप्रायका साथ लगानी नगर्ने बताउँछन् । तर, भर त युट्युबकै छ । कोभिडका कारण कन्सर्ट, महोत्सव छैनन् । युट्युबबाहेक विकल्प छैन । तर, युट्युबमै लगानी झ्वाम्म भइरहेका छन् । जसको एउटा कारण कलाकारको पारिश्रमिक भन्ने मतमा सबै संगीतकर्मी सहमत छन् । 

निर्देशक आचार्य ०५५/५६ सालतिर पाँचदेखि दश हजार रुपैयाँमा म्युजिक भिडियो बनाउँथे । अहिले आएर सामान्य म्युजिक भिडियोको लागत ५–६ लाख पुगेको छ । यसरी ह्वात्तै बढ्नुमा पारिश्रमिकलगायत यावत् कुरालाई नियन्त्रण गर्ने निकाय नभएर पनि हो भन्ने बुझाइ छ, आचार्यको । ‘यसका साथै बुस्ट गर्नुपर्ने अवस्था हुन्छ । त्यहाँ पनि खर्च गर्नैपर्छ ।

पारिश्रमिक माग्नेले जति पनि मागिदिने, दिने पनि जति पनि दिने गर्छन् । कलाकारले जति मागोस्, लगानीकर्तालाई समस्या हुँदैन,’ आचार्य सुनाउँछन्, ‘यस्ता लगानीकर्ताले सबै बिगारेका छन् । एकजनाले गर्दा अरूलाई मारमा पारेका छन् । त्यसकारण पनि नियामक निकाय चाहिने देखिन्छ ।’

समस्या यति मात्र होइन । अनेक कारणले गर्दा निरन्तर काम गरिरहेका संगीतकर्मीहरू मारमा परिरहेका छन् । कार्टुन क्रु युट्युब च्यानल म्युजिक भिडियो धेरै सार्वजनिक हुने च्यानलमध्ये एक हो । यहाँ धेरै म्युजिक भिडियोको लाखौँ भ्युज गएका छन् । तर, गायक, संगीतकारभन्दा ज्यादा नाच्नेहरूलाई दर्शकले चिन्छन् ।

गायक, गीतकार, संगीतकार छायामा परेका हुन्छन् । कति गीत छन्, जुन गीतलाई कार्टुन क्रुको भनेर दर्शकले भनिदिन्छन् । दर्शकले यो हिसाबले हेरिदिएकाले पनि कलाकारले महँगो पारिश्रमिक माग्ने गरेको संगीतकार सापकोटाको बुझाइ छ । ‘पहिला पनि संगीतकार या गीतकारलाई खासै चिनिँदैन थियो । तर, अहिले त गायक तथा गायिका पनि चिनिन छाडे ।

फलानो मोडलको गीत, फलानो समूहको गीत भनेर भनिन्छ,’ सापकोटा सुनाउँछन्, ‘यसले असली स्रष्टाप्रति त अन्याय हुन्छ नै । साथै, मोडलहरूको मूल्य बढाइदिन्छ । जसको मारमा हामीजस्ता संगीतकर्मी पर्छौं । विदेशमा बसेर लगानी गर्नेहरूलाई त केको डर ?’

अहिले युट्युबमार्फत लगानी फिर्ता हुने सम्भावना जसरी कम हुँदै गएको छ, त्यसको कारक लगानी नै हो भन्ने मत सबैको छ । तर, लगानी कसको हो ? विदेशमा बसेर रहर गर्ने, नामको लोभ गर्नेहरूको लगानी भएको र कलाकारले जति माग्छन्, त्यति तिर्ने गरेकाले समस्या निम्तिएको बताउँछन् सापकोटा । भन्छन्, ‘उनीहरूलाई लगानी उठोस् भन्ने चाहना हुँदैन । नाम भए पुग्छ । उनीहरूकै कारण एउटा म्युजिक भिडियो त्यति महँगो बन्न पुग्छ ।’ यसलाई नियन्त्रण गर्न निर्देशक आचार्यले भनेझैँ नियामक निकाय चाहिने सापकोटाको पनि मत छ ।