
हिडेन ट्रेजरले बर्सेनि आयोजना गर्दै आएको ‘मिस नेपाल’ प्रतियोगिताको उपाधि यस वर्ष नम्रता श्रेष्ठले जितिन् । अघिल्ला वर्षहरूमा जस्तो चमकधमक यस वर्षको प्रतियोगितामा देखिएन । कोभिडकै कारण सामान्य तवरमा गरिएको मिस नेपालको घोषणामा किन्डरगार्डेन शिक्षक नम्रतालाई गत वर्षकी मिस नेपाल अनुष्का श्रेष्ठले ताज पहि¥याइदिएकी थिइन् ।
मिस नेपाल २०२० को ग्रान्ड फिनालेमा आयोजक संस्था हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले यस वर्ष कोभिडका कारण निर्मित कठिन परिस्थितिमा आफूहरूले मिस नेपाल आयोजना गर्न सफल भएको सगौरव बताए । देशभरबाट दुई सय ५० आवेदनबाट अन्तिम प्रतिस्पर्धामा छानिएको उनको भनाइ थियो । उनले भने, ‘छानिएका प्रतिस्पर्धीलाई तीन हप्ताको भर्चुअल ट्रेनिङ र दुई हप्ताको रेसिडेन्सियल ट्रेनिङ गराएर काम गरेका छौँ ।
यो वर्ष अलि भिन्न प्रकारले आयोजना भएको छ ।’ तर, राजकर्णिकारले भनेको भिन्न प्रकारको आयोजना ट्रेनिङ मात्र हो कि अरू संरचना पनि हो ? प्रश्न यहाँनेर हो । उनले थपेका छन्, ‘मिस नेपालमा नेपाल टुरिजम बोर्डको सहकार्यमा मिस टुरिजम थपिएको छ नयाँ विधा । मिस टुरिजमको विजेताले नेपालको टुरिजममा सहयोग गर्नेछ । साथै अन्य विजयीले नेपालको प्रतिनिधित्व गर्नेछन् ।’ तर, कस्तो खालको प्रतिनिधित्व हो ? केका लागि नेपालको प्रतिनिधित्व हो ?
सन् १९९४ मा रुवि राणाले पहिलोपटक उपाधि जितेदेखि २००१ मा बाहेक प्रत्येक वर्ष मिस नेपाल प्रतियोगिता हुँदै आएको छ । हरेक वर्ष नेपाल सुन्दरी भनेर घोषणा गरिएकै छ । नेपाल सुन्दरीले नेपालको प्रतिनिधित्व गर्छिन् भनिन्छ । के साँच्चिकै नेपालको प्रतिनिधित्व गर्छिन् त ?
कवि तथा लेखक सरिता तिवारी प्रश्न गर्छिन्, ‘के कारणले नेपालको प्रतिनिधित्व गर्छिन् मिस नेपालले ? जसलाई नेपाली समाज के हो भन्ने थाहा छैन, उसले नेपालको प्रतिनिधित्व कसरी गर्न सक्छ ?’ अहिलेसम्म जति मिस नेपाल भए, उनीहरूको प्रायः एउटै जवाफ हुने गर्छ, ‘समाज सेवा’ । तिवारीकै शब्दमा प्रतिभा, बौद्धिकता र देशसेवाको रेडिमेड उत्तर दिएर बत्तीस दन्त देखाउँदै सुन्दरी बनेका युवतीहरू कहाँ गए ?
उनीहरू मात्र शृंगारको साधनलाई बेचेर कसरी नाफा कमाउने भन्ने व्यापारिक प्रयोजनका लागि तयार पारिएको वस्तुबाहेक अर्थोक नभएको भनाइ छ तिवारीको । मिस नेपाललाई जसरी प्रचार गरे पनि, जसरी विज्ञापन गरे पनि यो बहुराष्ट्रिय कम्पनीको विज्ञापनबाहेक केही नभएको कवि तथा लेखक सीमा आभास बताउँछिन् । ‘बहुराष्ट्रिय कम्पनीले आफ्नो उत्पादनका लागि यिनीहरूलाई पनि वस्तु बनाएका हुन्छन् । त्यो उत्पादन गर्ने उद्देश्यबाहेक केही होइन प्रतियोगिता,’ आभास भन्छिन्, ‘त्यो साँघुरो घेरो हो । त्यसैले महिलाको प्रतिनिधित्व या देशको प्रतिनिधित्व गर्छन् भन्ने भ्रमलाई फाल्नुपर्छ हामीले ।’
अहिलेको पुस्ताका तिवारी र आभास मात्र होइनन्, सुन्दरी प्रतियोगिताको यसअघि पनि थुप्रैपटक विरोध भएका छन् । मिस नेपाल १९९८ मा कार्यक्रमस्थल बाहिर विरोध भएको थियो । तर, त्यसलाई दबाइयो । ०५७ मा सुन्दरी प्रतितियोगिताविरुद्ध बानेश्वरमा विरोध प्रदर्शन भएको थियो । पछि प्रहरीले लाठीचार्ज गरेर इसास नेपालका उपाध्यक्ष रुद्र खरेलको प्रहरीले खुट्टा नै भाँचिदिएको प्रसंग मार्क्सवादी चिन्तक निनु चापागाईंले आफ्नो पुस्तक ‘सन्दर्भ : संस्कृति र सांस्कृतिक रूपान्तरण’मा उल्लेख गरेका छन् । तर, पुँजीवादको अगाडि प्रहरी प्रशासन तथा राज्य नै घुँडा टेक्न तयार भएको या तयार हुने गरेको आसय चापागाईको पुस्तकमा भेटिन्छ ।
उनी आफ्नो पुस्तकमा लेख्छन्, ‘हिजोआज सुन्दरी प्रतियोगितामा जे भइरहेको छ, त्यो निश्चित आर्थिक–व्यापारिक हितबाट प्रेरित भएर गरिएको कार्य मात्र हो । यस्ता प्रतियोगिताले मानवीय सौन्दर्यको प्रतिनिधित्व गर्दैनन् र त्यतातिर यिनको चासो पनि छैन । यिनले यथार्थमा सौन्दर्यसम्बन्धी विकृत धारणाहरू उत्पन्न गर्ने र विस्तार गर्ने कार्य मात्र गर्दछन् ।’
सन् २०१८ मा मिस नेपाल भइन् शृंखला खतिवडा ।
उनको अन्तर्वार्ताका लागि हामीले कोसिस गर्यौँ । हिडेन ट्रेजरको अफिसमा फोन गर्यौँ । अफिसको एक कर्मचारीले मेलमा के–के सोध्ने विवरण पठाउनुस् भने । के–के सोध्ने स्पष्ट भएपछि मात्र अन्तर्वार्ता दिलाउन सकिने ती कर्मचारीको आसय थियो । भनिएबमोजिम प्रश्नहरू पनि पठाइयो । तर, कुनै रिप्लाई आएन । सायद मापदण्डभन्दा बाहिरको विषय भएकाले रिप्लाइ आएन ।
मिस नेपाल घोषणा गरिएपछि ती सुन्दरीले अन्तर्वार्ता पनि अफिसको नियम र नीतिभित्र रहेर दिनुपर्ने अवस्था छ । उनीहरू आफ्नो कुरा स्वतन्त्र ढंगले राख्ने र स्वनिर्णयको अधिकारबाटै वञ्चित हुने गरेका छन् । के बोल्ने, के लाउने, के खाने, कसरी प्रस्तुत हुने ? त्यसको पनि नियमभित्र बाँधिन विवश छन् । यस्ता विवशतालाई पुँजीवादले मानिसलाई कसरी वस्तु सोच्छ र वस्तु नै बनाएर व्यापार गरिछाड्छ, त्यसको नमुना उदाहरण भएको बताउँछिन् तिवारी ।
पूर्वमिस नेपाल शृंखला खतिवडा अछामको छाउघर गइन् । हेरिन्, बुझिन् र प्रतिक्रिया दिइन्, ‘एड्भेन्चरस’ । कुनै महिला मासिकस्रावको समयमा छाउघरमा रहनुपर्ने विदीर्ण अवस्थाको दृश्यावलोकन नेपाल सुन्दरीका लागि कसरी एड्भेन्चरस हुन्छ ? आफूसमान उमेरका महिलाहरू त्यसरी बस्न विवश हुनुपर्ने अवस्थाप्रति किन त्यस्तो प्रतिक्रिया आउँछ ? तिवारी भन्छिन्, ‘प्रश्न यो मात्र होइन । खतिवडा छाउघर गइन्, कस्तो रहेछ भनेर देखाइन् । तर, उनको उपस्थितिले त्यहाँको महिलालाई तात्विक अर्थ के राख्यो ?’
मिस नेपालमा सहभागिताका लागि मात्र पनि न्यूनतम सर्तहरू हुन्छन् । अविवाहित हुनुपर्ने, १९ देखि २६ वर्षसम्मको हुनुपर्ने । कम्मरदेखि छातीको नाप लिनुपर्ने । त्यसको साइज टिप्नुपर्ने । निश्चित उचाइ चाहिने । दाँत, कपालको रङ, खुट्टाको नङसम्म बेच्न तयार हुनुपर्ने ।
यस्ता सर्तहरू मञ्जुर छ भनेर सहीछाप गरेपछि कोही मिस नेपालको प्रतियोगी हुन लायक बन्छन् । यस्ता सय डेढ सयबीचमा हुने प्रतियोगिता र त्यसलाई गरिने प्रचारले मनोवैज्ञानिक रूपमा पनि धेरै असर गर्ने बताउँछन् चापागाईं । उनी लेख्छन्, ‘सुन्दरी प्रतियोगिताका लागि आयोजकद्वारा प्रचार गरिएका पूर्वानिर्धारित मापदण्डअनुरूप आफ्नो शारीरिक बनोट नभएका नारीहरूमा आफू सुन्दर नभएको र कुरूप भएको हीनभावना उत्पन्न हुन्छ र उनीहरू यसले पीडित हुन थाल्दछन् ।’
लेखक आभास थप्छिन्, ‘कति छन् यस्ता सर्त पूरा गर्न मान्ने महिलाहरू या त मापदण्डअनुसारका महिलाहरू कति छन् ? अनि बीस पचास महिलाको अडिसन लिएर नेपाल सुन्दरी भनिदिने ?’ हामीले लोकतान्त्रिक अभ्यास गरिरहेकाले यस्ता कुरालाई हटाउन नमिल्ने भए पनि धेरै विरोध गरेर चर्चामा पनि ल्याउन नहुने बताउँछिन् आभास । भन्छिन्, ‘पुँजीवादमा समर्थन मात्र होइन, विरोध पनि व्यापारका लागि उत्तिकै महत्वपूर्ण भइदिन्छ । त्यही भएर सकभर चासो नै दिनुहुन्न हामीले यस्ता विषयमा ।’
कवि प्रणिका कोयु यस्ता विषयमा कुनै चासो नै नरहेको बताउँछिन् । यसले आफ्नो जीवनमा केही असर नगर्ने भएकाले र यस्ता कर्मकाण्डको कुनै अर्थ नभएकाले चासो राख्नु नै बेकार भएको बताउँछिन् । भन्छिन्, ‘यो मासुको व्यापारलाई मेरो भन्नु केही छैन ।
यो सिर्फ मासुको व्यापार हो । त्योभन्दा ज्यादा केही होइन ।’ सुन्दरी प्रतियोगिताले पशु प्रदर्शनको रूप लिएको छ भनेर विरोध भएपछि विश्व सुन्दरी प्रतियोगिताबाट कुकुरले जसरी हिँड्नुपर्ने डग सो प्रतियोगिताबाट हटाइयो । तर, हटाउनुपर्ने कुरा धेरै रहेको बताउँछिन् तिवारी । भन्छिन्, ‘महिना दिन ट्रेनिङ दिएर, बोल्न सिकाएर देखाएको बौद्धिकताले कतिन्जेलसम्म काम गर्छ ? सौन्दर्य प्रतियोगिता आफैँमा खत्तम कुरा हो । यो प्रतियोगिता नै हटाउनुपर्छ ।’