बहुआयामिक सुविधासहित सञ्चालनमा आएको राइड सेयरिङ एप्लिकेसन एटेन्ड एपले आफूसँग आबद्ध सबै सवारीचालकको निःशुल्क कोभिड– १९ परीक्षण गराउने भएको छ । दुईपांग्रे एवं चारपांग्रे सवारीमा कार, जिप, एम्बुलेन्स, शववाहन, ट्याक्सीजस्ता विविध साधनलाई आफ्नो सेवाको सूचीमा राखेर गत मंगलबारबाट सुरु भएको एटेन्ड एपले आफूसँग आबद्ध हुने सबै चालकको कोभिड परीक्षण गराएर मात्रै सेवामा आबद्ध गराउने भएको हो ।
विध ल्याबको सहकार्यमा आइतबारदेखि नै चालकहरूको परीक्षण र एपमा दर्ता गराउन सुरु गरेको एटेन्ड एपका निर्देशक भीमकान्त भण्डारीले जानकारी दिए । सेवाग्राहीलाई संक्रमणमुक्त भएको विश्वास दिलाउने एवं सेवामा खटिने राइडरको मनोबल बढोस् भन्ने उद्देश्यले निःशुल्क कोभिड परीक्षण गराउन लागेको भण्डारीले बताए ।
चालकहरूको समयसमयमा निःशुल्क परीक्षण गराइरहने योजना रहेको भण्डारीले बताए । सो एपमा जोडिन चाहने राइडरहरूले कुपण्डोलस्थित होटेल हिमालयको छेउमा रहेको विध ल्याबमा सवारीसाधनसहित गएर कोभिड परीक्षण गराउन सक्नेछन् । एटेन्ड एप प्रयोगकर्ताले प्ले स्टोर वा एप स्टोरमा गएर एटेन्ड ड्राइभर डाउलोड गर्नुपर्नेछ । सोही ल्याबको प्रागणमा एटेन्ड एपका आधिकारिक व्यक्तिहरूलाई समेत नयाँ सदस्यताका लागि राख्ने र उनीहरूले नै कोभिड परीक्षण भएपछि एटेन्ड एपमा समेत रजिस्ट्रर गर्ने व्यवस्था मिलाइएको भण्डारी बताउँछन् ।
नेगेटिभ रिपोर्ट आएकालाई स्वास्थ्य सर्टिफिकेट जारी गरेपश्चात् मात्र राइडरले सोही दिनदेखि र पजिटिभ रिपोर्ट आएका चालकको १४ दिनपछि फेरि परीक्षण गरेर मात्रै एटेन्ड एपमा जोड्ने तयारी रहेको भण्डारीले बताए । एटेन्ड एपले जाडो महिनामा कोरोना परीक्षणको जोखिम बढी हुने भएकोले आफ्नो सञ्जाललाई विश्वास गरेर यात्रा गर्ने यात्रु र चालक दुवैको स्वास्थ्यलाई मध्यनजर गर्दै यस्तो योजना ल्याएको एप व्यवस्थापन पक्षको भनाइ छ ।