मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ १२ सोमबार
  • Monday, 25 January, 2021
२०७७ मङ्सिर १५ सोमबार ०९:२३:००
दृष्टिकोण प्रिन्ट संस्करण

पिसिआरको सिटी अंकका बारेमा बुझ्नैपर्ने तथ्य

थप अनुसन्धान नभइसकेको अवस्थामा सिटी अंक ठम्याउन सकिने कुनै पनि व्यक्तिलाई संक्रमित मान्नुपर्ने हुन्छ

२०७७ मङ्सिर १५ सोमबार ०९:२३:००

हामी नेपालमा अहिले कोरोना कहरको मध्यमा छौँ । भाग्यवश, कोरोनाका कारण अमेरिकी र युरोपेली मुलुकहरूजस्तो मानवीय क्षति हामीले भोग्नुपरेको छैन । पिसिआर जाँच गरेका व्यक्तिमा संक्रमणको संख्या अत्यन्त उच्च रहेकाले संक्रमण भने व्यापक रूपमा फैलिएको अनुमान लगाउन सकिन्छ ।

नेपालको मृत्युदर कम हुनुको कारण भने कोरोनाजस्तो भाइरसबाट पहिले नै नेपालीहरू संक्रमित भएर बलियो प्रतिरोधात्मक क्षमता विकास भएकाले हुन सक्छ । कोरोनाजस्तो लक्षण देखियो अथवा विदेश जानुपर्‍यो भने कोरोनाको पिसिआर परीक्षण गरिन्छ । पोजेटिभ–नेगेटिभबाहेक पोजेटिभ भएको खण्डमा सिटी भन्ने एउटा अंक दिने गरिन्छ, जसलाई आजकाल विभिन्न ढंगले परिभाषित गरिन्छ । 

नेपालका कतिपय स्थानमा सिटी अंकका आधारमा कति दिनको एकान्तवास बस्नेलगायत घरमा बस्ने कि अस्पताल जाने यकिन गर्ने गरिएको छ । सोही अंकका आधारमा रोग कति घातक छ भनेर पनि यकिन गर्ने गरिएको छ । उदाहरणका लागि एक ग्रामीण अस्पतालका अनुसार सिटी अंक १५ देखि १६ भएमा चार हप्ता, २० देखि २१ भएमा तीन हप्ता, २४ देखि २५ भएमा दुई हप्ता तथा ३० देखि ३१ भएमा एक हप्ता एकान्तवास बस्नुपर्ने हुन्छ । के यसरी सिटी अंकलाई अथ्र्याउन मिल्छ ? यो लेखमा यही प्रश्नलगायत सिटी अंकको विस्तृत जानकारी दिन खोजिएको छ । यसका लागि पिसिआर र आरटी पिसिआरले कसरी काम गर्छन् भन्ने बुझ्नु जरुरी हुन्छ ।

पिसिआर प्रविधि सुरुमा जीव कस्तो हुन्छ भन्ने तत्व डिएनएलाई सयौँ, हजारौँ गुना बढाउन आविष्कार भएको थियो । पिसिआर कुनै पनि जीवको डिएनएलाई बढाउन र त्यसका आधारमा जीवको पहिचान गर्न पनि प्रयोग हुन्छ । हरेक जीवको डिएनए अद्वितीय हुने हुनाले जीवको डिएनएका आधारमा जीव पहिचान गर्न सकिन्छ । कोरोना भाइरसमा डिएनएको सट्टा आरएनए हुने हुँदा पिसिआर गर्नुपूर्व आरएनएलाई डिएनएमा रूपान्तरण गर्नुपर्ने हुन्छ । त्यसरी आरएनएलाई डिएनएमा रूपान्तरण गरेर गरिने पिसिआरलाई नै आरटी पिसिआर भनिन्छ ।

हामीले मानवशरीरको नमुनामा कुनै पनि जीव छ कि छैन हेर्न पिसिआर गर्दा त्यस जीवको डिएनएको सानो खण्डलाई लक्षित गरिन्छ र उक्त खण्डलाई धेरै संख्यामा कपी गरिन्छ । पिसिआरका लागि तयार गरिएको मिश्रणमा मूलतः डिएनए उक्त डिएनएको सानो भागसँग बाँधिन सक्ने अर्को छोटो डिएनए जसलाई प्राइमर भनिन्छ, डिएनए बन्नका लागि चाहिने टुक्रा, डिएनए बनिसकेपछि प्रकाश दिन सक्ने एक प्रकारको तत्व र डिएनए बनाउने एन्जाइम हुन्छ । जब पिसिआर प्रक्रिया सुरु हुन्छ, प्राइमरले हाम्रो नमुनामा भएको डिएनएलाई बाँध्ने काम गर्छ र डिएनए बनाउने एन्जाइमले नमुनामा भएको डिएनएका आधारमा नयाँ डिएनएको त्यान्द्रो बनाउने काम सुरु गर्छ । 

यस प्रक्रियामा डिएनए हरेक साइकलमा ज्यामितीय अनुपातमा बढ्दै जान्छ । एक त्यान्द्रो डिएनएबाट दुई–दुईबाट चार–चारबाट १६ हुँदै जान्छ । हरेकपटक डिएनएको संख्या बढ्नेक्रमलाई एक पिसिआर साइकल भनिन्छ । यसरी डिएनएको संख्या बढ्दै जाने प्रक्रिया आँखाले नदेखिने हुँदा प्रक्रियालाई नियाल्न एकप्रकारको प्रकाश दिने तत्वको प्रयोग गरिन्छ र त्यही प्रकाश निस्केका आधारमा डिएनए बनेको पत्ता लगाइन्छ ।

जब डिएनएको संख्या बढ्दै जान्छ, प्रकाशको मात्रा पनि बढ्दै जान्छ । उक्त प्रकाशलाई पिसिआर मेसिनले पत्ता लगाउँछ र त्यसलाई ग्राफका रूपमा देखाउँछ । यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने हामीले प्रयोग गरेको प्राइमर हामीले पहिचान गर्न खोजेको जीवको डिएनएसँग मात्र बाँधिने हुँदा यदि नमुनामा हाम्रो जीवको डिएनए छैन भने प्राइमर पनि बाँधिदैन र प्रकाश पनि आउँदैन । यही आधारमा जीव भएको अथवा नभएको यकिन गरिन्छ । पिसिआरको धेरै प्रकारमध्ये यसरी प्रकाशको प्रयोग गरेर डिएनएको मात्रा आकलन गर्ने पिसिआरलाई क्युपिसिआर भनिन्छ ।

सैदान्तिक रूपमा क्युपिसिआर गर्दा निस्किने प्रकाश सुरुमा थोरै हुन्छ र डिएनएको संख्या बढ्दै जाँदा प्रकाश पनि बढ्दै जान्छ । तर, हामीले लिएको नमुनामा डिएनए नहुँदा अथवा डिएनएको संख्या नबढ्दा पनि प्रकाश आइरहेको हुन्छ, जसले गर्दा गलत नतिजा आउन सक्छ । त्यसकारणले क्युपिसिआरमा एउटा रेखा निर्धारण गरिन्छ, जुन रेखाले गर्दा प्रकाश डिएनएको बढोत्तरीले आएको वा अन्य कारणले आएको छुट्याउन मद्दत गर्छ । त्यही रेखालाई पिसिआर साइकलमा परिणत गरेपछि सिटी भ्यालु अर्थात् साइकल थ्रेसहोल्ड निस्किन्छ । यस अर्थमा सिटी अंक भनेको त्यो पिसिआर साइकल हो, जुनबाट नाप्न मिल्ने प्रकाश निक्लन थाल्छ । 

सामान्यतया, मानवीय नमुनामा धेरै भाइरस भए पिसिआरमा धेरै डिएनए हुन्छ, जसले गर्दा प्रकाश चाँडै निक्लन्छ र सिटी अंक थोरै हुन्छ । परीक्षण प्रयोगशालामा यो धारणा सही भए पनि अहिलेको क्लिनिकल अवस्थामा यो साँचो होइन, किनकि सिटी अंक डिएनएको संख्यामा मात्र नभई अन्य कारक तत्वजस्तै पिसिआर मेसिन, प्रयोग भएको इन्जाइम र प्राइमर, ल्याब र स्वाब लिने मान्छेमा समेत भर पर्छ ।

यस अर्थमा सिटी अंक सही निर्धारणका लागि पहिला उचित अनुसन्धानको दिशानिर्देशको जरुरत पर्छ । यसको अर्थ, एउटै मानवीय नमुनामा एउटा प्रयोगशालाबाट निक्लेको सिटी अंक अर्को प्रयोगशालाको अंकभन्दा फरक पर्छ । स्वाब लिने मान्छेले कहिले स्वाब निकाल्दा बढी नमुना निकाल्न सक्छ त कहिले कम । सोहीअनुसार आरएनएको मात्रा पनि फरक पर्न आउँछ । सिटी अंकको सामान्य व्याख्या गर्ने हो भने उही मात्रामा नमुना संकलन गर्नु पनि जरुरी हुन्छ । 

निश्चित मात्रामा रगतबाट पिसिआर गर्ने भएकाले भाइरसको मात्रा ठम्याउन सजिलो हुन्छ । कोभिडको सन्दर्भमा भाइरस छ भन्ने नतिजा मात्र नभएर कति छ भन्ने पनि निर्धारण गर्न सके अति उत्तम हुन्थ्यो ।

यसरी सिटी अंक निर्धारण भइसकेपछि पनि यसलाई रोगको जटिलतासँग सजिलै जोड्न सकिँदैन । मानौँ दुईवटा बेग्लाबेग्लै कोरोना संक्रमित व्यक्तिहरूको स्वाब नमुनाको परीक्षण गर्दा सिटी अंक उही ३१ आयो । सर्वप्रथम त माथि उल्लेखित कारणले यी दुई व्यक्तिमा बराबर भाइरस छ भन्न मिल्दैन । मानौँ स्वाब संकलन गर्ने विधि र पिसिआर गर्ने विधि ठ्याक्कै मिल्न गयो र दुवै व्यक्तिमा उत्तिकै भाइरस रहेछ ।

यस्तो अवस्थामा यी दुई व्यक्तिलाई अझै पनि समानान्तर रोग लाग्छ भन्न सकिन्न । हरेक व्यक्तिको प्रतिरोधात्मक क्षमता भिन्न हुने कारणले उत्ति नै भाइरस शरीरमा भए पनि हरेक व्यक्तिमा रोगको प्रकोप भिन्न हुन सक्छ । उही ३१ सिटी भएको एउटा व्यक्ति अत्यन्त जटिल अवस्थामा भेन्टिलेटरमा हुन सक्छ, अर्को व्यक्ति सिकिस्त भएर आइसियूमा हुन सक्छ, अर्को व्यक्ति साधारण रोगले घरमा एकान्तवासमा हुन सक्छ र अन्तिम व्यक्ति कुनै पनि लक्षणविहीन हुन सक्छ । 

उही सिटी अंकले रोगका विभिन्न स्वरूप दिन सक्ने विभिन्न देशका अनुसन्धानले देखाएको छ । बेलायतमा सिंघनायगमलगायतको टोलीले गरेको अनुसन्धानमा औसत सिटी अंक ३१ देखिएको थियो भने सोही सिटी अंकका बिरामी कोही सिकिस्त थिए भने कोही लक्षणविहीन । त्यस्तै, जापानका असाई तथा साथीहरूले गरेको एक अनुसन्धानमा न्युमोनिया लागेका कोभिडका बिरामीमा सिटी अंक १६ देखि ३२ सम्म थियो ।

अनलाइन पेपर खोज्दा सिटी अंक र रोगको जटिलता जोड्न खोज्ने पेपर एकदम राम्रो जोर्नीमा प्रकाशित भएको भेटिन्न । यसको कारण हामीले जुन पद्धतिबाट सिटी अंक निकाल्छाैँ, त्यसले भाइरसको मात्रा ठम्याउन नसक्ने भएकाले हुनुपर्छ । एड्सको उपचारमा पनि भाइरसको मात्रा नाप्नुपर्ने हुन्छ । त्यसमा भने निश्चित मात्रामा रगतबाट पिसिआर गर्ने भएकाले भाइरसको मात्रा ठम्याउन सजिलो हुन्छ । कोभिडको सन्दर्भमा भाइरस छ भन्ने नतिजा मात्र नभएर कति छ भन्ने पनि निर्धारण गर्न सके अति उत्तम हुन्थ्यो । यसका लागि सही मानवीकरणको आवश्यकता पर्छ । उत्ति पानी उही तरिकाले कुला गरी भाइरसको मात्रा नाप्नु एक तरिका हुन सक्छ ।

सटिक मात्रामा नभए पनि सिटी अंकले भाइरसको मात्राको अनुमान भने दिन्छ । यही अनुमानमा माथि भनिएका दुईवटा पेपरमा कुनै पनि व्यक्तिमा सिटी अंक नापेर रोगको प्रगति मापन गरिएको छ । रोग लाग्नुको दुई दिनअगाडिदेखि सात दिनसम्म औसत सिटि अंक २८ थियो । दोस्रो हप्तामा बढेर यो ३१–३२ पुग्यो र तेस्रो हप्तापछि ३२ भन्दा माथि पुग्यो । यस अनुसन्धानले रोग निको हुँदै जाँदा सिटी अंक बढ्दै जाने देखाउँछ । 

अन्त्यमा, पिसिआरबाट निकालिएको सिटी अंकको एउटा नतिजाले कुनै पनि व्यक्तिलाई कति गम्भीर रोग लाग्छ ठम्याएर भन्न सकिन्न । ठम्याउनका लागि जाँचमा थप मानवीकरणसहित अनुसन्धानको आवश्यकता छ । थप अनुसन्धान नभइसकेको अवस्थामा सिटी अंक ठम्याउन सकिने कुनै पनि व्यक्तिलाई संक्रमित मान्नुपर्ने हुन्छ । ३४ सिटी भएको व्यक्तिले अर्को नमुना नाप्दा मेरो सिटी ३० आउन सक्छ भन्ने बुझ्नुपर्छ । पिसिआरमा सिटी अंक देखिएको खण्डमा केही समय एकान्तमा बसेर नेगेटिभ नआउन्जेल सतर्क रहनु नै उचित होला ।


(लेखक काठमाडौं विश्वविद्यालय बायोटेक्नोलोजी  विभागमा आबद्ध छन्)