१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ६ आइतबार १७:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ

सरकार र निजी क्षेत्र दुवै अप्ठेरोमा छन्, सहकार्य गराैँ : अर्थमन्त्री पौडेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १७:o८:oo

अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी सरकारले काम गरेको बताएका छन् ।  

आइतबार नेपाल उद्योग परिसंघका पदाधिकारीहरूसँगको भेटमा अर्थमन्त्री पौडेलले देशको समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण भएकाले सरकार निजी क्षेत्रसँगै सहकार्य गरेर अगाडि बढ्ने बताए । 

उनले उत्पादन, रोजगारी र देशको समृद्धिमा निजी क्षेत्रको धेरै ठूलो भूमिका भएको र त्यसलाई सरकारले राम्रोसँग बुझेको पनि स्पष्ट पारे । 

अर्थमन्त्री पौडेलले पछिल्लो समय कोरोना संक्रमणको जोखिमका कारण निजी क्षेत्र र सरकार दुवै अप्ठेरो अवस्थामा परेको र दुवैले मिलेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिए । 

निजी क्षेत्रका जायज मागलाई सरकारले सुन्ने र समाधानका लागि सरकार तयार रहेको बताए । 

उद्योगी–व्यवसायीका समस्या समाधानका लागि सरकारले विषयवस्तुमा आधारित रहेर छलफल चलाउने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारे । 

अर्थमन्त्रीसँगको भेटमा उद्योगी व्यवसायीहरूले चालू आर्थिक वर्षको बजेटमार्फत घोषणा भएका कार्यक्रमहरूको कार्यान्वयन छिटो गर्ने व्यवस्था मिलाउन माग गरेका छन् । 

कोभिडको प्रभाव न्यूनीकरणका लागि बजेटले ल्याएका सहुलियतका कार्यक्रम कार्यान्वयनमा नआउँदा उद्योग सञ्चालनमा कठिनाइ भएको नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले बताए । 

उद्योगहरूलाई विद्युतको डिमान्ड चार्जमा छुट दिने व्यवस्था बजेटले गरे पनि अहिलेसम्म कार्यान्वयनमा नआउँदा उद्योग सञ्चालनमा कठिनाइ भएको पनि अध्यक्ष मोरले बताए । 

उद्योगीहरूले बजेटमार्फत बिजुलीको माग कम हुने समयको डिमान्ड शुल्कमा ५० प्रतिशत छुट हुने व्यवस्था गरे पनि कार्यान्वयनमा नआउँदा अहिले विद्युत् प्राधिकरणले उक्त छुट रकममा समेत जरिवाना लगाएर रकम असुल गर्न लागेको गुनासो गरेका छन् । 

यस्तै पुनर्कर्जा कोषको कार्यविधि बनाएर एक ऋणीलाई अधिकतम २० करोडको सीमा लगाइँदा ठूला उद्योगी–व्यवसायीलाई राहत नहुने भन्दै सीमा हटाउन माग गरेका छन् ।  

ad
ad