१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १६:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेसले सत्ताका लागि खुट्टा उचालेको छैन : प्रवक्ता शर्मा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:५५:oo

प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री केपी अ‍ोलीसँग सभापति शेरबहादुर देउवाको भेटलाई सत्ता साझेदारीसँग नजोड्न आग्रह गरेको छ । 

लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउन प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीच भेटघाट र संवाद हुनु सकारात्मक भएकाले सत्ता साझेदारीसँग नजोड्न कांग्रेसले आग्रह गरेको हो । 

पार्टीभित्र द्वन्द्व चलिरहेका वेला प्रधानमन्त्रीले विपक्षी दलका नेतासँग भेट गरेको विषयमा भइरहेको टिप्पणीलाई लक्षित गर्दै कांग्रेसले अहिले सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको दाबी गरेकाे छ ।

आइतबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएको थियो । सोमबार पत्रकारसँग कुरा गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीच हुने भेटघाटका निश्चित विषयवस्तु र कार्यसूची हुनैपर्छ भन्ने नभएको बताए । 

उनले भने, ‘सामान्यतया संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलको नेताको बीचमा भेटघाट हुनका लागि यो विषयवस्तु र त्यो विषयवस्तु भनेर सूचीका साथ हुनुपर्छ भन्ने कुरा उचितजस्तो लाग्दैन । लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउने हो भने निरन्तर भेटघाट र संवाद हुनु राम्रो कुरा हो ।’ 

उनले प्रधानमन्त्रीले सत्तामा सहभागी गराउने ‘अफर’ कांग्रेसलाई गरेको हो कि भन्ने आशंका नगर्न पनि आग्रह गरे । 

अहिले सरकारमा सहभागी हुने कांग्रेसको रुचिको विषय नभएको शर्माको भनाइ छ । जनताले पाँच वर्ष प्रतिपक्षी भूमिकामा बस्न आदेश दिएकाले सत्ताका लागि आफूहरू लालायित नभएको उनले बताए । उनले नेकपाभित्रको द्वन्द्वमा आफ्नो पार्टी पूरै निरपेक्ष रहेकोसमेत बताए ।

उनले भने, ‘पाँच वर्षका लागि प्रतिपक्षीमा रहने जनादेश  छ । हामी  सत्ताका लागि लालायित छैनौँ । नेकपाभित्रको द्वन्द्वमा हामी पूरै निरपेक्ष छौँ । उहाँहरूको कुनै प्रकारको जोर–घटाउ हुँदै गर्दा प्रतिपक्षी टाउको गणना गर्ने काम कतैबाट नहोस् भन्ने हो ।’ 
  
विगत अढाई वर्षको अवधिमा कुनै पनि महत्वपूर्ण निर्णय गर्दा पार्टी सभापति एक्लैले नगरेको स्मरण गराउँदै शर्माले पहिले पदाधिकारी तहमा छलफल गरेर केन्द्रीय कार्यसमितिको निर्णयअनुसार अगाडि बढ्ने बताए । 

भोलिको दिनमा नेकपा एउटै बाटोमा जान्छ भन्ने टुंगो नभएको उल्लेख गर्दै शर्माले भने, ‘उनीहरू एउटा निश्चित टुंगोमा नपुग्दासम्म कांग्रेसले टिप्पणी गरिराख्नुपर्ने, धेरै चासो राख्नुपर्ने र सत्तारुढ दलमा केही द्वन्द्व भयो भन्दैमा कांग्रेसले सत्ताका लागि खुट्टा उचालिहालेको वा अलिकति उज्यालो अनुहारका साथ सिंहदरबारतिर हेरेको नसोच्न आग्रह गर्दछु ।’

ad
ad