रुपन्देहीको सैनामैनामा क्रिकेट रंगशाला निर्माणको प्रक्रिया अगाडि बढाइएको छ ।
नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीका अनुसार १५ बिघा क्षेत्रफलमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने गरी काम अगाडि बढेको छ । रंगशाला नेपालकै ठूलो र नमुना हुने दाबी नगरपालिकाले गरेको छ ।
सैनामैना– ७ लम्टैयामा रहेको करिब १५ बिघा सार्वजनिक जग्गामा उक्त क्रिकेट रंगशाला निर्माण गर्न लागिएको हो । रंगशाला निमार्णको काम नगरपालिकाले अगाडि बढाएको कार्कीको भनाइ छ ।
शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट नजिक रहेको यस स्थान भारतसँग पनि नजिकको दूरीमा रहेको छ ।
लुम्बिनीबाट करिब १२ किलाेमिटर उत्तरतर्फ निर्माण हुन लागेको उक्त रंगशाला ९० यार्डको रहने नगरपालिकाले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गबाट दुई किलोमिटर दक्षिणतर्फ बन्न लागेको यस रंगशाला नेपालका मात्रै नभई भारतीय दर्शकलाई पनि आकर्षण गर्ने गरी निर्माण गरिने मेयर कार्कीले बताए ।
के–के काम भयो ?
यस रंगशाला निर्माणको काम गत वर्ष नै अगाडि बढाइएको थियो । गत वर्ष ३० लाखको बजेटमा विभिन्न काम गरिएको मेयर कार्कीले बताए ।
उनका अनुसार गत वर्ष माटो कटिङ, शौचालय र ड्रेसिङ रुम निर्माण गरिएको छ । त्यस्तै यस वर्ष रु. एक करोडको बजेटमा माटो कटिङ, तारबार र डिपिआर बनाएको छ ।
नगरपालिकाले उक्त रंगशालाको डिपिआर तयार गरी छलफल गरेको छ ।
निर्माण सम्पन्न हुन करिब दुई अर्ब १९ करोडको लागत प्रस्तुत गरिएको डिपिआरमा ९४ हजार आठ सय १७ वर्गमिटर क्षेत्रफल समेटिएको छ ।