१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ४ बिहीबार ११:४९:००
Read Time : > 4 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीले भने, ‘अब कि प्रचण्डजी हट्नुपर्छ, कि म हट्नुपर्छ’ (सचिवालय बैठकमा व्यक्त पूर्ण पाठसहित)

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ४ बिहीबार ११:४९:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो ।

जहाँ अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफ्नो मन्तव्य राखे । मन्तव्यमा अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका गम्भीर आरोप सत्य भए आफू हट्ने र सत्य नभएमा दाहाल हट्नुपर्ने उल्लेख गरेका छन् । 

यस्ताखाले गम्भीर आरोपबारे बसेको सचिवालय बैठकले छिनोफानो गर्नेसमेत उनले मन्तव्यमा उल्लेख गरेका छन् । 

अध्यक्ष ओलीले सचिवालय बैठकमा राखेको मन्तव्यको पूर्ण पाठ नयाँ पत्रिकालाई  प्राप्त भएको छ । 

अध्यक्ष ओलीले बैठकमा राखेको मन्तव्यको पूर्ण पाठ यस्तो छ –

पार्टी सचिवालय बैठकको अध्यक्षताका क्रममा सम्बोधन
३ मंसिर २०७७

कमरेडहरू !
आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ । म सबै कमरेडहरुरूलाई हार्दिक स्वागत गर्न चाहन्छु । मैले धेरै भनिरहनु पर्लाजस्तो लाग्दैन, बैठक धेरै जटिल मोडमा छ, पार्टी निकै जटिल मोडमा छ । सामान्य अवस्थाबाट पार्टी पनि गुज्रिराखेको छैन, हामी पनि गुज्रिराखेका छैनौँ ।

म एक–दुईवटा कुरा राखौँ । अस्तिको बैठकमा केही कुराहरू जस्तो कि बैठकको एजेन्डाको रूपमा होइन, पत्राचारका रूपमा, जस्तो कि पाँचजना साथीहरूले मलाई बैठक बोलाइयोस् भनेर पत्र दिनुभयो । त्यसमा गम्भीर आरोपहरूसमेत भएको हुनाले मैले बैठक बोलाउने कुरा आफ्नो ठाउँमा छ । तर, ती आरोपहरू अनुत्तरित हुन पनि सक्दैनथे । मैले त्यसको जवाफ किन दिनुपऱ्याे ? वास्तवमा ती आरोप सही थिएनन्, अनुपयुक्त, अनुचित, झुटा र भ्रमपूर्ण थिए, तिनको बारेमा मैले स्पष्ट पार्नु नै जरुरी थियो ।

त्यसकारण मैले व्यक्तिगत तवरमा नै अगुवाइ उहाँको भएको हुनाले अर्का अध्यक्षलाई पत्र लेखेँ । र, त्यस पत्रको जानकारी बोधार्थका रूपमा पत्र बुझाउन आउने साथीहरूलाई त दिएँ नै, अरू साथीहरूलाई पनि जानकारीका लागि दिएँ । त्यसको प्रत्युत्तरमा चाहिँ अर्को सात पेजको जवाफ अर्का अध्यक्षले लेख्नुभयो । त्यसको जवाफ मैले दिएको छैन । स्वाभाविक रूपमा त्यसको पनि उचित जवाफ दिनुपर्नेछ । 

त्यसबाहेक त्यसै दिन एउटा प्रस्ताव भनेर अर्का अध्यक्षले मलाई दिनुभयो, अरू सदस्यहरूलाई पनि बाँड्नुभयो । त्यो बैठकमा प्रस्तुत भएको प्रस्ताव होइन । बैठकमा प्रस्ताव प्रस्तुत गर्ने हाम्रो विधि भिन्नै छ । एउटा अध्यक्षलाई जानकारी नभईकन अर्का अध्यक्षले कुनै पनि प्रस्ताव ल्याउन मिल्दैन । त्यस्तो दिनुपर्ने पनि कुनै अवस्था आउला, तर अर्का अध्यक्षलाई जानकारी नै नदिईकन, अर्का अध्यक्षमाथि हमला, प्रहार, आलोचना, आरोप र अभियोगसहितको प्रस्तावका नाममा अचानक त्यो मलाई दिनुभयो ।

अरू साथीहरूलाई पनि वितरण गर्नुभयो । तर, त्यो बैठकमा प्रस्तुत भएको प्रस्ताव होइन । त्यसलाई विधिसम्मत प्रस्ताव भन्न मिल्दैन । तर, त्यस सम्बन्धमा कमिटीमा छलफल आवश्यक छ । त्यो प्रस्ताव भनेर जो वितरण भयो, त्यसपछि जुन अखबारबाजी गरियो । यसो गर्नु उचित भयो कि भएन ? केही मतलबको कुरा भएन । अखबारबाजी गर्नका लागि समेत त्यसो गरिएको थियो र त्यसमा केही साथीहरूको संलग्नता र सहमति भएको पनि जानकारी भयो । त्यसो भएर यो विषय धेरै गम्भीर छ ।

मैले अस्ति दुईजना कमरेडहरूलाई बोलाएर कुरा गरेँ, वामदेवजीसँग कुराकानी गरेँ  र भनेँ कि यसको छिनोफानो नभईकन, यी आरोपहरूसहित, यी आरोप बोकी–बोकीकन कोही पनि मानिस अध्यक्ष वा प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न त मिल्दैन । यी आरोपहरू या त त्यसबाट बदर हुनुपऱ्याे, तब प्रधानमन्त्री र अध्यक्षको जिम्मेवारीमा बस्न मिल्छ । त्यसो होइन भने सदर हुनुपऱ्याे र ती पदहरू र ती जिम्मेवारीबाट हट्नुपऱ्याे ।

यो हटाउने माग त पहिलेदेखि आएकै थियो । तर, यसपटक हट्ने आधारहरू यी हुन्, यसकारण हट्नुपर्छ भन्ने कुरा पनि आएको छ । पहिलेजस्तो यसमा सोझै प्रधानमन्त्रीबाट हट, अध्यक्षबाट हट भन्ने भाषा छैन । तर, त्याग गर्नुपर्छ भन्ने कोटेड भाषा रहेको छ । त्याग भन्ने शब्द त्यहाँ राखिएको छ । यस सम्बन्धमा पहिले छिनोफानो हुनुपर्छ । यो आरोप या त सदर ठहरिनुपऱ्याे, अनि प्रधानमन्त्री र अध्यक्ष हट्नुपऱ्याे । यो आरोप सही ठहरिँदैन भने यस्तो आरोप लगाउनेले यसको जिम्मेवारी लिनु पऱ्याे, यसको जवाफदेही लिनुपऱ्याे ।

अब बाहिर बजारमा त हल्ला सुन्छु, बहुमत छ, अल्पमत छ, के छ, कसको कस्तो छ भन्ने कुराहरू खुबै सुन्छु । मैले त्यस्तो फर्मल्ली देखेको छैन । फर्मल्ली नदेखेसम्म त्यसलाई बहुमत, अल्पमत मान्ने कुरा पनि भएन । अब यसमा जानुपर्ने हुन्छ । यसको मैले एउटा जवाफ तयार गरिसकेको छैन । यसमा छलफल गर्न, सिम्प्ली छलफल गर्न र छिनोफानो गर्नका लागि मात्रै बैठक हुन सक्छ । यदि यो सही छ भने एउटा हट्नुपर्छ, सही छैन भने अर्को हट्नुपर्छ ।

अर्को कुरा मैले एउटा भन्नुपर्छ, मलाई अध्यक्ष र प्रधानमन्त्री दुईवटैबाट हटाउने तयारी पनि गरिएको छ, हट्न भनिएको पनि छ । त्यसैगरी मैले अर्का अध्यक्षलाई हट्न भन्यो भने के हुन्छ ? विधि पद्धतिका कुरा के हुन्छन् ? संगठनात्मक सिद्धान्तका कुरा के हुन्छन् ? त्यसमा एकपटक विचार गर्ने हो कि ? किनभने मैले हट्न भनेँ भने त्यसले त अर्को वातावरण निर्माण गर्न सक्छ ।

अर्को कुरा के हो भने, अस्तिको प्रस्ताव नामक अभियोगपत्र आइसकेपछि यसअघिका हाम्रा सहमति, समझदारीहरूको त त्यसैले अन्त्यको घोषणा गऱ्याे । त्यो पत्र बन्नुभन्दा पछि पुराना सहमति कायमै छन् भन्ने कुरा रहेन । अब पुराना सहमति कायम रहेको अवस्था नरहेको हुनाले एउटा नयाँ निकास पार्टीले खोज्यो । हामीले एउटा नयाँ निकास खोज्नैपर्छ । म चाहन्छु मिलेर जाऔँ, मिलेर जान सकियोस्, पार्टी बचाउन सकियोस् र पार्टीलाई एकताबद्ध राख्न सकियोस् ।

म के भन्न चाहन्छु भने, मिलेर मात्रै पार्टी बचाउन सकिन्छ । लडेर पार्टी बच्दैन, जालझेल र तिकडम गरेर पार्टी बच्दैन । गुटबन्दी गरेर पार्टी बच्दैन । सबै कुराहरूमा पछि छलफल गरौँला । आजचाहिँ म त्यो लाञ्छनापत्र, जो मलाई दिइएको थियो, त्यस पत्रका सम्पूर्ण आरोपहरू, अभियोगहरू, लाञ्छनाहरु, तिरस्कारहरू, अपमानहरू सबैलाई खारेज गर्छु । र, यो मेरो राजनीतिक जीवन नै सिध्याउने गरी ल्याइएको आरोपपत्रलाई म पूर्ण रूपमा अस्वीकार गर्छु । त्यसको यथोचित जवाफ म लिखित रूपमा नै प्रस्तुत गर्नेछु ।

मैले त्यो पत्रले परिस्थिति अलिक गम्भीर मोडमा पुऱ्यायो भनेर माधव कमरेडलाई भनेँ । उहाँले अँ धम्क्याउने ? धम्क्याएर कोही डराउँदैन भन्नुभयो । अब डराउने खालको त यहाँ कोही छ जस्तो लाग्दैन । माधव कमरेड मात्रै नडराउने होइन, अरू पनि कोही डराउलान् जस्तो लाग्दैन । कोही पनि डराउँदैनन् । यस्तै, राजनीति गरेर आएका मान्छेहरू कोही डराउलान् जस्तो लाग्दैन । तर, सबै सुरैसुरा हुँदाखेरि सुरैचाहिँ बुद्धिमत्तापूर्ण कति हुन्छ र कति हुँदैन ? फेरि पनि विचार गर्न मेरो आग्रह छ । अहिलेचाहिँ अब बैठकमा जुन विषयमा छलफल हुनुपर्छ पहिले र निष्कर्ष निस्किनुपर्छ त्यसो नगरीकन अगाडि जान सकिँदैन । यही विषयमा छलफल गर्न म तयारीमा पुगिसकेको छैन, मेरो जवाफपत्र पनि तयार भइसकेको छैन ।

मैले त्यो पत्र मसिनो गरी हेर्नुपर्ने आवश्यकता छ । र, यत्ति हो कि मैले परिस्थिति अत्यन्त गम्भीर देखेको छु । मैले पहिलेदेखि भन्ने गरेको छु, यो धम्क्याएको होइन । तर, यस्तो हैरानी, यति हुर्मत, यति अपमान, यति घटिया लाञ्छनाहरू जीवनमा मैले पहिलोपल्ट यति गरिमामय ठाउँमा वितरण भएको भोग्दै छु । यसभन्दा अगाडि यसस्तरको भाषा, शैली र आरोप लगाइएको अनुभव कमिटीभित्र मेरो थिएन, शायद अरू कसैको थिएन । कहिल्यै कसैले यस्ता आरोपहरू लगाएको यस ढंगले राजनीति नै सिध्याउने मनसायका साथ उत्रिएको मैले पाएको थिइनँ । त्यो पत्र जुन मैले देखेको छु, त्यसमा जुन भाषा प्रयोग भएको छ, त्यसमा जुन आरोपहरू लगाइएका छन् र जुन लाञ्छनाहरू लगाइएका छन्, ती  हल्का ढंगले लगाइएको रूपमा मैले लिएको छैन । यो अवश्य नै अत्यन्त गम्भीरतापूर्वक लगाइएको छ । राजनीतिमा जुनसुकै कुरा आइपरे पनि सहन हुनुपर्ने नै हुन्छ ? म त जेलनेल, कुटाइ, यातना सबै भोगेर आएको छु । लाठी, बुट, जुत्ता मैले भोगेर आएको छु । ती सबै कुरा भोगिएको छ भने अँ, फेरि पनि कुनै परिस्थिति भोग्न मलाई कुनै कठिनाइ छैन । त्यो पत्रका प्रस्तोता र त्यसको पृष्ठभूमिमा रहेका साथीहरूले कुन बाटोबाट जाने च्वाइस गर्नुस् ।

अँ, त्यस्ता झुटा र निकृष्ट लाञ्छनाहरू मैले सहन्छु भन्ने कुरा नसोचे पनि हुन्छ । तसर्थ आज बैठक अगाडि बढ्न सक्ने देख्दिनँ । म त्यसमा बहस गर्न अहिले तयार छैन, किनभने मेरो तयारी नै पुगेको छैन, बुँदाहरू पुगेका छैनन् भन्ने कुराहरू त भनिसकेको छु । त्यसमा फेरि थप के भन्नु छ र ? त्यसमा अरूको पानीचित्र त देखेको छु नि ! त्यसमा त यसो हेर्दाखेरि पानीचित्र त आउँछ नि ! मैले कुरा गरेको छु  र सबै सुनेको छु नि ! अहिलेलाई यत्ति नै ।

धन्यवाद ।