ढुक्क भएर तिहारको टीका लगाउन आह्वान
नेपाल पञ्चांग निर्णायक समितिले मंसिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लागाउनुहुन्न भन्ने हल्लाकाे पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको छ ।
समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले विज्ञप्ति जारी गरी मंसिर १५ गतेसम्म चान्द्रमासअनुसार कात्तिक शुक्ल पक्ष नै रहेकाले ढुक्क भएर तिहारको टीका लगाउन आह्वान गरेका छन् ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले चान्द्रमासअनुसार नै चाडपर्व मनाउने गर्छन् । मंसिर १५ गतेसम्म कात्तिक शुक्ल पक्ष भएकैले विवाहको लग्न १६ गतेपछि मात्र दिइएको पनि उनले जानकारी दिए । यस वर्ष गत आश्विन महिनामा अधिकमास (मलमास) परेकाले चाडपर्व पछि सर्दा भाइटीका मंसिर १ गते परेको हो ।
भाइटीका दाजुभाइले दिदीबहिनीबाट र दिदीबहिनीले दाजुभाइबाट कुल परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर एकापसमा गच्छेअनुसार मीठा परिकार, उपहार एवं दक्षिणा दिएर आपसी सदभाव वृद्धि गर्ने पर्व भएकाले त्यसैअनुरूप मनाउन पनि समितिले आह्वान गरेको छ । रासस