१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
तस्बिर सौजन्य : गोलनेपाल डटकम
२o८१ बैशाख २४ सोमबार o६:५६:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपाली फुटबल टोली बंगलादेश प्रस्थान, वरीयता सुधार्ने र विश्वकप छनोट केन्द्रित

अहिलेसम्म नेपाल र बंगलादेशबीच १९ अन्तर्राष्ट्रिय खेल भएको छ । हेड टु हेडमा बंगलादेशले नेपाललाई १२ खेलमा हराएको छ 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:५६:oo

नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेश प्रस्थान गरेको छ । मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको हो । नेपालले २८ कात्तिक र २ मंसिरमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।  बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेलमा सहभागी हुँदा नेपाल दुई पक्षमा केन्द्रित हुनेछ । पहिलो, २०२२ को कतार एसियन विश्वकप छनोटमा सहभागी हुनुअघि आफूलाई तयारी पार्नु र अर्को फिफा वरीयताको स्थान सुधार गर्नु प्रमुख लक्ष्य रहेको प्रमुख प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए ।

कोरोना महामारीकै बीचमा बंगलादेशको प्रस्ताव स्वीकार गरी नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । ‘हामी दुई लक्ष्यका साथ जाँदै छौँ, पहिलो फिफा वरीयता सुधार गर्ने र विश्वकप छनोटको तयारी गर्नु हो,’ ढाका प्रस्थान गर्नुअघि नेपाली टोलीका स्ट्राइकर भरत खवासले भने, ‘लामो समयपछि मैदानमा अभ्यास र प्रतिस्पर्धा गर्न पाउँदा खुसी लागेको छ ।’ 

सिनियर खेलाडी संक्रमित हुँदा नयाँलाई मौका
खेलकुद परिषद्को स्वीकृतिपछि नेपाली खेलाडीले १३ कात्तिकमा दशरथ रंगशालामा प्रशिक्षण गर्न मौका पाए । एन्फाले प्रारम्भिक चरणमा ३४ खेलाडी अभ्यासका लागि बोलाएको थियो । योबीचमा सात सिनियर खेलाडी संक्रमित भए । जसकारण यसपटक टोलीमा ती खेलाडी छैनन् । मुख्य प्रशिक्षक महर्जनले आठ युवा नयाँ खेलाडीलाई समावेश गरेका छन् । अभ्यासमा देखाएको प्रदर्शनअनुसार केही खेलाडीले मौका पाउन सक्छन् । 

‘केही सिनियर अनुभव खेलाडी संक्रमित हुँदा अलि समस्यामा परेको छ, हामीले युवा खेलाडीलाई प्राथमिकतामा राखेका छौँ, केहीले राम्रो गरेका छन्, यसकारण उनीहरूले डेब्युको अवसर पाउने सम्भावना छ,’ महर्जनले भने, ‘यो फरक अवस्थामा नौलो अनुभव भइरहेको छ, छनोट गर्ने काम निकै गाह्रो छ, टिमगेम हो त्यति समस्या नहोला कि, यो समयमा कोरोनाले नै खेलाडी छनोट गरेको छ ।’ चोटका कारण एट्याकिङ मिडफिल्डर रोहित चन्द सहभागी हुन पाएनन् । नयाँ खेलाडीमा दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, दीप कार्की र छिरिङ गुरुङ राष्ट्रिय टोलीमा छनोट भएका युवा खेलाडी हुन् । 

हेड टु हेडमा बंगलादेश नेपालभन्दा अघि 
फिफा वरीयतामा नेपाल १७० तथा बंगलादेश १८७औँ स्थानमा छन् । नेपालभन्दा बंगलादेश १७ स्थान तल छ । नेपाल र बंगलादेशले अन्तिमपटक एक–आपसमा प्रतिस्पर्धा गरेको ०७५ को साफ च्याम्पियनसिप थियो । त्यसवेला नेपालले बंगलादेशलाई २–० ले हराएको थियो । त्यसयता यी दुई टोलीबीच खेल भएको छैन । अहिलेसम्म नेपाल र बंगलादेशबीच १९ अन्तर्राष्ट्रिय खेल भएको छ । हेड टु हेडमा बंगलादेशले नेपाललाई १२ खेलमा हराएको छ । नेपालले ६ जित निकाल्दा एक खेलमा बंगलादेशलाई बराबरीमा रोकेको छ । 

नेपाली टोलीले बंगलादेशमा कम्तीमा पाँच दिन क्वारेन्टाइनमा बस्नेछ । त्यसपछि एक साता प्रशिक्षण गर्नेछ । नेपाली टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षण समय नपुगेको बताएका छन् । कोभिडका कारण प्रशिक्षण गर्न ढिलो भएको उनको भनाइ छ । ‘हामीले अभ्यास गर्न समय कम पायौँ, यद्यपि यो एक साताको प्रशिक्षणलाई सकारात्मक रूपमै लिएको छु,’ चेम्जोङले भने, ‘लामो समयपछि खेलाडीहरू अभ्यासमा फर्कन पाउँदा खुसी छन् ।’

कप्तान चेम्जोङका अनुसार अभ्यास खेलका लागि एक महिनाको प्रशिक्षण आवश्यकता पर्छ । दुई साताको प्रशिक्षणले उच्च प्रदर्शन गर्न कठिन हुने उनको बुझाइ छ । ‘वास्तवमा हामीले एक महिनाअघि नै तयारी गर्नुपर्ने थियो, यो बीचमा विभिन्न समस्या र कोभिडको प्रभाव पर्‍यो, यो एक साताको प्रशिक्षण अलि कम भएको जस्तो लाग्छ, ठीकै छ अभ्यास गर्न खेलाडीले मौका पाए नि,’ उनले भने । 

प्रशिक्षक महर्जनले बंगलादेशमा हुने एक साताको प्रशिक्षणपछि खेलाडी फिट हुने विश्वास गर्छन् । ‘हामीले ढाकामा पूरा अभ्यास सक्छौँ, साथै त्यसवेलासम्म र म्याचअघि खेलाडी पूर्ण रूपले नै फिट हुने विश्वास लिएको छु,’ उनले भने । चार वर्षअघि महर्जनकै प्रशिक्षणमा नेपालले बंगबन्धु गोल्डकप जितेको थियो । नेपाली सिनियर टोलीले लगभग तीन दशकपछि अन्तर्राष्ट्रिय फुटलब उपाधि उचालेको महर्जनकै प्रशिक्षणमा बंगबन्धु गोल्डकप थियो । 

ad
ad