मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सागर चन्द काठमाडौं
२०७७ कार्तिक २० बिहीबार ०३:४१:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

साधारण बेड र आइसियूसमेत खाली, तर शिक्षणका लेखा अधिकृतले आफ्नै अस्पतालमा भर्ना नपाउँदा मृत्यु

सर्वसाधारणको अवस्था के होला ?

Read Time : > 4 मिनेट
सागर चन्द, काठमाडौं
२०७७ कार्तिक २० बिहीबार ०३:४१:००

राजाराम इटनी, लेखा अधिकृत शिक्षण अस्पताल । 

२५ वर्ष सेवा गरेकोमा उनलाई अस्पतालले सम्मानित गर्नुपर्ने हो । तर, आफैँले वर्षौँ पसिना बगाएको अस्पतालमा भर्ना नपाएर उनको मृत्यु भएको छ । अर्को विडम्बना ! उनलाई अस्पतालले भर्ना नगरेर फर्काउँदा अस्पतालमा साधारण १२ र भेन्टिलेटरसहितका दुई आइसियू बेड खाली थिए । 

५२ वर्षीय राजाराम दसैँ बिदामा धादिङ त्रिपुरासुन्दरीस्थित घर गएका थिए । ‘सानोमा निमोनिया बिग्रिएकोे थियो, सायद त्यही कारणले वेलावेलामा खोक्नुहुन्थ्यो । टीकाको भोलिपल्ट उहाँ मोटरसाइकलमा काठमाडौं फर्किनुभएको हो । चिसो लागेजस्तो थियो । तैपनि कार्यालय गइरहनुभएको थियो,’ परिवारजनले नयाँ पत्रिकासँग भने । 

सोमबार राति ११ बजेतिर राजाराम एक्कासि बेहोस भए । २५ वर्ष शिक्षण अस्पतालमा सेवा गरेका राजारामलाई कहाँ लग्ने भन्ने प्रश्नै भएन ।  ‘आफ्नै अस्पतालमा राम्रो उपचार हुन्छ भन्ने विश्वासमा हामीले त्यतै दगुरायौँ । एम्बुलेन्स मगाउँदा ढिलो हुन्छ भनेर ट्याक्सीमा कुदायौँ । करिब १२ बजे उहाँलाई शिक्षण अस्पताल पुर्‍यायौँ,’ परिवारजनको भनाइ छ ।

शिक्षण अस्पतालको इमर्जेन्सीमा पुर्‍याउना साथ डाक्टरहरूले आइसियूमा राख्नुपर्ने बताएका थिए । हुन्छ नि त भर्ना गरिहालौँ भन्दा जवाफ आयो– आइसियू खाली छैन । लौ न जसरी पनि बचाउनुपर्‍यो, उहाँ यही अस्प्तालको अधिकृत हो भनेर हारगुहार गर्दा पनि बेड छैन भन्ने जवाफ मात्र आइरह्यो । 

अत्तालिएका आफन्तले यत्रतत्र सबै अस्पतालमा फोन गरे । उनीहरूले सीतापाइलाको मनमोहन र शुभेक्षा अस्पताल, बाफलको यती अस्पताल, कलंकीको सहिद मेमोरियल अस्पतालमा सम्पर्क गरे । यी अस्पतालमा आइसियू छैन भन्ने जवाफ आयो । सहिद मेमोरियलले आइसियू छ, तर कोरोना परीक्षणको रिपोर्ट भए मात्रै भर्ना लिने बतायो । 

‘बिरामी बेहोस छ, हामीले पलपल गनिरहेका छौँ । अब कहाँबाट ल्याउनु पिसिआर ?’ परिवारजनले भने, ‘शिक्षण अस्पतालमै बसेर हामीले यता र उता हारगुहार लगायौँ । यही अस्पतालमै केही उपाय लाग्छ कि भनेर बिन्ती पनि गर्‍यौँ । तर, चार घन्टासम्म पनि केही लागेन ।’

अन्तिममा बुढानीलकण्ठ नगरपालिकाको चुन्निखेलस्थित करुणा अस्पतालमा आइसियू खाली छ भन्ने खबर आयो । साढे चार बजे उनलाई करुणा अस्पताल पुर्‍याइयो । ‘आइसियूमा भर्ना गराएपछि केही आशा जागेको थियो । तर, करिब दुई घन्टापछि साढे ६ बजेतिर डाक्टर बाहिर आएर भने, ‘सरी तपाईंहरूले निक्कै ढिला ल्याउनुभयो । उहाँलाई बचाउन सकिएन ।’

शिक्षण अस्पतालका दिवंगत लेखा अधिकृत राजाराम इटनी

करुणा अस्पतालका चिकित्सकहरूका अनुसार शरीरमा अक्सिजनको मात्र कम भएकोले राजाराम बेहोस भएका थिए । अक्सिजन अझै कम भएकोले मुटुको धड्कन पनि बन्द भयो र उनको मृत्यु भयो । शिक्षण अस्पतालमा आइसियूमा राखेर अक्सिजन दिएको भए राजारामलाई बचाउन सकिन्थ्यो भन्ने परिवारजनको विश्वास छ । 

लेखा अधिकृतले नै आफ्नै अस्पतालमा भर्ना पाएनन्, अरू बिरामीको अवस्था के होला ? राजारामको मृत्यु प्रकरणले यो गम्भीर प्रश्न उठाएको छ । शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले अस्पतालका लेखा अधिकृत इटनीले सोमबार राति बेड नपाएको विषयमा राति कसैले जानकारी नगराएको बताए । ‘उहाँलाई राति अस्पताल ल्याइएको र बेड नपाएको भन्ने हामीलाई जानकारी भएन । अस्पतालमा राम्रो समन्वय भएन, त्यसैले यति ठूलो दुःखद घटना भयो,’ उनले भने । 

शिक्षण अस्पतालका अधिकृतले नै बेड नपाएर मृत्यु भएकोले यो समाचार बाहिर आए पनि देशका विभिन्न अस्पतालमा अहिले यही अवस्था छ ।

देशभरका अस्पतालमा कोरोना संक्रमितका लागि छुट्याइएका आधाभन्दा धेरै आइसोलेसन बेड खाली भए पनि अस्पतालहरूले संक्रमितलाई ‘बेड खाली छैन’ भन्दै फिर्ता पठाइरहेको विषयमा नयाँ पत्रिकाले गत शुक्रबार कभरस्टोरी छापेको थियो । जनस्वास्थ्यमाथि गम्भीर खेलबाड भइरहँदा स्वास्थ्य मन्त्रालय भने मूकदर्शक भनेर आलोचना भएपछि स्वास्थ्य मन्त्रालययले अनुगमन समिति गठन गरेको थियो । मन्त्रालयको अनुमगन टोलीले शिक्षण अस्पतालमा दुई आइसियू र १२ साधारण बेड खाली भएको रिपोर्ट संकलन गरेकै दिन सोही अस्पतालमा बेड छैन भनेर राजारामलाई भर्ना गर्न अस्वीकार गरिएको थियो । 

हरेक अस्पताले कोभिड उपचारका लागि छुट्याएका बेडको दैनिक अपडेट स्वास्थ्य मन्त्रालयलाई बुझाउँछन् । जसमा प्रायः आधाजति बेड खाली देखिन्छन् । ‘अस्पतालहरूले मन्त्रालयलाई बुझाएको दैनिक रिपोर्ट हेर्दा बेड खाली देखिन्छन् । तैपनि बिरामी किन फर्काइन्छन् भनेर प्रश्न उठेपछि अनुगमन सुरु भएको हो,’ स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ तथा अनुमगन टोलीका प्रमुख डा. रोशन पोखरेलले भने, ‘सोमबार हामीले पाँच अस्पतालको अनुगमन गरेका थियौँ, शिक्षण अस्पतालमा १२ साधारण बेड र दुई आइसियू खाली थिए ।’ यो विषयमा पूर्ण प्रतिवेदन तयार भएपछि कसलाई कस्तो कारबाही गर्ने भनेर मन्त्रालयले निर्णय गर्ने उनले बताए । 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभरका स्वास्थ्य संस्थामा २० हजार एक सय ७८ आइसोलेसन बेड छन् । बिहीबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार नौ सय ५२ पुग्दा ३१ हजार आठ सय ९८ संक्रमित अस्पतालबाहिरै रहेको सरकारी तथ्यांकले देखाउँछ । जम्मा सात हजार ५४ मात्रै स्वास्थ्य संस्थाको बेडमा छन् । यसरी देशभर १३ हजार एक सय २४ आइसोलेसन बेड खाली छन् । तर, आपत् पर्दा बिरामीले उपचार पाएका छैनन् ।

......

वीर अस्पतालका स्वास्थ्यकर्मीलाई समेत कोभिड भत्ता छैन, १६ चिकित्सकको सामूहिक राजीनामा

समयमै तलबभत्ता माग गर्दै प्रदर्शनमा उत्रिएका वीर अस्पतालका चिकित्सक र कर्मचारी

वीर अस्पतालका १६ जना चिकित्सकले बुधबार सामूहिक राजीनामा दिएका छन् । आकस्मिक कक्षमा कार्यरत उनीहरूले अस्पताल निर्देशक डा. केदार सेन्चुरीलाई राजीनामा बुझाएका हुन् । कोभिड–१९ महामारीमा जोखिमबीच सेवामा खटिँदा पनि अस्पतालले आफूहरूको मनोबल गिराउने काम गरेकाले राजीनामा दिएको चिकित्सकहरूको भनाइ छ ।

‘ज्यालादारी भनेर दसैँ, तिहार भत्ता दिइएन, एक दिनको तलब कट्टा गरेर दिइयो, पर्याप्त स्रोत सामग्री उपलब्ध गराइएन र धम्कीयुक्त भाषामा विभिन्न ठाउँमा चौबीसै घन्टा ड्युटी गराइयो,’ राजीनामापत्रमा उल्लेख छ, ‘हप्ताको ९६ घन्टाजस्ता विभिन्न हतोत्साहित काम गराइएकाले हाम्रो मनोबल गिरेको जानकारी गराउँछौँ ।’

अस्पताल निर्देशक डा. सेन्चुरीले आफूहरूलाई धम्की दिएको आकस्मिक कक्षमा कार्यरत डा. भवीन्द्र कार्कीले बताए । चिकित्सकले सुरक्षा सामग्री, कोभिड–१९ भत्ता र समयमै तलब माग गर्दा ‘काम गर्ने मन भए गर नत्र जागिर छाड’ भनेर निर्देशक सेन्चुरीले धम्क्याएको उनले बताए । ‘मन भए गर, नत्र जागिर छाड भनेपछि आफ्नै ज्यान जोखिममा राखेर काम गर्न सकिँदैन भनेर राजीनामा दिएका हौँ,’ डा. कार्कीले भने ।

वीर अस्पतालका स्वास्थ्यकर्मीले पर्याप्त सुरक्षा सामग्री, समयमै तलब र कोभिड–१९ भत्ता माग गर्दै १ कात्तिकमा पनि आन्दोलन गरेका थिए । त्यतिवेला उनीहरूले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डिएन साह र अस्पताल निर्देशक डा. सेन्चुरीको कार्यकक्षमा तालाबन्दी पनि गरेका थिए ।

सरकारले उपलब्ध गराउने जोखिम भत्ता नपाएको मात्र होइन, व्यक्तिगत सुरक्षा सामग्री (पिपिई), मास्क र पन्जा पनि आफैँले खरिद गर्नुपरेको गुनासो उनीहरूको छ । पर्याप्त सुरक्षा सामग्री नभएकै कारण वीर अस्पतालमा कार्यरत एक सय ७० जनाभन्दा बढीलाई कोरोना संक्रमण देखिएको छ । कोभिड–१९ उपचार र रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने निर्णय सरकारले ३ चैतमै गरेको थियो ।

‘मास्क, पन्जा, पिपिई नभएकै कारण आकस्मिक कक्षमा कार्यरत २० मध्ये १८ जना चिकित्सक संक्रमित भए,’ नेपाल स्वास्थ्यकर्मी संघ, वीर अस्पतालका अध्यक्ष खुबराज आचार्य भन्छन् । बुधबार सामूहिक राजीनामा बुझाउनेमध्ये २० मध्येका १६ जना चिकित्सक छन् ।
पर्याप्त सुरक्षा सामग्री नपाएकैले कोरोना संक्रमण भएका अस्पतालको कार्डियोलोजी विभागका स्वास्थ्यकर्मी कालु सिंहको ११ कात्तिकमा मृत्यु नै भयो । संक्रमित भएपछि उनले नयाँ पत्रिकासँगको कुराकानीमा भनेका थिए, ‘आइसियूबाहेकका अरूलाई एन–९५ मास्क, पिपिई, पन्जा दिएनन् ।’

पर्याप्त सुरक्षा सामग्री र तलबभत्ता माग गर्दै स्वास्थ्यकर्मीले १५ असोजमा अस्पताल प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए । तर, त्यसको दुई सातासम्म माग सुनुवाइ नभएपछि २ कात्तिकमा अन्य कर्मचारी पनि आन्दोलनमा उत्रेका थिए । त्यसपछि पनि माग सुनुवाइ नभएपछि राजीनामा दिन बाध्य भएको डा. कार्कीले बताए ।

दरबन्दीका कर्मचारी हाजिर मात्रै गर्ने, तर जोखिममा ज्यालादारीले मात्रै काम गर्नुपरेको विरोधमा राजीनामा बुझाएको चिकित्सकहरूको भनाइ छ । हाल वीर अस्पताल ज्यालादारी र करारका कर्मचारीको भरमा चलेको छ ।

वीर अस्पताललाई कमजोर बनाएर पदाधिकारी हटाउने योजनामा रहेको स्वास्थ्य मन्त्रालय समस्या समाधान गर्नेभन्दा बल्झाउनेमा देखिएको छ । सरकारले वीरलाई कोभिड अस्पताल बनाएको छ, तर जोखिम भत्ता दिन नसक्ने बताएको छ । आफैँले कमाएर खानुपर्ने मन्त्रालयको तर्क छ । काम नगरे पनि सरकारी कर्मचारीले सेवा सुविधा समयमै पाएका छन् । वीर अस्पतालमा भने समिति, ज्यालादारी र करारका कर्मचारी मारमा परेका छन् ।

अस्पताल निर्देशक डा. सेन्चुरीले भने चिकित्सकहरू काममा फर्किसकेको बताए । ‘राजीनामाको घुर्की मात्र देखाउनुभएको हो । काममा फर्किसक्नुभयो,’ उनले भने । दुई महिनाको कोभिड भत्ता र समयमै सुरक्षा सामग्री दिने सहमतिपछि चिकित्सकहरू काममा फर्किएको उनको भनाइ छ ।

‘काम गरेको तलबभत्ता नपाउने कुरा हुँदैन । तलब दिन अलिकति ढिला भएको मात्र हो । अब समयमै पाइन्छ,’ डा. सेन्चुरीले भने । सरकारबाट बजेट कम आएकाले कर्मचारीलाई सुरक्षा सामग्री र भत्ता समयमै दिन नसकिएको उनले बताए ।