१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी
२०७७ कार्तिक ५ बुधबार १३:३४:००
Read Time : < 1 मिनेट
विश्व

भियतनाममा एक दशकयताकै सबैभन्दा ठूलो बाढीपहिरो, कम्तीमा एक सय पाँचजनाको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ कार्तिक ५ बुधबार १३:३४:००

बाढी र पहिरोका कारण एक सातायता भियतनाममा कम्तीमा एक सय पाँचजनाको मृत्यु हुनुका साथै ५० लाख सर्वसाधारण प्रभावित भएका छन् । मृत्यु हुनेमध्ये एकतिहाइ सैनिक रहेको स्थानीय सञ्चारमाध्यम र सहयोगी संस्थाहरूले जनाएका छन् ।

पहिरोले ब्यारेक पुरिँदा सैनिकहरूको हताहती भएको समाचार संस्था रोयटर्सले जनाएको छ । यस्तै बाढी र पहिरोमा कम्तीमा २७ जना बेपत्ता भएका छन् । उनीहरूको खोजी तथा उद्धार जारी रहे पनि मंगलबारसम्म फेला पार्न सकिएको छैन । यसरी बेपत्ता हुनेहरूमध्ये १५ जना निर्माण मजदुर छन् । उनीहरूलाई काम गरिरहेको स्थानभन्दा माथिबाट आएको पहिरोले पुरेको हो ।

भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण एक लाख ७८ हजार मानिस घरबारविहीन भएका छन् भने करिब सात हजार हेक्टर क्षेत्रफलमा लगाइएको खेती नस्ट भएको छ । यस्तै करिब ६ लाख ९० हजार पशुपछी मरेको समाचारहरूमा जनाइएको छ ।  

भियतनामको सरकारी टेलिभिजनले बाढीपहिरोबाट प्रभावितहरू उद्धारको पर्खाइमा घरको छाना र अग्ला स्थानमा बसिरहेको दृश्य देखाइरहेका छन् । बाढी र पहिरोले विशेष प्रभावित क्वङ विन प्रान्त जाने सडक सञ्जाल बन्द छन् भने विद्युत् पनि अवरुद्ध भएको छ । जसका कारण पनि उद्धारमा समस्या भइरहेको छ । भियतनाम टिभीसँग घरको छानाबाटै एक वृद्धाले भनिन्, ‘मैले हिजोदेखि केही खाएको छैन । घरमा भएका सबै अन्नपात बाढीले डुबायो । फोनसमेत छैन ।’

भियतनामस्थित रेडक्रस सोसाइटीका अध्यक्ष नगुयन थी सिउन थु का अनुसार भियतनाममा एक दशकयताकै सबैभन्दा ठूलो वर्षा र बाढीपहिरो आएको छ । कोभिड–१९ महामारीबाट थला परेको बस्तीलाई बाढीपहिरोले झनै दयनीय अवस्थामा पुऱ्याएको छ । उनले भने, ‘हामी पुगेका सबै स्थानका घर, सडक र संरचनाहरू ध्वस्त भएका छन् ।’