मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज ३० शुक्रबार १४:५७:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

मकवानपुरमा बढ्यो बलात्कार, तीन वर्षमा ९० घटना दर्ता

Read Time : > 1 मिनेट
२०७७ असोज ३० शुक्रबार १४:५७:००

तीन वर्षको तथ्यांक तुलना गर्दा मकवानपुरमा बलात्कारका घटनामा वृद्धि भएको छ ।

आर्थिक वर्ष ०७४/७५ मा २२ वटा बलात्कारका घटना दर्ता भएको मकवानपुरमा आव ०७५/७६ मा ३२ र ०७६/७७ मा ३६ वटा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालू आर्थिक वर्ष ०७७/७८ को असोज दोस्रो सातासम्म १० वटा बलात्कारका घटना थप दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । 

यो अवधिमा एउटा हाडनाता करणी दर्ता भएको रानाले बताए । बलात्कार प्रयासका घटना ३ आर्थिक वर्षमा बराबर रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ । आव ०७४/७५ मा १०, आव ०७५/७६ र ०७६/७७ मा समान आठ–आठवटा बलात्कार प्रयासका घटना दर्ता भएको प्रहरीले जनाएको छ । 

यसैगरी बालयौन दुरुपयोग पनि बढेको छ । आव ०७५/७६ मा सात र आव ०७६/७७ मा आठवटा बालयौन दुरुपयोग भएको प्रहरीको तथ्यांक छ । बितेको तीन वर्षमा जातीय छुवाछुत र अप्राकृतिक मैथुनका घटना दर्ता भएको छैन । 

प्रवक्ता रानाले जनचेतना अभिवृद्धि गर्नु नै यौनजन्य हिंसा न्यूनीकरणको प्रमुख उपाय भएको बताए । उनले बलात्कारका घटना शून्य नहुने भन्दै यसलाई न्यूनीकरण गर्न सचेतना फैलाउने, आत्मरक्षाका लागि तालिम लिनेलगायतका थुप्रै उपाय अपनाउनुपर्ने दाबी गरे ।

मानिसको मानसिक खराबीकै कारण बलात्कार बढेको भन्दै यसलाई न्यूनीकरण गर्न जनचेतना बढाउनुपर्नेमा सबै निकायको ध्यान पुग्नुपर्ने रानाको भनाइ छ ।

डिएसपी रानाले बलात्कारको घटना मात्रै नबढेको र विगतमा भन्दा अहिले नागरिकमा सूचना प्रविधिको सहज पहुँच भएकोले लुकेका घटना बाहिर आएको धारणा राखे ।

विगतमा डर, त्रास र सामाजिक प्रतिष्ठाका कारण पनि धेरैले घटना गुम्स्याएर राख्ने गरेको स्मरण गर्दै हाल पीडा लुकाएर बस्ने बालिका तथा महिला कम भएको उनले बताए ।