संक्रमित भएको एक हप्तामै चुनावी र्‍यालीका लागि सक्षम भएको ट्रम्पकाे दाबी

शुक्रबार, २३ असोज, २०७७
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपतीय बहसका लागि अनिच्छुक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी र्यालीका लागि भने तयार रहेको बताएका छन् । 
 
गत शुक्रबार कोरोना भाइरसबाट संक्रमित भएका ट्रम्पले एक हप्ता नहुँदै बिहीबार आफूलाई पूर्ण स्वास्थ्यलाभ भइसकेकाले र्यालीमा सहभागी हुन सक्षम रहेको दाबी गरेका हुन् । 
 
उनका चिकित्सकहरूले पनि राष्ट्रपति ट्रम्पको थेरापी सकिएको र उनको अवस्था धेरै राम्रो भइसकेको बताएका छन् । 

अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म दुई लाख १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अरू लाखौँ व्यक्ति संक्रमित भएका छन् ।
 
राष्ट्रपति ट्रम्प कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएपछि गत शुक्रबार अस्पताल गएर सोमबार निवास फर्किएका थिए ।  

निवासबाटै पनि उनलाई उपचार गराइरहेका चिकित्सकले राष्ट्रपति ट्रम्प अब सार्वजनिक कार्यक्रममा सहभागी हुन सक्ने बताएका छन् । 

उनका फिजिसियन सेन कोन्लीले शनिबारदेखि राष्ट्रपति ट्रम्प सार्वजनिक गतिविधिहरूमा सहभागी हुन सक्षम रहेको जानकारी दिए । 

स्थानीय समयअनुसार बिहीबार राति फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले शनिबार फ्लोरिडामा हुने र्यालीमा आफू सहभागी हुन चाहेको बताएका थिए ।  

टेलिफोनबाट गरिएको अन्तर्वार्ताका क्रममा उनले आफू कुनै कुरामा पनि कमजोर र अक्षम छु जस्तो नलागेको जवाफ दिए । सोही अन्तर्वार्तामा राष्ट्रपतीय बहसमा भने आफू सहभागी हुन नचाहेको उनले बताए । 

राष्ट्रपतीय बहस आयोगका अधिकारीहरूले यही अक्टोबर २२ तारिखका दिन दोस्रो बहस आयोजना गर्ने तयारी गरे पनि ट्रम्पले अनिच्छा देखाएपछि बहस अन्याेलमा परेको हो । 

उनीहरूबीच पहिलो बहस अघिल्लो हप्ता भएको थियो । सो बहसमा ट्रम्पको प्रस्तुति राम्रो नभएको र अर्का प्रतिस्पर्धी बाइडेनले धेरैको मन जितेको चर्चा भइरहेका वेला ट्रम्पले बहसमा सहभागी नहुने निर्णय लिएका हुन् । 
 
अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लिकनको तर्फबाट र पूर्वउपराष्ट्रपति बाइडेनले डेमोक्र्याटको तर्फबाट प्रतिस्पर्धा गर्न लागेका हुन्र ।  

त्यसैगरी उपराष्ट्रपतिमा ट्रम्पको साथमा वर्तमान उपराष्ट्रपति माइक पेन्स र बाइडेनको साथमा सिनेटर कमला ह्यारिस छन् । उनीहरूका बीचमा पहिलो बहस बिहीबार भएको थियो ।
 

सुझावित समाचार