१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
एजेन्सी
२o८१ बैशाख ३१ सोमबार १३:४८:oo
Read Time : > 2 मिनेट
ad
ad
फिचर

युरोपमा कोरोनाको दोस्रो लहर : ७० वर्षपछि जर्मनीमा रातमा कर्फ्यु

Read Time : > 2 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:४८:oo

युरोपमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएको छ । यसले युरोपियन मुलुकमा थप समस्या सिर्जना गरेको छ । दोस्रो चरणको कोरोना लहर सुरु भएसँगै युरोपियन मुलुकहरूले विभिन्न रणनीतिक तयारी थालेका छन् ।

अहिले जर्मनीमा कोभिड– १९ को दोस्रो लहर सुरु भएको छ । यसअघि फ्रान्स, स्पेनमा कोरोनाको दास्रो लहर देखिएको थियो । कोरोनाको पहिलो चरण नियन्त्रणमा ल्याएसँगै जर्मनीले लकडाउन खुकुलो पारेको थियो । जर्मन नागरिक सामान्य जीवनमा फर्कन थालिसकेका थिए । तर, दोस्रो लहर सुरु भएपछि जर्मनीमा रात्रिकालीन गतिविधिलाई रोक लगाइएको छ । लकडाउन खुलेसँगै जर्मन नागरिकले रात्रिकालीन गतिविधि बढाएपछि कोरोना नियन्त्रणबाहिर गएको सरकारको ठहर छ । यही कारण सरकारले रात्रिकालीन जीवन रोक्न कर्फ्यू लगाएको छ । 

जर्मनीमा यसरी रातको समयमा कर्फ्यु लगाएको ७० वर्षपछि पहिलोपटक हो । जर्मनीको राजधानी बर्लिनमा सरकारले निकै कडा नियम लागू गरेको छ । यहाँ रातमा कडा रूपमा कफ्र्यु जारी गरेको छ । बर्लिन युरोपको व्यस्त रात्रिकालीन जीवन बिताउने सहरमध्ये पर्छ । प्रशासनले अहिले रातको ११ देखि बिहान ६ बजेसम्म बर्लिनलगायत ठूला सहरमा रात्रिकालीन कर्फ्यु लगाएको छ । कर्फ्युको समयमा सरकारको नियम तोडेमा तत्कालै उनीहरूको लाइसेन्स रद्द हुनेछ । साथै उनीहरूले ठूलो रकम जरिवाना तिर्नुपर्छ । पुनः लाइरेन्स प्राप्तिका लागि सुरुदेखि नै प्रक्रियामा जानु पर्नेछ ।

बर्लिनमा प्रत्येक दिन अहिले औसतमा ४५ जनामा कोरोना संक्रमण देखिइरहेको छ । जर्मनीको स्वास्थ्य मन्त्रालयले दोस्रो चरण कोरोना नियन्त्रण गर्न पहिलेभन्दा कडा नियम लागू गरेको जनाएको छ । प्रत्येक दिनजसो हुने पार्टी वा महोत्सवमा हुलमुल नगर्न स्वास्थ्य मन्त्रालयले निर्देशन गरेको छ । नियम कडा भए पनि एक स्थानमा पाँचजनासम्म बस्न सकिने अवस्था छ । 

विश्व स्वास्थ्य संगठनद्वारा चिन्ता व्यक्त
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले युरोपमा देखिएको दोस्रो लहरको कोभिडप्रति चिन्ता व्यक्त गरेको छ । डब्ल्युएचओले विज्ञानले मात्र कोभिड–१९ नियन्त्रण गर्न नसकिने र यसका लागि अन्य उपाय निकाल्नुपर्ने जनाएको छ । ‘यो विज्ञानले मात्र नियन्त्रण हुने अवस्था छैन, यसमा मानिस स्वयंले पनि नियम पालना गर्नुपर्छ, निर्देशित नियम पालना गर्नुप¥यो अनि मात्र दोस्रो चरणको लहर नियन्त्रणमा आउँछ,’ डब्ल्युएचओले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘युरोपियन नागरिकले साहसिक काम गर्नुपर्छ, दैनिक जीवनदेखि व्यवहारमा समेत परिवर्तन गर्नुपर्छ ।’

समाजमा रहेका व्यक्ति नै सुसूचित हुनुपर्ने डब्ल्युएचओको भनाइ छ । ‘समाजमा रहेका हरेक व्यक्तिले आफ्नो जिम्मेवारी बहन गर्न सक्नुपर्छ, फ्रान्स, स्पेन, बेलायत तथा जर्मनीमा यस्तो नीति नअपनाएको कारण नै भाइरस दिन प्रतिदिन बढ्दै गएको हो,’ डब्ल्युएचओले भनेको छ । अहिले कोरोनाको वल्र्डोमिटरअनुसार विश्वमा तीन करोड ६३ लाख व्यक्ति संक्रमित छन् । यसमा दुई करोड ७४ लाख व्यक्ति निको भइसकेका छन् । कोरोना भाइरसबाट १० लाख ६० हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् ।

न्युजिल्यान्डको अवस्था सामान्य
युरोपियन राष्ट्रहरूमा कोरोनाको दोस्रो लहर चलिरहे पनि न्युजिल्यान्डले भने स्थिति नियन्त्रणमा लिएको छ । अहिलेसम्म कोरोना भाइरसमाथि नियन्त्रण लिनेमा न्युजिल्यान्ड विश्वकै सफल राष्ट्र मानिएको छ । यहाँको सरकारले कोरोना नियन्त्रण लिन निकै मिहिनेत गरेको छ । सानादेखि ठूलो व्यापारीसम्मले कोरोनाको हरेक नियम पालना गरेका छन् । कोरोनाको पहिलो चरणमा न्युजिल्यान्डमा एक सय २० दिनपछि संक्रमित देखिएको थियो । अर्थात् पहिलो चरणको समयमा न्युजिल्यान्डमा चार महिनासम्म कोही पनि संक्रमित भएनन् । 
न्युजिल्यान्ड सरकारले हरेक साता कोरोना नियन्त्रणका निमित्त योजना सार्वजनिक गरिरहेको छ । सरकारले प्रत्येक साता नियम र योजना निकाल्दा यहाँका जनताले प्रत्येक पलमा के गर्ने भन्ने जानकारी पाउने अवसर पाएका छन् । यो नीतिले पनि कोरोना नियन्त्रण आएको डब्ल्युएचओको भनाइ छ । 

आर्थिक रिकभरी सुधार गर्नेमा न्युजिल्यान्ड पहिलो राष्ट्र हो । आर्थिक अवस्था राम्रो गर्ने राष्ट्रलाई दिइएको नम्बरमा न्युजिल्यान्ड नै अगाडि छ । न्युजिल्यान्डपछि जापान र ताइवानको आर्थिक अवस्था उत्कृष्ट छन् । न्युजिल्यान्डले २३८ अंक, जापानले २०४ अंक तथा ताइवानले एक सय ९८ अंक आर्थिक सुधारमा पाएका छन् । यो पक्षमा अमेरिका दशौँ स्थानमा छ ।

ब्राजिलको अवस्था दयनीय
ब्राजिलको विशेषगरी सुकुमबासी क्षेत्रको अवस्था दयनीय भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । 

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार स्लम क्षेत्रमा प्रतिदिन आठ सय १९ को दरले कोभिड–१९ बाट निधन भइरहेको छ । ब्राजिलमा मृतकको संख्या डेढ लाख पुग्न लागेको छ । ब्राजिलियन सरकारले कोरोनाको दोस्रो लहरबाट सुरक्षित रहन तत्काल योजना सार्वजनिक हुने जनाएको छ । सरकारले पुनः लकडाउनको तयारी गरिरहेको छ । 
 

ad
ad