१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी गौतमबुद्ध नगर
२०७७ असोज १६ शुक्रबार १३:१२:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

राहुल र प्रियंका गान्धीसहित दुई सयविरुद्ध मुद्दा दर्ता

Read Time : < 1 मिनेट
एजेन्सी गौतमबुद्ध नगर
२०७७ असोज १६ शुक्रबार १३:१२:००

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीसहित झन्डै दुई सयजनाविरुद्ध मुद्दा लगाइएको छ ।

भारतीय दण्डसंहिता उल्लंघन गरेको आरोप लगाउँदै उनीहरूविरुद्ध मुद्दा दायर गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । गौतमबुद्ध नगर प्रहरीले गान्धीद्वय र अरू दुई सयजनाले दण्डसंहिताको धारा १८८, २६९ र २७० को उल्लंघन गरेको दाबी गरेको छ ।

यसअघि संहिता उल्लंघन गरेकै आरोपमा उनीहरूलाई उत्तर प्रदेश प्रहरीले यमुना द्रुतमार्गबाट बिहीबार गिरफ्तार गरेको थियो । सामूहिक बलात्कारपछि हत्या गरिएकी बालिकाका परिवारजनलाई भेट्न उनको घर हथ्रासतर्फ गइरहेका वेला उनीहरूलाई गिरफ्तार गरिएको हो ।

बलात्कारपीडितको मंगलबार उपचारकै क्रममा दिल्लीको सफदरजङ अस्पतालमा निधन भएको थियो । गत सेप्टेम्बर २९ तारिखका दिन सामूहिक बलात्कारपछि हत्या गरिएकी ती बालिकाको घर रहेको हथ्रासतर्फ गइरहेका वेला उनीहरूको सवारीसाधनलाई प्रहरीले रोकेपछि उनीहरू हिँडेरै त्यसतर्फ लागेपछि प्रहरीले गिरफ्तार गरेको हो ।

प्रहरीले अवरोध गरेर गिरफ्तार गरेपछि उनले आक्रोशित हुँदै प्रश्न गरेका थिए, ‘के यो मुलुकमा मोदीजी मात्रै हिँड्न पाउने व्यवस्था छ ?’ उनले भारतमा सामान्य मान्छेहरू हिँड्न पनि नपाएको भन्दै आक्रोश व्यक्त गरे ।

नेता गान्धीले आफूलाई प्रहरीले जबर्जस्ती समातेर लाठीचार्ज गरेको, भुइँमा लडाएको र धकेलेको आरोप पनि लगाएका छन् । उनले आफ्ना सवारीसाधनहरु रोकिएकाले आफूहरू हिँडेको भन्दै प्रहरीलाई आफूलाई हिँड्न दिन आग्रह गरे । ‘म एक्लै हथ्रासतर्फ हिँडेर जान चाहन्छु, कृपया मलाई हिँड्न दिनुस्, मलाई नरोक्नुस्, मलाई तपाईंहरूले किन गिरफ्तार गर्दै हुनुहुन्छ ?’ उनले भनेका थिए ।