मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज १३ मंगलबार १६:२३:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली डिजिटल संस्करण

मानसिक रूपमा स्वस्थ रहे मुटु रोगबाट पनि बच्न सकिन्छ 

Read Time : > 1 मिनेट
२०७७ असोज १३ मंगलबार १६:२३:००

विश्व मुटु महासंघका अनुसार मुटुसम्बन्धी रोगबाट विश्वभर बर्सेनि एक करोड ७५ लाख व्यक्तिको ज्यान जाने गर्छ । नेपालमा पनि अहिले २५ प्रतिशत अर्थात् करिब ७५ लाख मानिस कुनै न कुनै प्रकारको मुटुरोगबाट पीडित रहेको सरकारी तथ्यांक छ र यो क्रम १० वर्षयता पाँच गुणाले बढेको छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा विश्वभर मुटु रोगबाट ज्यान गुमाउनेको संख्या बर्सेनि साढे दुई करोड पुग्ने अनुमान गरेको छ । यस्तै नेपाललगायतका विकासोन्मुख देशमा हृदयाघात भएर ज्यान गुमाउनेको संख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान छ । खानपानमा सुधार र जीवनशैलीमा परिवर्तन ल्याउन सके मुटुरोगबाट केही हदसम्म बच्न सकिन्छ । मुटुसम्बन्धी रोग लाग्नुको मुख्यकारण असन्तुलित भोजन हो तसर्थ खानपानमा विशेष ध्यान दिनु जरुरी छ ।

तनावबाट मुक्ति
मानसिक तनावबाट मुक्ति पाउनु नै धेरै रोगको उपचार हो । हरेक तवरले स्वस्थ रहनका लागि स्थिर र प्रसन्न रहन जरुरी हुन्छ । नियमित शारीरिक व्यायाम, योग, प्राणायाम, ध्यानलगायतले शान्त रहन सहयोग पु¥याउँछन् । तसर्थ मानसिक रूपमा स्वस्थ रहन सके मुटु रोगबाट पनि बच्न सकिन्छ । पछिल्लो समय मुटु स्वास्थ्यमा कोभिडले पनि प्रत्यक्ष असर पार्ने विभिन्न अध्ययनले देखाएका छन्, तसर्थ मुटु स्वस्थ राख्नका लागि संक्रमणबाट बच्नुपर्छ ।

धुम्रपान त्याग्नुहोस्
धुम्रपान, गुट्खाजस्ता तमाखुजन्य वस्तुको सेवनले हृदयाघातको जोखिम बढाउँछ । निकोटिनले मुटुमा अन्य रोग लाग्ने सम्भावना पनि अत्यधिक हुने भएकाले धुम्रपान गर्नुहँुदैन । यस्तै बाहिरी बाटोमा आउने धुलोधुवाँका कारण पनि मानिसमा मुटुको समस्या देखिने गरेको छ । तसर्थ बाहिर भिडभाडमा हिँड्दा मास्कको प्रयोग गर्नुपर्छ । 

स्वस्थकर खाना
अध्ययनअनुसार गलत खानपानकै कारण मुटुसम्बन्धी ९० प्रतिशत रोग लाग्ने गर्छन् । यस्तै स्वादका लागि मात्रै आहार लिने बानीले स्वास्थ्यलाई झन् नकारात्मक असर पारिरहेको छ । अत्यधिक चिल्लो र नुनिलो खानेकुराबाट जोगिनुपर्छ । खानामा सलाद तरकारीका साथै दैनिक रूपमा मौसमी फलफूल खान जरुरी हुन्छ । रातिको खाना हलुका र छिटो खानुपर्दछ । 

नियमित व्यायाम
सामान्यतया मानिस पूर्ण रूपमा स्वस्थ रहनका लागि नियमित व्यायाम गर्न जरुरी छ । यसअन्तर्गत छिटोछिटो दगुर्नु, हप्तामा पाँच दिन दैनिक ३०–४० मिनेट खेलमा बिताउनु स्वास्थ्यका लागि एकदम धेरै लाभदायी मानिन्छ । यस्तै जिम वा अन्य तरिकाले ३–४ सय क्यालोरी खपत गर्न आवश्यक छ । जसले उचाइअनुसार तौल कायम गर्न सहज गर्छ । 

नियमित परीक्षण र चिकित्सकीय सल्लाह
रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बुद्धिमानी मानिन्छ । शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन नियमित रूपमा चिकित्सकसँग सल्लाह र परीक्षण गर्न आवश्यक हुन्छ । नियमित रक्तचाप, कोलेस्ट्रोल, मधुमेहको परीक्षण गरेमा आफ्नो स्वास्थ्यबारे थाहा पाउन सकिन्छ । तसर्थ समयसमयमा स्वास्थ्य जाँच गरिराख्नुपर्छ । 

(मुटुरोग विशेषज्ञ डा. अधिकारी सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा कार्यरत छन् ।)