१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ असोज १ बिहीबार ०५:११:००
Read Time : > 5 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कोरोनाविरुद्ध आशा जगाउने ७ भ्याक्सिन

Read Time : > 5 मिनेट
२०७७ असोज १ बिहीबार ०५:११:००

विश्व स्वास्थ्य संगठनका अनुसार हाल एक सय ६९ भन्दा बढी भ्याक्सिन निर्माणको चरणमा छन्, जसमध्ये सातवटाको तेस्रो परीक्षण हुँदै, यसै वर्षको अन्त्यसम्म सर्वसाधारणलाई भ्याक्सिन उपलब्ध गराउने चीनको दाबी

कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी रूपमा फैलिएको ६ महिना पुगिसकेको छ । नेपालसहित धेरै देशमा संक्रमण अझै फैलँदो अवस्थामा छ । संक्रमण घटेको देशमा पनि भाइरस पूर्णरूपमा हटिसकेको छैन । कोरोना भाइरस संक्रमण फैलावट रोक्न भ्याक्सिन नै अन्तिम उपाय देखिएको छ । 

कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणका लागि विभिन्न देशले औषधि कम्पनीसँगको सहकार्यमा काम पनि गरिरहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार हाल एक सय ६९ भन्दा बढी भ्याक्सिन निर्माणको चरणमा छन् । जसमध्ये २६ वटा भ्याक्सिन मानव शरीरमाथिको परीक्षणमा छन् । न्युयोर्क टाइम्सले भने ३८ वटा भ्याक्सिन मानव शरीरमाथिको क्लिनिकल परीक्षणमा रहेको दाबी गरेको छ । 

यति बेला महामारीको रूप लिइरहेको कोरोनाविरुद्ध भ्याक्सिन कहिले तयार होला भन्ने चासो सर्वत्र छ । कुनै पनि रोगविरुद्ध भ्याक्सिन निर्माण प्रक्रिया वर्षाैं लामो हुन सक्छ । विश्वभरका फरक वातावरण र फरक शारीरिक अवस्थाका साथै स्वस्थ्य मानिसले पनि प्रयोग गर्ने भएका कारण भ्याक्सिनलाई सुरक्षित र प्रभावकारी बनाउन धेरै प्रयास गरिएको हुन्छ । यसको परीक्षण नै विभिन्न चरणमा धेरै मानिसमा गरिन्छ । ती परीक्षणमा सुरक्षित देखिए मात्रै भ्याक्सिन सर्वसाधारणको प्रयोगका लागि प्रमाणित गरिन्छ । यसैकारण औषधिमध्ये भ्याक्सिन सबैभन्दा सुरक्षित मानिएको हो ।

कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण गर्ने प्रयास गत जनवरीबाटै सुरु भएको हो । मानव शरीरमाथि पहिलो परीक्षण भने मार्चमा भएको थियो । त्यसमध्ये धेरै भ्याक्सिन अन्तिम चरणको परीक्षणमा पुगेका छन् । रुसले ‘स्पुतनिक फाइभ’ भ्याक्सिनलाई मान्यता दिइसकेको छ । कोभिड संक्रमण फैलिएको चीनमा दुई फरक–फरक कम्पनीले सरकारी निकायसँगको समन्वयमा निर्माण गरिरहेको दुई भ्याक्सिनको अन्तिम चरणको परीक्षण गरिएको छ । ती भ्याक्सिन केही देशमा प्रयोगका लागि चीन सरकारबाट अनुमति पाइसकेका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार मात्रै कोरोना भाइरसविरुद्धको भ्याक्सिन आगामी केही सातामै तयार हुने बताएको ब्लुमबर्गले उल्लेख गरेको छ । केही भ्याक्सिनमाथि देखिएको प्रगति र शक्तिराष्ट्रका सरकार प्रमुखले दिएको अभिव्यक्तिले भाइरस संक्रमणबाट आक्रान्त बनेको विश्वले नै राहत महसुस गरेको छ । हाल निर्माण भइरहेकामध्ये अन्तिम चरणको परीक्षणमा रहेका केही भ्याक्सिनको अवस्था प्रस्तुत गर्ने प्रयास गरेका छौँ । 

१. एमआरएनए–१२७३

माडोना, अमेरिका तेस्रो चरणको परीक्षणमा

अमेरिकाको म्यासाचुट्सस्थित माडोना कम्पनीले गत जनवरीबाटै कोरोनाविरुद्धको भ्याक्सिन निर्माण थालेको हो । माडोनाको प्रयासलाई त्यहाँको राज्य सरकारले आर्थिक सहयोग गरेको छ । सरकारबाट भ्याक्सिन निर्माणका लागि माडोनाले सुरुवातमै एक अर्ब डलर सहयोग प्राप्त गरिसकेको छ । राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानसँगको सहकार्यमा माडोनाले भ्याक्सिन निर्माण गरिरहेको हो । सुरुवाती परीक्षणमा माडोनाले निर्माण गरिरहेको भ्याक्सिनले बाँदरलाई कोरोना भाइरसबाट बचाएको थियो । माडोनाले गत मार्चमै भ्याक्सिन मानव शरीरमा परीक्षण गरेको थियो । त्यो परीक्षणमा पनि नतिजा सकारात्मक देखिएको कम्पनीले दाबी गरेको छ । यो भ्याक्सिन अहिले तेस्रो चरणको परीक्षणमा छ । गत २७ जुलाईबाट भ्याक्सिनको तेस्रो चरणको परीक्षण सुरु भएको हो । यो परीक्षणमा विभिन्न ८९ ठाउँमा ३० हजार स्वस्थ मानिस सहभागी छन् । माडोनाले भ्याक्सिन निर्माण पूरा हुनुअघि नै बिक्रीका लागि सम्झौतासमेत गरिसकेको छ । भ्याक्सिन निर्माण सफल भए अमेरिका सरकारले एक सय मिलियन डोज किन्न माडोनालाई ११ अगस्टमा १.५ मिलियन डलर दिएको छ ।

२. स्पुतनिक फाइभ (गाम–कोभिड–भाक)

गमलेया रिसर्च इन्स्टिच्युट, रुस
तेस्रो चरणको परीक्षणसँगै प्रयोगका लागि रुसी सरकारबाट अनुमति प्राप्त रुसको स्वास्थ्य मन्त्रालयअन्तर्गतको गमलेया रिसर्च इन्स्टिच्युटले उत्पादन गरेको यो भ्याक्सिन अन्तिम चरणमा पुगेको छ । दुई एडिनोभाइरस (एडी–५ र एडी–२६) मिलाएर बनाइएको ‘स्पुतनिक फाइभ’ नाम दिइएको भ्याक्सिनलाई रुस सरकारले प्रयोगका लागि अनुमतिसमेत दिइसकेको छ । गत ११ अगस्टमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भ्याक्सिन प्रयोगका लागि अनुमति दिइएको घोषणा गरेका थिए । यद्यपि, यो भ्याक्सिनको तेस्रो चरणको परीक्षण अझै जारी छ । 

भ्याक्सिन निर्माण गर्ने प्रक्रियामा आवश्यकभन्दा निकै कम संख्यामा परीक्षण गरेको र परीक्षण पूरा नहुँदै प्रयोगका लागि अनुमति दिइएको भन्दै केही विज्ञले रुसको निर्णयको विरोध गरेका छन् । रुसले आफूले पहिलेबाटै गरिरहेको परीक्षणको आधारमा यो भ्याक्सिन निर्माण गरेको जवाफ दिएको छ । साथै, अहिलेसम्म गरिएको परीक्षणबाट भ्याक्सिन प्रयोग गर्नु सुरक्षित देखिएको रुसको भनाइ छ । रुसले विरोधकै ब्राजिल, मेक्सिकोलगायत देशमा भ्याक्सिन उपलब्ध गराउने सम्झौतासमेत गरिसकेको छ ।

३. एडी ५–एनकोभ भ्याक्सिन

क्यान्सिनो, चीन तेस्रो चरणको परीक्षणसँगै चिनियाँ सेनामा प्रयोगका लागि अनुमति प्राप्त
चिनियाँ कम्पनी क्यान्सिनो बायोलोजिक्सले एडिनो भाइरस (एडी–५) मा आधारित भ्याक्सिन निर्माण गरिरहेको छ । चीनको मिलिटरी मेडिकल साइन्स एकेडेमीसँगको सहकार्यमा क्यान्सिनोले निर्माण गरिरहेको यो भाइरस तेस्रो चरणको परीक्षणमा छ । तेस्रो चरणको परीक्षण पूरा नहुँदै चीनको सेनाले आन्तरिक प्रयोगका लागि अनुमति दिइसकेको छ । गत मेमा पहिलो चरणमा भ्याक्सिनको सुरक्षासम्बन्धी गरिएको परीक्षणमा धेरै राम्रो नतिजा आएको कम्पनीले जनाएको छ । गत जुलाईमा गरिएको दोस्रो चरणको परीक्षणमा पनि भ्याक्सिनले आवश्यकताअनुसार रोगप्रतिरोधात्मक क्षमता बढाएको पाइएको दाबी गरेको छ । क्यान्सिनोले साउदी अरेबिया, पाकिस्तानलगायत देशमा पनि भ्याक्सिनको तेस्रो चरणको परीक्षण गरिरहेका छन् । 

४. कोरोना भाक सार्स–कोभ–२ भ्याक्सिन 

सिनोभाक बायोटेक, चीन सीमित क्षेत्रमा प्रयोगको अनुमति प्राप्त
चीनको निजी कम्पनी सिनोभाक बायोटेकले पनि कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण गरिरहेको छ । उसले निर्माण गरिरहेको भ्याक्सिनलाई कोरोना भाक सार्स–कोभ–२ भ्याक्सिन नाम दिइएको छ । यो भ्याक्सिन केही ठाउँमा तेस्रो चरणको परीक्षणसमेत सकिएको छ र चीन सरकारले सीमित क्षेत्रमा प्रयोगका लागि अनुमति दिएको छ । कम्पनीले गत जुनमा सात सय ४३ जनामा भ्याक्सिनको पहिलो र दोस्रो चरणको परीक्षण गरिएको जनाएको थियो । जसमा कुनै गम्भीर खालको ‘साइड इफेक्ट’ नदिएको र रोगप्रतिरोधात्मक क्षमता वृद्धि गरेको पाइएको कम्पनीले जनाएको थियो । त्यसपछि कम्पनीले गत जुलाईमा ब्राजिल र त्यसलगत्तै इन्डोनेसियामा तेस्रो चरणको परीक्षण गरेको थियो । चीन सरकारले गत जुलाईमै सीमित ठाउँमा भ्याक्सिन प्रयोगका लागि अनुमति दिएको रोयटर्सले उल्लेख गरेको छ । सरकारबाट मान्यता प्राप्त गरेसँगै सिनोभाकले भ्याक्सिन उत्पादन गर्न थालिसकेको छ । कम्पनीले आगामी २०२१ को मार्चसम्ममा इन्डोनेसियामा ४० मिलियन डोज भ्याक्सिन उपलब्ध गराउने सम्झौता गरिसकेको न्युयोर्क टाइम्सले जनाएको छ । 

५. न्यु क्राउन कोभिड–१९ भ्याक्सिन

वुहान इन्स्टिच्युड अफ बायोलोजिकल प्रोडक्ट, चीन तेस्रो चरणको परीक्षणमा
चीनको वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण गरिरहेको छ । कम्पनीले निर्माण गरेको यो भ्याक्सिन परीक्षणको जिम्मा चीनको सरकारी कम्पनी सिनोफार्मले लिएको छ । यो भ्याक्सिनको पहिलो र दोस्रो चरणको परीक्षणले राम्रो संकेत देखाएको छ । भ्याक्सिनले शरीरमा ‘एन्टिबडी’ निर्माण गरेको पाइएको छ । परीक्षणमा सहभागी केही स्वयंसेवीमा ज्वरो आउने र अरू सामान्य खालका साइड इफेक्ट मात्रै देखिएका छन् । यो भ्याक्सिनको तेस्रो चरणको परीक्षण गत जुलाईमा संयुक्त अरब इमिरेट्स (युएई)मा गरिएको थियो । त्यसपछि पेरु र मोरोक्कोमा तेस्रो चरणको परीक्षण गरिएको थियो । सिनोफार्मले यही वर्ष (२०२०) को अन्त्यसम्ममा सर्वसाधारणको प्रयोगका लागि भ्याक्सिन तयार हुने जनाएको छ ।

६. बिबिआइबिपी–कोर्भी

सिनोफार्म, चीन तेस्रो चरणको परीक्षणमा
चीनको सरकारी निकाय सिनोफार्मले अर्काे भ्याक्सिनको पनि परीक्षण गरिरहेको छ । बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले निष्क्रिय पारिएको भाइरसलाई प्रयोग गरी निर्माण गरिएको भ्याक्सिनको तेस्रो चरणको परीक्षण भइरहेको छ । सिनोफार्मले वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले निर्माण गरेको भ्याक्सिनसँगै बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले निर्माण गरिरहेको यो भ्याक्सिन दुवैको तेस्रो चरणको परीक्षण युएईसँगै गरिरहेको छ । दुवै भ्याक्सिनको परीक्षणमा युएईमा पाँच–पाँच हजार स्वस्थ्य व्यक्ति सहभागी भइरहेका छन् । दुवै भ्याक्सिन प्रयोगका लागि चीन सरकारले अनुमति दिइसकेको सिनोफार्मले जनाएको छ ।

७. बिसिजी लाइभ एटिनउटेड भ्याक्सिन

मुर्डक चिल्ड्रेन्स रिसर्च इन्स्टिच्युट, अस्ट्रेलिया तेस्रो चरणको परीक्षणमा 
अस्ट्रेलियाको मुर्डक चिल्ड्रेन्स रिसर्च इन्स्टिच्युटले यसअघि नै बनेको पुरानो भ्याक्सिनलाई कोरोना भाइरसविरुद्ध प्रयोग गर्ने उद्देश्यका लागि परीक्षण गरिरहेको छ । बेसिलस कल्मेटी गुइरिन नामक भ्याक्सिन सन् १९०० को सुरुवाततिर निर्माण भएको हो । त्यस बेला यो भ्याक्सिन क्षयरोगविरुद्ध प्रयोग गरिएको थियो । कम्पनीले यही भ्याक्सिनलाई कोरोना भाइरसविरुद्ध पनि प्रयोग गर्ने गरी तेस्रो चरणको परीक्षण गरिरहेको हो । कम्पनीले अस्ट्रेलियामै यो भ्याक्सिनको तेस्रो चरणको परीक्षण गरिरहेको हो ।

दोस्रो र तेस्रो चरणको संयुक्त परीक्षण भइरहेका भ्याक्सिन

१. जर्मन कम्पनी बायोनटेकले अमेरिकाको कम्पनी फिजर, चिनियाँ औषधि कम्पनी फोसुनसँगको सहकार्यमा निर्माण गरिरहेको भ्याक्सिन एमआरएनएको संयुक्त रूपमा दोस्रो र तेस्रो चरणको परीक्षण भइरहेको छ । निर्माता कम्पनीहरूले अहिलेसम्मको सबै परीक्षणमा यो भ्याक्सिनले राम्रो नतिजा दिएको जनाएका छन् । अमेरिका, अर्जेन्टिना, ब्राजिल र जर्मनीमा गरी ३० हजार स्वस्थ मानिसमा दोस्रो र तेस्रो चरणको परीक्षण भइरहेको भ्याक्सिन कम्पनीले जनाएका छन् । फिजर र बायोनटेकले १२ सेम्टेम्बरमा अमेरिकामा भइरहेको परीक्षणलाई बढाएर ४३ हजारमा पुर्‍याउने जनाएको छ । अमेरिकाले आगामी डिसेम्बरसम्म एक सय मिलियन डोज भ्याक्सिन उपलब्ध गराउन १.९ बिलियन डलरको सम्झौतासमेत दिइसकेको न्युयोर्क टाइम्सले जनाएको छ । यस्तै, जापानले एक सय २० मिलियन डोज र युरोपियन युनियनले दुई सय मिलियन डोज भ्याक्सिन किन्न निर्माता कम्पनीसँग सम्झौता गरिसकेको छ । 

. ब्रिटिस–स्विडिस कम्पनी अस्त्रजेनेका र बेलायतको युनिभर्सिटी अफ अक्सफोर्डले मिलेर बनाइरहेको कोरोना भाइरसविरुद्धको भ्याक्सिनको पनि दोस्रो र तेस्रो चरणको संयुक्त परीक्षण भइरहेको छ । चिनपान्जी एडिनोभाइरस प्रयोग गरी बनाइएको यो भ्याक्सिन सफल बन्ने अपेक्षा गरिएको छ । यद्यपि, तेस्रो चरणको परीक्षणमा सहभागी एक स्वयंसेवी बिरामी परेपछि केही समय रोकेर परीक्षणलाई फेरि अघि बढाइएको छ । भ्याक्सिन निर्माणका लागि अमेरिकी सरकारले पनि १.२ बिलियन डलर रकम सहयोग गरेको छ । यो भ्याक्सिनको बेलायत र भारतमा दोस्रो र तेस्रो चरणको परीक्षण भइरहेको छ । ब्राजिल, दक्षिण अफ्रिका र अमेरिकामा भने तेस्रो चरणको परीक्षण भइरहेको छ । युरोपियन युनियनले भ्याक्सिन सफल भएको अवस्थामा चार सय मिलियन डोज किन्ने गरी सम्झौता गरेको छ ।

एजेन्सीको सहयोगमा