१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
दीपक अधिकारी काठमाडाैं
श्रवण थापा सर्लाही
२o८१ बैशाख ३० आइतबार २१:५२:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

शल्यक्रियाको अनुमति नै नभएको पोलिक्लिनिकद्वारा शल्यक्रिया गर्दा सुत्केरीको मृत्यु 

Read Time : > 2 मिनेट
दीपक अधिकारी, काठमाडाैं
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार २१:५२:oo

शल्यक्रियाको अनुमति नै नभएको पोलिक्लिनिकले जोखिमपूर्वक शल्यक्रिया गर्दा सुत्केरीको मृत्यु भएको छ । मलंगवा नगरपालिका– ९ स्थित अमर्त्य पोलिक्लिनिकले शल्यक्रियामार्फत सुत्केरी गराएकी मलंगवा नगरपालिका– १० निवासी २४ वर्षीया सविता भन्ने सहतीकुमारी हलुवाईको १६ भदौमा मृत्यु भएको हो ।

सहतीकुमारीलाई सुत्केरी बेथा लागेपछि १२ भदौमा परिवार र आफन्तले अमर्त्य पोलिक्लिनिक लगेका थिए । पोलिक्लिनिकका सञ्चालक एवं डा. सुरेन्द्र यादवले शल्यक्रियामार्फत बच्चा निकालेका थिए । शल्यक्रियालगत्तै सहतीको अवस्था गम्भीर बनेको पारिवारिक स्राेतको भनाइ छ । सहतीको चार दिनपछि १६ भदौ बिहान मृत्यु भएको थियो । तर, डा. यादवले भने बिरामीको अवस्था गम्भीर बनेको र सुविधासम्पन्न अस्पताल लैजान भन्दै परिवारलाई दबाब दिएको आफन्तको भनाइ छ । 

बिरामी लैजाने एम्बुलेन्स नपाएपछि पोलिक्लिनिकले नै एम्बुलेन्सको व्यवस्था गरेर जनकपुर रिफर गरेको थियो । पोलिक्लिनिकले तयार गरेको डिस्चार्ज पेपरमा समेत बिरामी जीवितै रहेको र पोलिक्लिनिकबाट रेफर गरेर पठाएको उल्लेख छ । तर, आफन्तले भने बिमारीको पोलिक्लिनिकमै मृत्यु भइसकेकोले जबर्जस्ती एम्बुलेन्समा राखेर पठाएको आरोप लगाएका छन् । 

बिरामीलाई रगत दिनुपर्ने र पोलिक्लिनिकमा नभएको भन्दै डा. यादवले एम्बुलेन्समा राखेर पठाएको मृतककी दिदी दुलारी देवीले बताइन् । ‘छिटो–छिटो लैजाऊ भनेर एम्बुलेन्समा राखिदिए,’ उनले भनिन्, ‘जनकपुर अस्पताल लैजाँदै गर्दा १० किलोमिटर पर ईश्वरपुर पुगेपछि एम्बुलेन्स चालकले नै बिमारीको मृत्यु भइसक्यो अब घर लैजाऊ भने । हामी अवाक् बनेर फर्कियौँ ।’ 

पीडित परिवारद्वारा दोषीमाथि कारबाहीको माग
पोलिक्लिनिकको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै पीडित परिवारले जिल्ला प्रशासन कार्यालयमा छानबिनको माग गर्दै निवेदन दिएका छन् । मृतकका श्रीमान प्रमोद साहकी दिदी दुलारी देवीले बुहारीको ज्यान गएको घटनाबारे छानबिन र क्षतिपूर्ति उपलब्ध गराइदिन माग गर्दै शुक्रबार जिल्ला प्रशासनमा उजुरी दिएकी हुन् ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पनि पीडित परिवारको तर्फबाट घटनाको छानबिन र क्षतिपूर्ति माग गर्दै ठाडो उजुरी परेको जानकारी दिए । उजुरी आएलगत्तै घटनाको अनुसन्धान सुरु गरेको प्रजिअ पौडेलले बताए । ‘उजुरी परेलगत्तै घटनाबारे छानबिन सुरु गरेका छाैँ,’ प्रजिअ पौडेलले भने, ‘पोलिक्लिनिक र सञ्चालक तथा डाक्टर यादवको कागजातसमेत झिकाएर छानबिन गर्ने तयारी भइरहेको छ ।’ घटना गम्भीर रहेकोले अनुमति प्रदायक निकाय जिल्ला जनस्वास्थ्य कार्यालय, मलंगवा नगरपालिका कार्यालयलगायतसँग आवश्यक समन्वय गरी छानबिन अगाडि बढाउने तयारी गरेको उनले बताए ।

अमर्त्य पोलिक्लिनिक एन्ड मटरनिटी सेन्टरले शल्यक्रियाको लागि कुनै पनि निकायबाट अनुमति लिएको छैन । तर, डा. सुरेन्द्रकुमार यादवले लामो समयदेखि यहाँ अप्रेसन थिएटर खडा गरी शल्यक्रिया गर्दै आएको पाइएको छ । सुत्केरीको मृत्युपश्चात् पोलिक्लिनिमा पुगेका सञ्चारकर्मीसँग डा. यादव स्वयंले शल्यक्रियाको अनुमित नभएको स्वीकार गरे । डा. यादवले शल्यक्रियापश्चात् रगत अभावका कारण बिरामीको अवस्था गम्भीर बनेको दाबी गरे । उनले बिमारीको स्वास्थ्य अवस्था बिग्रनेबित्तिकै जनकपुर रेफर गरेको दोहोऱ्याए । आवश्यक व्यवस्थापनविना नै शल्यक्रिया गरेकोमा गल्ती भएको डा. यादवले स्विकारे । 

सहतीको मृत्युपछि परिवारको बिचल्ली
सहतीको मृत्युसँगै चार दिनको दूधेबालकसँगै परिवारको बिचल्ली भएको छ । सहती र उनका श्रीमान प्रमोद छुट्टै बस्दै आएका थिए । परिवारमा नयाँ सदस्य थपिए पनि घरको मुख्य मान्छेकै मृत्यु भएपछि बिचल्ली भएको हो ।

उनीहरूले काठमाडौंमा चटपटे बेचेर गुजारा चलाउँदै आएका थिए । लकडाउनका कारण उनीहरू घर आएका थिए । घर आएपछि हातमुख जोर्न समस्या भएपछि प्रमोद गाउँमै घर निर्माण मजदुरको रूपमा काम गर्दै आएका थिए भने सहतीले छरछिमेकमा लुगा धुने र भाडा माझ्ने गर्दै आएकी थिइन् । 

कामकै सिलसिलामा केही समयअघि प्रमोदको आँखामा किलाले घोचेपछि काम छाडेका थिए । त्यसपछि घरखर्च धान्ने जिम्मा सहतीकै काँधमा थियो । उपचार अभावमा प्रमोदको दोस्रो आँखाको ज्योति पनि कमजोर बन्दै गएको छ । लकडाउनका कारण काम नभएपछि गर्भवती श्रीमतीसहित कैयौँ छाक भोकै बसेको प्रमोदले सुनाए ।

मृतक सहतीको अस्पताल खर्च र किरिया खर्चको लागि समेत छिमेकीले चन्दा संकलन गरेका थिए । प्रमोदले भने, ‘सम्पत्तिको नाममा यो खरको झुपडी छ । अब शिशुलाई कसरी हुर्काउनु ?’ 

परिवारको बिचल्ली देखेर व्यक्तिगत रूपमा ११ हजार सहयोग गरेको मलंगवा नगरपालिकाका मेयर निरसल साहले बताए । नगरको तर्फबाट हुने सक्दो सहयोग गर्ने मेयर साहको भनाइ छ ।
 

ad
ad