मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
जीवन बस्नेत काठमाडौ
२०७७ भदौ १८ बिहीबार १८:१५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 सूर्यविनायक–धुलिखेल सडक विस्तार योजना अलपत्र (फोटोफिचरसहित)

Read Time : > 2 मिनेट
२०७७ भदौ १८ बिहीबार १८:१५:००

जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले सम्भाव्यता अध्ययन गरिसकेको र काम गर्न इच्छा देखाएको करिब १५ किलोमिटरको सूर्यविनायक–धुलिखेल सडक विस्तार योजना अलपत्र परेको छ । सन् २०१८ मा अध्ययन सकेपछि जाइकाले सडक विस्तारका लागि राखेको प्रस्तावमा लागत धेरै भएको भन्दै घटाउन तत्कालीन सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीले वार्ता गरेका थिए । जाइकाले लागतमा लचिलो हुन नसक्ने बताएपछि सरकारले सुरुङमार्ग हटाएर भए पनि लागत घटाउन भन्यो । तर, जाइकाले सुरुङ राखेरै अध्ययन गरिसकेको भनेर अडान लियो ।

जाइकाले तत्कालीन पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसमक्ष प्रस्ताव राखेको थियो । मन्त्रीले लामो समयसम्म फाइल अगाडि नबढाएपछि जाइका चिढियो । आयोजना विस्तारको चाहना भए पनि सरकारको आयोजनालाई गर्ने व्यवहार सही नभएको तथा आवश्यक सहयोग नपाएको भन्दै सूर्यविनायक–धुलिखेल सडक विस्तारमा जाइकाले सहभागी नहुने बतायो । त्यसअघि नै जाइकाले वातावरणीय र सामाजिक प्रभाव अध्ययन पनि सम्पन्न गरिसकेको थियो । 

त्यसपछि अनौपचारिक रूपमा सरकार आफैँले सूर्यविनायक–धुलिखेल सडक विस्तार अघि बढाउने भन्यो । यसअनुसार हरेक वर्षको बजेटमा उक्त सडक विस्तार उल्लेख गर्दै आइरहेको छ । तर, फिल्डमा जाइकाले गरेको अध्ययनबाहेक कुनै प्रगति भएको छैन । ‘अहिले सूर्यविनायक–धुलिखेल सडक विस्तार स्थगित अवस्थामा छ,’ सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले भने, ‘सडक विस्तार गर्ने काम जाइकाले जहाँ छोडेको थियो, अहिलेसम्म त्यही स्थानमा छ, कुनै काम सुरु भएको छैन ।’  

तर, सडक विभागका महानिर्देशक केशवकुमार शर्माले भने सूर्यविनायक–धुलिखेल खण्डको स्तरोन्नतिका लागि जाइकासँग छलफल भइरहेको बताए । ‘केहीअघि नै जाइकाको टोली आउने तयारी थियो, अहिलेको परिस्थिति (कोभिड–१९) का कारण आउन सकेको छैन,’ उनले भने । अहिले तिनकुने–कोटेश्वर सडक विस्तार गर्नेसम्बन्धी जाइकासँग छलफल भइरहेकोसमेत उनले जानकारी दिए । ‘यसले गर्दा पनि अहिले सूर्यविनायक–धुलिखेल सडकको विषयमा छलफल हुन पाएको छैन,’ महानिर्देशक शर्माले भने । 

जाइकाले गरेको अध्ययनबारे जानकार मन्त्रालयका एक अधिकारीका अनुसार उसले २३ अर्ब रुपैयाँ लागत प्रस्ताव गरेको थियो । यो रकम जग्गा प्राप्तिबाहेकको हो । जग्गासमेत लिँदा लागत करिब ४२ अर्ब रुपैयाँ पर्ने अनुमान छ । जाइकाले शून्य दशमलव २ प्रतिशत ऋण सहयोगमा आयोजना बनाउन प्रस्ताव गरेको थियो । जाइकाले गरेको आयोजनाको लागत उच्च रहेको उनको भनाइ छ ।

पछिल्ला दुई आर्थिक वर्षको बजेटमा सूर्यविनायक–धुलिखेल विस्तार 
चालू आव ०७७/७८ को बजेटमा सूर्यविनायक–धुलिखेल खण्डको स्तरोन्नति गर्न र कान्ति राजपथ निर्माणको काम पूरा गर्न एक अर्ब २० करोड रुपैयाँ बजेट व्यवस्था गरिएको छ । गत आव ०७६/७७ को बजेटमा भने उपत्यकाको विद्यमान सवारीचापलाई व्यवस्थापन गर्न सूर्यविनायक–धुलिखेल खण्डको स्तरोन्नतिका लागि विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण कार्य प्रारम्भ गरिने उल्लेख थियो । 

यस्तो थियो जाइकाको अध्ययन 
जाइकाले सूर्यविनायक–धुलिखेल विस्तार गरी सडक ६ लेन (सवारीसाधनका लागि ४ लेन र दुई सर्भिस लेन) बनाउने उल्लेख छ । त्यस्तै, साँगामा सुरुङमार्ग बनाइने प्रस्ताव छ । विस्तार गर्नुपर्ने सडकको कुल लम्बाइ १४ दशमलव ९१ किलोमिटर र त्यसमा सुरुङको लम्बाइ एक दशमलव २९ किलोमिटर रहनेछ । सुरुङभित्र दुई लेन र त्यसको चौडाइ साढे तीन मिटरको रहनेछ । कर लिने ठाउँ सुरुङको दुवैतर्फ एक–एकवटा हुनेछन् ।

त्यस्तै, यस सडकको डिजाइन स्पिड ८० किलोमिटर हुनेछ भने साँगा क्षेत्रमा ६० किलोमिटर प्रतिघन्टा रहेको छ । त्यस्तै, ६ ठाउँमा आकासेपुल हुनेछन् भने चारवटा पुल र एउटा कल्भर्ट निर्माण गरिनेछ । सन् २०१० अप्रिलमा जाइकाले सडक विस्तारको वातावरणीय र सामाजिक प्रभावको अध्ययन गरेको थियो । त्यस्तै, यसअघि कोटेश्वरदेखि सूर्यविनायकसम्म जाइकाले नै सडक विस्तार गरेको थियो ।  

फोटोफिचर : अमुल थापा