मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ १८ बिहीबार ०४:००:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गौतमको प्रस्तावले ओलीमाथि नैतिक दबाब : गौतम र खतिवडा दुवैलाई राष्ट्रिय सभामा पठाउने ओलीको नयाँ प्रस्ताव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ १८ बिहीबार ०४:००:००

सरकारको सिफारिसमा राष्ट्रिय सभा सदस्य बनाउने र डा. युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने प्रधानमन्त्री केपी ओलीको प्रयासमा पार्टीभित्रैबाट अवरोध सुरु भएको छ । नेकपाभित्र विकसित पछिल्लो घटनाक्रम र सचिवालयको शक्ति सन्तुलनले खतिवडालाई निरन्तरता दिने प्रधानमन्त्री ओलीमाथि दबाब बढेको छ । संकटका वेला आफूलाई साथ दिएका उपाध्यक्ष वामदेव गौतमले आफ्नो दाबेदारी पेस गरेपछि ओलीले विभिन्न विकल्पमा समेत छलफल थालेका छन् । 

पूर्ववत निर्णयअनुसार आफू राष्ट्रिय सभा सदस्य भई सरकारमा जाने उपाध्यक्ष गौतमले सार्वजनिक रूपमै दाबी गरेपछि प्रधानमन्त्री ओलीमाथि ठूलै नैतिक दबाब परेको छ । संसद् सदस्य नरहे पनि ६ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाको जगमा पछिल्लोपटक फागुनमा अर्थमन्त्रीमा निरन्तरता पाएका खतिवडाको कार्यकाल २१ भदौमा सकिँदै छ । खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिन २० भदौसम्म राष्ट्रिय सभा सदस्य बनाउनैपर्छ । 

खतिवडाको कार्यकाल सकिनै लाग्दा र प्रधानमन्त्रीले राष्ट्रिय सभामा पठाउने तयारी गरिरहेका वेला उपाध्यक्ष गौतमले आफ्नो चासो व्यक्त गरेर प्रधानमन्त्री ओलीलाई खतिवडाबारे पुनर्विचार गर्नुपर्ने ठाउँमा पुर्‍याइदिएका छन् । यद्यपि बुधबार साँझसम्म ओलीले पार्टीका अन्य नेतालाई खतिवडाको पक्षमा सहमति गर्न आग्रह गरेका छन् । ओली खतिवडालाई अर्थमन्त्रीमा निरन्तरताको पक्षमा छन् । 

तर, नौ सदस्यीय सचिवालयमा प्रधानमन्त्री ओली र ईश्वर पोखरेलबाहेक सात सदस्य गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने पक्षमा छन् । पार्टी एकताका लागि भन्दै केही समय अगाडि ६बुँदे प्रस्ताव अगाडि सारेका गौतमले केही नेताहरूसँगको परामर्शमै राष्ट्रिय सभा सदस्यसहित सरकारमा जाने प्रस्ताव अगाडि सारेका हुन् । राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक पद खाली छ । 

सचिवालयका बहुमत सदस्य अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष गौतम आफैँ, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल अर्थमन्त्रीमा खतिवडालाई निरन्तरता दिन नहुने पक्षमा छन् । ‘पार्टी उपाध्यक्षको विकल्पमा खतिवडालाई अगाडि बढाउन धेरै जटिल भएको छ,’ सचिवालयका एक नेताले भने, ‘त्यसमाथि नौ सदस्यीय सचिवालयमा सात–दुईको अवस्था छ । यसलाई प्रधानमन्त्रीले क्रस गर्न गाह्रो हुन्छ ।’

स्रोतले बताएअनुसार बुधबार ओलीले गौतम र खतिवडा दुवैलाई राष्ट्रिय सभामा पठाउने विकल्पबारे पनि छलफल गरेका थिए । राष्ट्रिय सभाका कुनै सदस्यलाई राजीनामा गराएर उपाध्यक्ष गौतमलाई पनि पठाउन सकिने प्रधानमन्त्री ओलीको एउटा विकल्प थियो । 

राष्ट्रिय सभामा गौतम कि खतिवडा भन्ने दुवै पक्षका आ–आफ्ना गृहकार्यबीच बिहीबार नेकपाको सचिवालय बैठक बस्दै छ । बैठकको पूर्वसन्ध्यामा दुई अध्यक्ष ओली र प्रचण्डबीच तथा अन्य शीर्ष नेताहरूबीच छलफल भए पनि राष्ट्रिय सभामा कसलाई पठाउने भन्ने सहमति बनेको छैन । 

बुधबार ओली र प्रचण्डबीच सचिवालय बैठकको एजेन्डामा केन्द्रित रहेर छलफल भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार उनीहरूबीच करिब दुई घन्टा एजेन्डाकेन्द्रित छलफल भएको हो । बिहीबार बिहान ११ बजे बालुवाटारमा बोलाइएको बैठकको गृहकार्यका क्रममा उनीहरूबीच छलफल भएको हो । ओली र प्रचण्डले बुधबार संयुक्त रूपमा अर्थमन्त्री खतिवडालाई पनि बालुवाटार बोलाएर भेटेका थिए । 

प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमसँग बालुवाटार र अध्यक्ष प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँग खुमलटारस्थित निवासमा बेग्ला–बेग्लै छलफल गरेका छन् । स्रोतका अनुसार प्रचण्ड र नेपालबीच सचिवालय बैठकमा राष्ट्रिय सभामा गौतमलाई पठाउनेबारे १४ फागुनको निर्णय कार्यान्वयनको पक्षमा उभिने सहमति भएको छ । उता, प्रधानमन्त्री ओलीले भने उपाध्यक्ष गौतमलाई साँझ बेग्लै भेटेर मनाउने प्रयास गरेका छन् । 

बैठकमा पार्टी समस्या समाधानका लागि गठित महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल गर्ने एजेन्डा छ । कार्यदलले ६ भदौमा अध्यक्ष ओली र प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो ।

‘उहाँहरूबीच एजेन्डाकेन्द्रित नै छलफल भएको हो, तर सबै विषय बैठकमै छलफल गर्ने समझदारी भएको छ,’ प्रचण्डलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘वामदेव कमरेडका विषयमा पनि बैठकमै छलफल गरेर निष्कर्षमा पुग्ने तयारी छ ।’