मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २४ आइतबार
  • Sunday, 10 December, 2023
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २५ शनिबार ०८:१३:००
Read Time : > 1 मिनेट
खेलकुद

थ्री स्टार र पुलिसको एउटै लक्ष्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २५ शनिबार ०८:१३:००

थ्री स्टार र नेपाल पुलिस क्लब सहिद स्मारक ए डिभिजन लिगको उपाधिहोडबाट बाहिरिसकेका छन् । थ्री स्टार र पुलिस एकै लक्ष्यका साथ अगाडि बढिरहेका छन्, शीर्ष ६ भित्र रही लिग सकाउने । १०औँ चरणको समाप्तिपछि पुलिसका प्रशिक्षक अनन्तराज थापा र थ्री स्टारका प्रशिक्षक मेघराज केसीले लिगका बाँकी खेल जित्दै शीर्ष ६ को लक्ष्य पूरा गर्ने बताएका थिए ।

दुवै प्रशिक्षकलाई स्पष्ट थाहा छ, एक हारले त्यो स्थान रक्षा गर्न मुस्किल पर्न सक्छ । लिगअन्तर्गत शुक्रबार ११औँ चरणमा थ्री स्टार र पुलिस आ–आफ्ना प्रतिद्वन्द्वीलाई समान १–० को अन्तरले हराउँदै लक्ष्यतर्फ लम्किए । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले साबिक उपविजेता संकटा क्लबलाई १–० ले हराउँदा पुलिसले ब्रिगेड ब्वाइजमाथि १–० को कठिन जित निकाल्यो । 

थ्री स्टारलाई संकटाविरुद्ध महत्वपूर्ण तीन अंक दिलाउने क्रममा अनन्त तामाङले एक मात्र निर्णयक गोल गरेका थिए । अनन्तले खेलको ६१औँ मिनेटमा संकटाका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा गोल गरेका थिए । यता पुलिसले ब्रिगेडलाई निराश पार्दा भरत साहले गोल गरेका थिए । भरतले २९औँ मिनेटमा गोल गरेका हुन् । थ्री स्टार २० अंकका साथ तेस्रो स्थानमा उक्लिको छ । १७ अंक बटुलेको पुलिस लिगको पाँचौँ स्थानमा छ । 

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले शीर्ष ६ मा रहने योजना पक्का भएको बताए । ‘संकटालाई पराजित गरेसँगै हाम्रो शीर्ष ६ स्थान सुरक्षित भएको महसुस भयो,’ केसीले भने । संकटाका प्रशिक्षक विजय महर्जनले आफूहरू शीर्ष ६ का लागि संघर्ष गरिरहेको बताए । ‘हामीले सोचेजस्तो खेल खेल्न सकेनौँ,’ महर्जन भन्छन्, ‘हामीसँग दुई खेल बाँकी छ र शीर्ष ६ को सम्भावना कायम छ ।’ ११ खेलमा १५ अंक जोडेको संकटा छैटौँ स्थानमा रह्यो । पुलिसका प्रशिक्षक थापाले जितसँगै शीर्ष ६ मा पुग्न केही सहज भएको बताए । ‘हाम्रो डिफेन्समा अझै समस्या छ,’ थापाले भने, ‘हामीलाई अग्रता जोगाउन मुस्किल परेको थियो ।’