• वि.सं २०७६ चैत २३ आइतबार
  • वि.सं २०७६ चैत २३ आइतबार
  • Sunday, 05 April, 2020
गोविन्द सुवेदी पोखरा
२०७६ माघ ८ बुधबार १८:३८:००
समाचार

पर्यटक बसपार्क निर्माण ७० प्रतिशत सम्पन्न

२०७६ माघ ८ बुधबार १८:३८:००

पोखरामा पर्यटक बसपार्क निर्माणको काम तीव्र रूपमा अघि बढेको छ । बसपार्क निर्माणको अहिलेसम्म ७० प्रतिशत सकिएको भन्दै निर्माण कम्पनी आशिष सिएम मिसन जेभीका निर्देशक शान्तकुमार श्रेष्ठले सम्झौता मितिभन्दा अगावै हस्तान्तरण गर्ने लक्ष्यका साथ काम भइरहेको बताए ।

‘बैशाखको अन्त्यसम्ममा काम सक्ने र हस्तान्तरण गर्ने लक्ष्य हो,’ उनले भने, ‘काम गर्दागर्दै केही ढिलै भए पनि चालु आर्थिक वर्षको अन्त्यसम्म निर्माण सम्पन्न भएर हस्तान्तरण भइसक्छ ।’ उनका अनुसार निर्माणको मुख्य काम सकिएको छ । अब कम्पाउण्ड वाल, बिल्डिङको ढलान, गेट राख्ने र भूइँको केही ढलानको काम मात्र बाँकी छ । पर्यटक बसपार्क गत वर्षको २८ फागुनमा सम्झौता भएर निर्माण कार्य सुरु भएको हो । सम्झौताअनुसार २ असोज ०७७ भित्र बसपार्क निर्माण सम्पन्न भएर हस्तान्तरण गर्नुपर्नेछ ।

निर्माण कम्पनीको स्थानीय प्रतिनिधि एबिज् इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिका प्रोजेक्ट डाइरेक्टर इन्जिनियर असिम बरालका अनुसार पर्यटक बसपार्कमा ४० वटा पर्यटक बस आवतजावत गर्न सक्नेछन् । त्यस्तै १० वटा माइक्रो बस, २० वटा ट्याक्सी पार्किङ र केही कारसमेत राख्ने स्थल रहनेछ । बसपार्कको दक्षिण–पूर्वमा प्रवेशद्वार र दक्षिण–पश्चिममा बस बाहिरिने गेट रहनेछ । बसपार्कको बीचमा आकर्षक आइल्यान्ड गार्डेन निर्माण गरिनेछ । त्यस्तै बसपार्कमा व्यवस्थित शौचायल र चमेना गृहसमेत रहनेछ ।

पोखरा महानगरपालिका–७, राष्ट्रबैंक चोक नजिक रहेको पर्यटक बसपार्कको क्षेत्रफल सात हजार नौ सय वर्गमिटर रहेको छ भने लागत सात करोड ५० लाख रहेको छ ।