१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ जेठ ६ आइतबार o६:२९:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पाँच दिनभित्र दशरथ रंगशालाको प्रगति विवरण बुझाउन राखेप र एन्फालाई निर्देशन

दोस्रोपटक पनि विश्वकप छनोट खेल नेपालबाट सारिने जोखिम बढेपछि खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मंगलबार राखेप र एन्फाका पदाधिकारीसहित दशरथ रंगशालाको निरीक्षण गर्दै पाँच दिनभित्र विवरण बुझाउन दिए निर्देशन

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o६:२९:oo

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दशरथ रंगशालाको प्रगति विवरण पाँच दिनभित्र बुझाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निर्देशन दिएका छन् । त्रिपुरेश्वरस्थित रंगशालाको मंगलबार निरीक्षण गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।  विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत २४ जेठमा रंगशालामा हुने भनिएको युएईविरुद्धको दोस्रो चरणको छनोट खेल अन्य मुलुकमा सारिने जोखिम बढेको एन्फाको भनाइ छ ।  

लगातार दोस्रोपटक विश्वकप छनोट खेल नेपालबाट सारिने सम्भावना बढेपछि खेलकुदमन्त्रीले राखेप र एन्फाका पदाधिकारीकै उपस्थितिमा रंगशालाको निरीक्षण गरेका हुन् । उनले राखेप र एन्फासँग रंगशालाको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् । ‘एएफसीले रंगशालाको अवस्थालाई लिएर प्रश्न उठाउनु गम्भीर विषय हो । के कारणले यस्तो अवस्था आएको हो,’ मन्त्री श्रेष्ठले भने, ‘त्यसको उत्तर जिम्मेवार पक्षले दिनुपर्छ । अबको २८ दिनपछि खेल हुँदै छ । मलाई पाँच दिनभित्रमा प्राति विवरण चाहिन्छ । त्यसका लागि जे–जे गर्नुपर्छ गर्नुहोस् ।’ 

मन्त्री श्रेष्ठले विश्वकपको छनोट खेल घरेलु मैदानमा खेल हुन नसके सम्बन्धित निकाय कारबाहीको भागीदार हुनुपर्ने स्पष्ट पारेका छन् । ‘मैदानकै कारण रंगशालामा खेल भएन भने पक्कै पनि यसमा दोषी ठहरिने निकाय कारबाहीको भागेदारी हुनुपर्छ,’ चेतावनी दिँदै मन्त्री श्रेष्ठले भने । यसअघि पनि दशरथ रंगशाला खेल्नयोग्य नहुँदा गत चैतमा नेपालले बहराइनविरुद्धको दुवै खेल बहराइनमै खेलेको थियो । त्यसपछि राखेपले एन्फाबाट मैदान हेरचाहको जिम्मेवारी खोसेको थियो । पछिल्लो समयमा राखेप र एन्फाबीचको सम्बन्ध त्यति राम्रो छैन । राखेपले स्वीकृतिविना अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा खेलाडीसँगै अनावश्यक रूपमा पदाधिकारी पठाउनमाथि रोक लगाएपछि दुई पक्षबीचको सम्बन्ध राम्रो छैन ।

के हो एएफसीको मापदण्ड ?
गत मंसिरमा यसै मैदानमा नेपाल र यमनबीच विश्वकपअन्तर्गत दोस्रो चरणको खेल भएको थियो । त्यतिवेला  एएफसीले दशरथ रंगशाला अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुसार नभएको जनाएको थियो । एन्फाले विशेष आग्रहमा छनोट प्रतियोगिता गराएको महासचिव किरण राईले बताए ।

‘हामीले त्यसवेला एएफसीका प्रतिनिधिहरूसँग प्रतियोगिता आयोजना गर्न आग्रह गरेका थियौँ । उहाँहरूले हाम्रो प्रस्ताव मान्नुभयो, तर अर्कोपटक आवश्यक मापदण्ड पूरा हुनुपर्ने बताइएको थियो,’ उनले भने, ‘यसपटक उहाँहरू मान्नुभएन ।’ उनका अनुसार २१ र २२ वैशाखमा एएफसीका प्रतिनिधिले दशरथ रंगशालाको अवस्था निरीक्षण गरेका थिए । उनीहरूले रंगशाला अन्तर्राष्ट्रियस्तर हुन आवश्यक मापदण्ड पूरा नभएको दोहोर्‍याएका थिए ।

 यसैगरी, एएफसीका प्रतिनिधिहरूले रंगशालाको पिच कन्डिसन तथा सुरक्षा व्यवस्था कमजोर रहेको जानकारी दिएको एन्फाका सिइओ इन्द्रमान तुलाधरले बताए । ‘एएफसीले दशरथ रंगशालाको पिच कन्डिसन राम्रो नभएको र यहाँको सुरक्षा व्यवस्थासमेत कमजोर रहेको उल्लेख गरेको छ,’ तुलाधरले भने, ‘एएफसीले हामीसँग योजना मागेको छ ।’ एएफसीका प्रतिनिधिहरूले घुमाउरो रूपमा रंगशाला पुरानो भएको बताएका छन् । ‘रंगशालाको इन्जिनियरिङ पक्षमा मापदण्ड पूरा नभएपछि एएफसीका प्रतिनिधिहरू असन्तुष्ट छन्,’ उनले भने ।  

 मैदान स्तरोन्नति गर्न एएफसीसँग १० दिन समय माग
एन्फाले दशरथ रंगशालाको स्तरोन्नति गर्न एएफसीसँग थप १० दिनको समय मागेको छ । एन्फाका अध्यक्ष पंकज नेम्वाङले विश्वकप छनोट खेल नेपालमै आयोजना गराउन एएफसीसँग समय मागेको बताएका छन् । ‘अभैm पनि नेपालमा छनोट खेल हुने सम्भावना छ । यसको तयारीस्वरूप रंगशालाको स्तरोन्नति गर्न हामीले एएफसीसँग १० दिन मागेका छौँ,’ उनले भने । राखेप सदस्यसचिव टंकलाल घिसिङले एक साताभित्र मैदानको चारैतिर दुबो हुने बताए । ‘एक साताभित्र हामी मैदानको चारैतिर दुबो राख्छौँ,’ उनले भने, ‘यसका लागि हामीले तीव्रता दिएका छौँ ।’ 

एएफसीका प्रतिनिधिहरू रंगशाला निरीक्षण गर्न आउँदा एन्फाले राखेपसँग समन्वय नगरेको घिसिङको आरोप छ । गत चैतमा दशरथ रंगशालामै तय भएको बहराइनविरुद्धको विश्वकप छनोट खेल बहराइनमै सारिएपछि राखेपले मैदानको रेखदेख गर्ने सबै जिम्मेवारी आफ्नो स्वामित्वमा लिएको थियो । यसअघि एन्फाले रंगशालाको जिम्मेवारी लिएको थियो । एन्फाले मैदान तयार नगरी यहाँ विभिन्न फुटबल प्रतियोगिता आयोजनामा ध्यान दिएको थियो । एन्फाले आफ्नो दायित्व पूरा नगरेपछि रंगशालाको सबै जिम्मेवारी राखेपले लिँदै काम गरिरहेको छ । 

 खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको निर्देशन– पाँच दिनभित्र जवाफ चाहियो
एएफसीले रंगशालाको अवस्थालाई लिएर प्रश्न उठाउनु गम्भीर विषय हो । के कारणले यस्तो अवस्था आएको हो । त्यसको उत्तर जिम्मेवार पक्षले दिनुपर्छ । अबको २८ दिनपछि खेल हुँदै छ । मलाई पाँच दिनभित्रमा प्रगति विवरण चाहिन्छ । त्यसका लागि जे–जे गर्नुपर्छ गर्नुहोस् ।

ad
ad