Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2020
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यबारे जानकारी लिएर अस्पतालबाट फर्किँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : दीपेन्द्र ढुंगाना
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १३ शुक्रबार ०६:३२:००
मुख्य समाचार

प्रधानमन्त्री ओली आफैँले गरे ट्विट : ‘मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेछ’

नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १३ शुक्रबार ०६:३२:००

तीन दिनअघि मनमोहन कार्डियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको अप्रेसन गरिएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार आउँदै छ । बिहीबार दाल र कालो चिया खाएका उनले केही भेटघाट र गफगाफ मात्रै होइन, ट्विटरमार्फत आफ्ना शुभेच्छुकहरूलाई धन्यवाद पनि दिएका छन् । आफ्नो स्वास्थ्य दु्रतगतिमा सुधार भइरहेको उनले जानकारी गराएका छन् ।

बिहान १० बजेतिर चिकित्सकहरूले प्रधानमन्त्री ओलीलाई दाल र कालो चिया खुवाएका थिए । त्यही वेला उनले स्वकीय सचिव राजेश बज्राचार्यको साथमा रहेको आफ्नो मोबाइल मागेर ट्विटर खोलेको सचिवालयका एक सदस्यले बताए । लगत्तै ट्विट गरे, ‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिवेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थितिबारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’  

प्रधानमन्त्री ओलीले प्रमुख सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापामार्फत पछिल्ला घटनाक्रमबारे जानकारी लिएका थिए । गत सोमबार मन्त्रालयहरूको चौमासिक बैठकमा दिएको निर्देशन कार्यान्वयनबारे पनि सचिवालय सदस्यहरूमार्फत चासो राखेका थिए ।

नीति र बजेट एकातिर काम अर्कातिर भएको भन्दै प्रधानमन्त्रीले चौमासिक बैठकमा असन्तुष्टि राख्दै एकरूपताका साथ काम गर्न निर्देशन दिएका थिए । त्यस्तै, कृषि अनुदानको रकम दुरुपयोग हुने गरेको सूचना आइरहेको भन्दै वितरित रकमको सम्पूर्ण विवरण १५ दिनभित्र प्रधानमन्त्री कार्यालयलाई पठाउन निर्देशन दिएका थिए । सोही निर्देशनको कार्यान्वयनबारे प्रधानमन्त्रीले अस्पतालबाटै चासो राखेका हुन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति बुझ्न  राष्ट्रपति विद्यादेवी भण्डारी पनि बिहीबार साँझ ७ बजेर ४० मिनेटमा अस्पताल पुगेकी थिइन् । उनले २० मिनेट ओलीसँग कुराकानी गरिन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको स्वास्थ्यबारे चिकित्सक र प्रधानमन्त्रीका परिवार तथा आफन्तसँग पनि जानकारी लिएकी छिन् । चिकित्सकहरूले प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको जानकारी गराएका थिए ।

‘सम्माननीय राष्ट्रपतिज्यूले प्रधानमन्त्रीज्यूको स्वास्थ्यस्थितिमा भइरहेको सुधारप्रति खुसी र सन्तोष व्यक्त गर्नुभयो,’ भेटपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँले प्रधानमन्त्रीको शीघ्र र पूर्ण स्वास्थ्यलाभको शुभकामना पनि व्यक्त गर्नुभयो ।’ प्रधानमन्त्रीलाई भेट्न बिहीबार नै जनार्दन शर्मा, राजेन्द्र लिङ्देनलगायत नेता तथा शुभचिन्तक पनि अस्पताल पुगेका थिए । तर, चिकित्सकले राष्ट्रपति, परिवारका सदस्य, सल्लाहकार र सचिवालय समूहका सदस्यबाहेक कसैलाई प्रधानमन्त्रीसँग भेट गर्न दिएका छैनन् ।