१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मोहम्मद सकिल अख्तर, अफ्ताव आलमका भाइ (काकाको छोरा) तथा राजपुर नगरपालिकाका मेयर
नयाँ पत्रिका
२०७६ कार्तिक २ शनिबार ०७:००:००
Read Time : > 4 मिनेट
अन्तर्वार्ता

पटाका पड्केको हुन सक्छ मान्छेले त्यसैलाई बम भनिदिए : मोहम्मद सकिल अख्तर

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२०७६ कार्तिक २ शनिबार ०७:००:००

२७ चैत ०६४ को साँझ तपाईं कहाँ हुनुहुन्थ्यो ? 
 राजपुर स्थित घरमै थिएँ । 

कांग्रेसका पुराना नेता सेख इद्रिसको टहरोदेखि तपाईंको घर कति टाढा छ ? 
एकै ठाउँमा हो । उहाँको टहरो घर र मेरो घरको साँध जोडिएको छ । 

२७ चैत ०६४ को साँझ खास के भएको हो ? 
केही पनि भएको छैन । भोलिपल्ट चुनाव थियो । गाउँमा चुनावको महोल थियो । सुरक्षाकर्मी गाउँमा थिए । अरू के हुन्थ्यो ! 

त्यस दिन इद्रिसको टहरोमा बम विस्फोट हुँदा कहाँ हुनुहुन्थ्यो ? 
कहाँ विस्फोट भयो बम ? मलाई त थाहा छैन । घरमै बसेको मान्छे म । मलाई त थाहा हुनुपर्ने हो । त्यसमाथि चुनावमा गाउँभर सुरक्षाकर्मी खटिएका थिए । उनीहरूलाई त थाहा हुनुपर्ने हो । त्यस दिन सुरक्षा–प्रबन्ध निकै कडा थियो । त्यस्तो वेला कसरी बम विस्फोट हुन सक्छ ?

बमको धमाका ११ किलोमिटर टाढाको गौरमा बसेका मान्छेले समेत सुनेको अहिले पनि बताउँछन् । धुवाँको मुस्लो पनि माथि आकासमा उडेको थियो रे ? 
पटका पड्केको हुन सक्छ । मान्छेले त्यसैलाई बम भनिदिए । खासमा भएको केही होइन । 

धुवाँको मुस्लो कसरी उड्यो त ?
चैतको महिना । गाउँको गोठमा आगो फुकेको हुन सक्छ । धुवाँ त्यसैबाट उड्यो होला । त्यो बमकै धुवाँ थियो भन्ने के ग्यारेन्टी छ ? 

घटनास्थलमा ओसी अख्तरको कपडा, जुत्ता भेटियो भन्ने छ नि ? 
को ओसी अख्तर ? हामी त चिन्दैनौँ । फेरि त्यहाँ भेटिएको कपडा र जुत्ता ओसी अख्तरकै थियो भन्ने के ग्यारेन्टी छ ? थोडी त्यो कपडा र जुत्तामा ओसी अख्तरको नाम लेखिएको थियो ? कपडा त जोसुकैको हुन सक्छ नि । 

ओसी अख्तरलाई चुनावी प्रचार त तपाईंकै दाइले ल्याएको होइन ? 
चुनाव प्रचारमा उसलाई किन ल्याउनु । ऊ त अर्कैै पार्टीको मान्छे । प्रचार गर्न हामीसँगै काफी कार्यकर्ता छन् । 

अघि त ओसीलाई चिन्दिनँ भन्नुहुन्थ्यो नि ? 
होइन । गाउँलेले भनेको सुनेको ।

पिन्टु भनिने त्रिलोकप्रताप सिंहलाई चिन्नुहुन्छ ? 
अलिअलि चिन्छु ।

को हो त्यो मान्छे ? 
गाउँको गुण्डा हो । अपहरण मुद्दामा जेलसमेत परेको मान्छे हो त्यो । जिल्ला प्रहरी कार्यालयमा रेकर्ड हेर्दा हुन्छ ।

उसलाई पनि चुनाव प्रचारमा तपाईंकै दाइले लगेको होइन र ? 
त्यसको के प्रमाण छ ? मलाई त थाहा छैन । त्यस्तो गुण्डालाई हामी किन चुनाव प्रचारमा ल्याउँछौँ होला त । 

ओसी र पिन्टु २७ चैतको बम विस्फोटमा परेर घाइते भएको अनि पछि इन्जेक्सन लगाएर मारेको होइन र ? 
जब कि बम नै विस्फोट भएको होइन भने उनीहरूको मृत्यु कसरी हुन्छ ?

विस्फोट भएको मात्रै होइन, इँटाभट्टामा लगेर जलाएको देख्ने प्रत्यक्षदर्शी सरुहट्ठाका समसुल मियाँले त्यही भन्छन् त ? 
सरुहट्ठा राजपुरबाट पाँच किलोमिटर टाढा छ ।त्यहाँको मान्छे कसरी प्रत्यक्षदर्शी हुन सक्छ ? 

इँटाभट्टा लगेर १७ भन्दा धेरै जिउँदा र मृत शरीर जलाएको भन्छन् नि उनी ?
विस्फोट नै भएको छैन भने कसरी १७ जनाको मृत्यु हुन्छ ? अनि कसरी इँटाभट्टामा लगेर जलाइन्छ ? यो सब झुट हो । 

२७ चैतको राति सशस्त्र प्रहरीको गाडी स्कर्टिङ गर्दै ट्र्याक्टरको पछिपछि इँटाभट्टामा पुगेको प्रसंगचाहिँ के हो नि ? 
भोलिपल्ट चुनाव थियो । चुनावका लागि सशस्त्र प्रहरीको मात्रै होइन, अन्य सुरक्षा संयन्त्रको पनि गाडी आउन सक्छ । त्यस दिन राति पनि आयो होला, के नौलो भयो र ? 

त्यसो हो भने चुनाव प्रचारमा तपाईंहरूसँग हिँडेका ओसी र पिन्टु कहाँ गए त ? 
उनीहरू कहाँ गए कसरी भन्न सक्छौँ हामी । टोलका गुण्डा थिए । कतै बेपत्ता भए होलान् । उनीहरूको ग्यारेन्टी हामी कसरी लिन सक्छौँ र ? 

मृतक ओसीकी आमा रुक्साना खातुन, पिन्टुका बुबा श्रीनारायण सिंह र घटनाको प्रत्यक्षदर्शी समसुल मियाँले त २७ चैतमा भएको विस्फोटमा मृत्यु भएको भन्छन् त ? 
कसरी त्यस्तो हुन्छ ? ती सबै झुटा हुन् । जब कि बम विस्फोट नै भएको छैन भने कसरी मृत्यु हुन्छ ? 

त्यसो भए उनीहरू तपाईंहरूकोविरुद्ध किन लागे त ? 
यो सबै षड्यन्त्र हो । राजनीतिक प्रतिशोध साँध्न यसो गरिएको हो ।अफ्ताव आलमको लोकप्रियता सक्न यसो गरिएको हो ।

षड्यन्त्र त आफूबराबरका सँग गर्ने हो । राजनीतिक, आर्थिक र सामाजिक हैसियतले अफ्ताव आलम रुक्साना, श्रीनारायण र समसुलभन्दा निकै माथि देखिन्छन् । उनीहरूले यस्तो षड्यन्त्र गरे भनेर कसरी पत्याउने ? 
उनीहरू देखिने पात्र मात्रै हुन् । उनीहरू त गोटी मात्रै हुन् । खेलाउने त अरू नै छन् । 

को होलान् त उनीहरू ? 
यस विषयमा भन्न मिल्दैन । यति चाहिँ ग्यारेन्टी साथ भन्न सक्छु– दाइको लोकप्रियताबाट तर्सिएकाहरू षड्यन्त्रमा संलग्न छन् । अहिले यो, ऊ किन भन्नुप-यो र ? 

राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक र नेपाल बार एसोसिएसनको प्रतिवेदनमा पनि त्यस दिन इद्रिसको टहरोमा बम विस्फोट नै भएको उल्लेख छ नि ? 
त्यो सबै गलत हो । बम विस्फोट भएकै हो भने सँगै रहेको मेरो घरमा क्षति पुग्नुपर्ने हो । १७ भन्दा धेरैको मृत्यु भएको भए त्यत्रो विस्फोटमा वरिपरिको घरमा क्षति पुग्दैन ? त्यस्तो प्रमाण भेटाउनुभएको छ ? यो सबै षड्यन्त्र हो । 

बम विस्फोट नभएको भए टहराको छानो, भित्ता कसरी रातारात परिवर्तन गरियो ? प्रतिवेदनमा त त्यही उल्लेख छ नि ।
विस्फोट नै भएको छैन भने कसरी टहराको छानो र भित्ता परिवर्तन हुन्छ । त्यो पहिले जस्तो थियो, अहिले पनि उस्तै छ । प्रतिवेदनमा उल्लेख भएको सबै झुट हो ।

त्यसमा राजनीतिक षड्यन्त्र छ । इन्सेक, आयोग र बार पनि आलमविरुद्धकै षड्यन्त्रमा लागे होलान् त ? यसो गर्दा उनीहरूलाई के लाभ होला र ?

 षड्यन्त्र भएकै हो । त्यसैले प्रतिवेदन बन्यो । यसमा उनीहरूलाई के लाभ छ त्यो म कसरी भनौँ ?

इँटाभट्टाचाहिँ किन नष्ट गरियो नि ? 
पुरानो भयो । ढल्यो । यसमा नयाँ के नै छ र ? 
प्रहरी–प्रशासनलाई तपाईंहरूले प्रभावित पार्दा मृतकका आफन्तको जाहेरी नै लिएनन् भन्ने छ नि ? 
नेपालको प्रहरीलाई हामी खरिद गर्न सक्छौँ ? यो त हुनै नसक्ने कुरो हो । जाहेरी किन लिनुभएन त्यो हामी कसरी भनौँ ?

त्यसो भए जिल्ला अदालत, महान्यायाधिवक्ताको कार्यालय र पुनरावेदनले खारेज गरेको मुद्दा सर्वोच्च अदालतले किन उल्टायो त ? 
यसमा यस्तो छ– उहाँहरूले जाहेरी दिनुभयो, मुद्दा अदालतमा पुग्यो, तर प्रमाण नपुगेर खारेज भयो । प्रमाण पुगेको भए त मुद्दा चलिहाल्थ्यो नि । जिल्ला अदालत, महान्यायाधिवक्ताको कार्यालय र पुनरावेदनले खारेज ग-यो, ठीक ग-यो । अब सर्वोच्चले किन उल्टायो, के भन्न सकिन्छ र ? मलाई शंका छ, सर्वोच्च प्रभावित भयो । 

त्यसो भए सर्वोच्चको आदेश गलत हो ? 
गलत हो । यसमा हामीलाई शंका छ । 

सर्वोच्चको आदेशपछि त अफ्ताव आलम फरार अभियुक्त हो । यसविरुद्ध तपाईंहरूले कानुनी उपचार किन खोज्नुभएन त ? 
अफ्ताव आलम पूर्वमन्त्री मात्रै होइन, वहालवाला सांसद पनि हो । उहाँको सुरक्षाका लागि राज्यले सुरक्षाकर्मी खटाएको छ । चौबिसै घन्टा सुरक्षाकर्मीको साथ रहने मान्छे कसरी फरार हुन सक्छ ?

बम विस्फोटमा संलग्न भएको अरोप छ त ? 
यो गलत हो । 

त्यसो भए अफ्तावलाई प्रहरीले अहिले किन पक्राउ गरेको हो त ? 
मुलुकमा दुईतिहाइको सरकार छ । अफ्तावको लोकप्रियता सक्न योभन्दा उत्तम मौका उनीहरूले देखेनन् होला । त्यही भएर बम विस्फोटमा संलग्न भएको आरोप लगाए । पक्राउ परेको त्यही कारण हुन सक्छ ।

अरोप लाग्दैमा अपराध प्रमाणित हुने त होइन । अहिले अभियुक्त मात्रै हो । अनुसन्धानपछि सफाइ पनि पाउन सक्नुहुन्छ । तर, अहिले अनुसन्धानलाई सघाउन तयार हुनुहुन्छ त ? 
त्यही भएर हामी चुप लागेर बसेको हो । हामी पनि चाहन्छौँ अनुसन्धान होस् । त्यसपछि उहाँले सफाइ पाउनुहुन्छ । तर, अनुसन्धान निष्पक्ष हुनुपर्छ । षड्यन्त्र मिसियो भने हाम्रो विरोध रहन्छ । अनुसन्धानमा सघाउन हामी तयार छौँ । उहाँ पनि तयार हुनुहुन्छ ।